पूर्वराजा विरेन्द्रको शालिक नगरप्रमुखलाई हस्तान्तरण



नेपालगन्ज ।

नेपालगन्जको मुटु मानिने धम्बोझी चोक (तत्कालीन वीरेन्द्र चोक)मा स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापनाको माग गर्दै नेपालगन्ज उपमहानगरपालिकालाई शालिक हस्तान्तरण गरिएको छ । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शालिक स्थापना गरिनुपर्ने माग राख्दै आएका समूहहरूले शान्तिपूर्ण रूपमा शालिक पुनःस्थापनाको मागसहित नगरप्रमुख प्रशान्त विष्टलाई नवनिर्मित शालिक हस्तान्तरण गरेका हुन् ।

शालिक हस्तान्तरण गर्ने क्रममा पूर्वनगरप्रमुख तथा पूर्वप्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणा पनि सहभागी थिए । शालिक स्थापनका लागि पहल गरिरहेको समूहका अध्यक्ष भीमबहादुर शाहीले स्थानीयहरूको संयुक्त पहलमा शालिक निर्माण गरी उपमहानगरलाई बुझाइएको जानकारी दिए । यसअघि विसं २०७३ भदौ १६ गते र २०७९ जेठ १९ गते वीरेन्द्र चोकमा राजा वीरेन्द्रको शालिक स्थापना गर्ने प्रयास गरिए पनि विभिन्न कारणले ती प्रयास असफल भएका थिए ।

विवाद सिर्जना हुने अवस्था आएपछि प्रहरीले एकपटक राखिएको शालिक हटाइदिएको थियो । यसपटक शान्तिपूर्ण र सहमतिका आधारमा शालिक पुनःस्थापनाका लागि पहल गरिएको बताउँदै अध्यक्ष शाहीले निर्वाचनको आचारसंहिता लागू हुनुअघि फागुन ३ गतेभित्रै शालिक पुनःस्थापना गर्न माग गरे ।

जेनजी आन्दोलनका क्रममा नेपालगन्जका विभिन्न चोकमा राखिएका गणेशमान सिंह, वीपी कोइराला, पुष्पलाल, सेतु विक लगायतका व्यक्तित्वका शालिकहरूमा क्षति पुगेको स्मरण गराउँदै निर्वतमान संघीय सांसद धवल शम्शेर राणाले उपमहानगरपालिकाले ती शालिकहरूको पुनःस्थापनाका लागि पहल गरिरहेको दाबी गरे ।

उनले अरु शालिक पुनःस्थापनको काम गर्दा पूर्वराजा वीरेन्द्रको शालिक पुनःस्थापनाको माग पनि उचित भएको बताए । शालिक ग्रहण गर्दै नगरप्रमुख विष्टले यस विषयमा सर्वदलीय तथा सर्वपक्षीय छलफलमार्फत शालिक पुनःस्थापनाका लागि पहल गर्ने आश्वासन दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार