कानुनको शासन कि शासकको कानुन



पूँजीवादी संसदीय व्यवस्थामा कानुनको शासन भनेको जनताले कानुन मान्नुपर्छ । जनता कानुनको मातहत रहनुपर्छ भन्ने हो । यहाँ जनताको अधिकारलाई नियन्त्रण गर्न कानुन बनाइन्छ । ताकि जनता आफ्नो अधिकारको लागि संघर्षको मैदानमा न उत्रून् भन्ने हो । उनीहरूलाई सधैँभरि दबाएर राख्न सकियोस् भन्ने अभिप्राय रहेको देखिन्छ । यहाँ शासक वर्गले आफ्नो स्वार्थ अनुसारको कानुन बनाउने गर्दछ ।

चिन्तामणि घिमिरे

राज्यसत्ताको उत्पत्तिदेखि हालसम्म शासक वर्गले भट्याउँदै आएको कुरा के हो भने कानुनको शासन । कानुन सबैका लागि बराबरी हुन्छ । कानुनले कसैलाई पनि काखापाखा गर्दैन् । कानुनको दृष्टिमा सबै नागरिक बराबर हुन्छन् । राजादेखि रैतीसम्म, राष्ट्रपतिदेखि जनतासम्म सबै बराबर । सबैलाई एकै प्रकारको कानुन लागू हुन्छ । यो कुरा लेखाइ र बोलाइमा सहि हो तर व्यवहारमा होइन । जनतालाई लागू हुने कानुन शासक वर्गलाई लागू हुँदैन । कानुनको शासन भनेको शासक वर्गको मनपरितन्त्रको अन्त्य हो । उसको स्वेच्छाचारिताको अन्त्य हो ।शासकहरू कानुनअनुसार चल्नुपर्छ भनेको हो । उनीहरूले पनि कानुनको पालना गर्नुपर्छ भन्ने हो । कानुनको शासन भनेको असल शासन हो। नागरिकले डर, धाक र धम्कीबिना स्वतन्त्र ढंगले आफ्नो जीवनयापन गर्न पाउनु हो । आफ्नो नैसर्गिक अधिकारलाई स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउनु हो । राज्य नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नु हो । पूँजीवादी लोकतन्त्रमा यो कुरा केवल भन्नका लागि मात्र हो, गर्नका लागि होइन । पूँजीवादी संसदीय व्यवस्थामा कानुनको शासन भनेको जनताले कानुन मान्नुपर्छ । जनता कानुनको मातहत रहनुपर्छ भन्ने हो । यहाँ जनताको अधिकारलाई नियन्त्रण गर्न कानुन बनाइन्छ । ताकि जनता आफ्नो अधिकारको लागि संघर्षको मैदानमा न उत्रून् भन्ने हो ।उनीहरूलाई सधैँभरि दबाएर राख्न सकियोस् भन्ने अभिप्राय रहेको देखिन्छ । यहाँ शासक वर्गले आफ्नो स्वार्थ अनुसारको कानुन बनाउने गर्दछ ।

मानव समाजको इतिहासलाई अध्ययन गर्ने हो भने समाज जब वर्गीय रूपमा विभाजन भयो । समाजमा वर्गको शासन सुरु भयो । सुरुमा निजी सम्पत्तिको उदय भयो । त्यो निजी सम्पत्तिले वर्गको उदय गरायो । वर्गले सत्ता जन्मायो । सत्ताले सेना, पुलिस, कानुन, जेल, अदालत आदि राज्यसत्ताका अङ्गहरू जन्मायो । उसले ती अङ्गहरूमार्फत जनतामाथि दमन गर्न सुरु ग¥यो । जनताले बन्दुकको प्रतिरोध गर्न थालेपछि अब बन्दुकले मात्र काम चल्दो रहेनछ भनेर शासक वर्गले दमनको नयाँ हतियारको प्रतिपादन ग¥यो । त्यो नयाँ हतियार भनेको धर्म हो । धर्म बन्दुकभन्दा हजारौँ गुणा शक्तिशाली हुन्छ । त्यसले जनतालाई सजिलैसँग दास बनाउन सफल हुन्छ । अज्ञानता एउटा यस्तो खतरनाक चिज हो जसलाई समाजबारे कुनै ज्ञान हुँदैन् । शासक वर्गको विचार नै समाजको विचार बनेको हुन्छ र आम मानिसहरूले उक्त शासक वर्गीय विचारलाई नै आफ्नो दैनिक जीवनमा लागू गरेका हुन्छन् । शासक वर्गले आफ्नो विचारमार्फत जनतामा आफ्नो शासन लादेको हुन्छ । उसले जनतालाई सत्यतथ्य बुझ्नबाट वञ्चित गराएको हुन्छ । उसले समाजमा सचेत नागरिक होइन् बरु त्यसको सट्टा अन्धभक्तहरूको उत्पादन गरिरहेको हुन्छ । अन्धभक्त भनेका एक प्रकारले दास नै हुन् । उनीहरू शासक वर्गको चाकरी, प्रसंशा र स्तुतिगानमा मस्त रहन्छन् ।

उनीहरूको आफ्नो छुट्टै कुनै विचार हुँदैन् । शासक वर्गको विचार नै उनीहरूको आफ्नो विचार हुन्छ । संसारभरि जहाँ पनि शासक वर्गले आफ्नो सत्ताको बचाउको लागि यस्तो अन्धभक्तको समूहको पालनपोषण गरिरहेको हुन्छ ।सत्ताको वरिपरि बस्ने समूहले कानुनको पालना गर्नुपर्दैन् । कानुन उनीहरूको गोजीमा हुन्छ । उनीहरूलाई सबै गर्न छुट हुन्छ । कानुन जनतालाई पालना गर्न लगाइन्छ । पूँजीवादी संसदीय प्रजातन्त्रमा कागजमा धेरै स्वतन्त्रता र समानताका कुराहरू उल्लेख गरिएका हुन्छन् । जुन व्यवहारमा लागू गर्न आवश्यक ठानिँदैन् । त्यहाँ जनताले वास्तविक स्वतन्त्रताको उपभोग गर्न पाएका हुँदैनन् । त्यहाँ थुप्रै प्रकारका स्वतन्त्रताहरूको घोषणा गरिएको हुन्छ । तर ती स्वतन्त्रतालाई श्रमिक वर्गले उपभोग गर्न पाउँदैन् । समाजवादमा मात्र मानिसले पूर्ण स्वतन्त्रता प्राप्त गर्दछ । त्यहाँ मानवद्वारा मानवमाथि हुने सम्पूर्ण शोषणको अन्त्य हुन्छ । मानिसहरूबीच एकआपसमा भाइचारा सम्बन्ध कायम हुन्छ । मानिसले आफ्नो स्वतन्त्रतालाई सहि ढंगले उपयोग गर्न पाउँछ । मानिसले सम्मानपूर्वक आफ्नो जीवनयापन गर्न पाउँछ ।

अतः पूँजीवादी लोकतन्त्रभन्दा समाजवाद कैयौँ गुणा श्रेयस्कर हुन्छ । समाजवादी अवधारणा सहि हुँदाहुँदै पनि अहिले कमजोर अवस्थामा छ । नेपाल र विश्वभर नै संसदीय पूँजीवादी लोकतन्त्र हावी रहेको अवस्था छ । तर यो अस्थायी हो । विज्ञानको नियम के हुन्छ भने कुनै पनि वस्तुको जन्म, विकास र मृत्यु हुन्छ । पूँजीवादी लोकतन्त्रको पनि एकदिन मृत्यु भएरै छाड्छ । त्यसको ठाँउ समाजवादले लिएरै छाड्छ ।समाजवादभन्दा राम्रो अर्को व्यवस्था भएमा त्यसले समाजवादलाई विस्थापित गरिदिन्छ । तर समाजवादको ठाउँमा पूँजीवाद कुनै पनि प्रकारले सहि हुँदैन् । पूँजीवादमा भ्रष्टाचार मौलाइरहेको हुन्छ भने समाजवादमा भ्रष्टाचारको नामोनिसान रहँदैन् । अतः समाजवाद पूँजीवादको विकल्पमा खडा भएको व्यवस्था हो । समाजवादमा कानुन सबैका लागि मान्य हुन्छ । कसैले पनि कानुनको अवज्ञा गर्ने हिम्मत गर्न सक्दैन् । समाजवादमा शोषण नभएपछि सबै समान हुने कुरा हुन्छ । सबै प्रकारका विभेदहरूको अन्त्य गरिएको हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २४ गते मंगलबार