आर्थिक गणना सफल बनाउन आग्रह



जनकपुरधाम ।

जिल्ला आर्थिक गणना कार्यालयले आगामी वैशाख २ गतेदेखि हुने राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन जिल्लाका उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।

उक्त कार्यालयले बिहीबार यहाँ छलफल कार्यक्रम गरेर आर्थिक गणना प्रदेशको आर्थिक विकासका निम्ति राष्ट्रिय नीति तर्जुमा गर्न महत्वपूर्ण हुने भएकाले सही तथ्याङ्क उपलब्ध गराउन व्यवसायीलाई आग्रह गरेको हो ।

त्यस अवसरमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले देशको आर्थिक उन्नयनका निम्ति राज्यबाट गरिने हरेक क्रियाकलापमा निजी क्षेत्रको सहयोग अपरिहार्य भएकाले सबैलाई हालेमालो गरेर अघि बढ्न आह्वान गरे ।जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले तथ्यमा आधारित व्यावसायिक सूचना उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

औषधि व्यवसायी सङ्घका अध्यक्ष प्रमोद अग्रवालले उद्योग तथा व्यवसायका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए ।जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख शिवनारायण महतोका १८ क्षेत्रलाई समेटेर असार ७ गतेसम्म गणना गरिनेछ । अघिल्लो आर्थिक गणनामा मधेस प्रदेशमा एक लाख १७ हजार ६७० प्रतिष्ठान कायम थिए । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २० गते शुक्रबार