जुम्ला ।
जिल्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर महतसहित तीन जनाविरुद्ध छात्रवृत्ति रकम हिनामिना गरेको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार महतसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलप्रसाद भट्टराई र लेखा सहायकविरुद्ध आर्थिक वर्ष ०७९–८० मा विद्यालयलाई प्राप्त एक लाख ४५ हजार ३५० रूपैयाँ छात्रावृत्ति रकम हिनामिना गरेको आरोप लागेको छ ।
महतले मिति २०८० चैत २१ मा कक्षा १ देखि ५ सम्मका छात्राहरूलाई छात्रवृत्ति रकम एक हजार रूपैयाँको दरले ८३ जनालाई र कक्षा ६ देखि ८ सम्मका छात्राहरूलाई एक हजार ४८५ रूपैयाँ २३ पैसाका दरले ४४ जनालाई ६५ हजार ३५० रूपैयाँ गरी जम्मा एक लाख ४८ हजार ३५० रूपैयाँ वितरण गरेको भरपाइ तातोपानी गाउँपालिकालाई पठाएको देखिएको छ ।
विद्यालयलाई प्राप्त छात्रवृत्ति रकम सम्बन्धित छात्राहरूलाई वितरण गरेको नदेखिएको तथा प्रतिवादीहरूले एकआपसमा मिलेमतो गरी २०८० असोज २१ गते झुट्टा भरपाइ पुनः किर्ते गरी मिति २०८० चैत २१ मा छात्रवृत्ति वितरण गरेको अर्को झुट्टा भरपाइ तयार गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)को देहाय (ङ) बमोजिमको कसुरमा उनीहरूविरुद्ध एक लाख ४५ हजार ३५० रूपैयाँ बिगो रकम कायम गरी कैद र जरिवानाको सजाय हुन मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्