नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा बढ्दो बिरामीको सङ्ख्याले क्षयरोग निवारणमा चुनौती थपेको छ । जसकारण समग्र स्वास्थ्य प्रणाली नै चुनौतीका रूपमा देखिएको हो । प्रभावकारी स्वास्थ्य सेवा विस्तार, जनचेतना अभिवृद्धि र स्थानीयस्तरमा सरसफाइ सुधार नगरेसम्म समस्या समाधान हुन कठिन देखिएको छ । चालू आर्थिक वर्ष २०८२–०८३ को पछिल्लो आठ महिनामा कर्णाली प्रदेशका १० जिल्लामा मात्रै ८६१ जना नयाँ बिरामी थपिएका छन् ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार दुर्गम बस्ती, कमजोर स्वास्थ्य पहुँच र जनचेतनाको अभावका कारण बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको हो । विशेषगरी संक्रामक रोग, कुपोषणसँग सम्बन्धित समस्या र सरसफाइ अभावका कारण बिरामी बढेको निर्देशनालयले जनाएको छ । हिमाली र पहाडी भेगका बस्तीहरूमा स्वास्थ्य संस्था टाढा हुनु, समयमै उपचार नपाउनु र नियमित स्वास्थ्य जाँच नगर्ने प्रवृत्तिले समस्या झन् जटिल बन्दै गएको छ ।
विश्व क्षयरोग दिवसको अवसरमा सार्वजनिक तथ्यांकले कर्णाली प्रदेशमा क्षयरोग निवारणको पाटोमा चुनौती थपेको देखाउँछ । सङ्ख्यात्मक रूपमा बिरामीको कूल ग्राफ ओरालो लागे पनि नयाँ संक्रमण फैलने क्रम नरोकिनुले जनस्वास्थ्यमा गम्भीर प्रश्न खडा गरेको छ । निर्देशनालयका क्षयरोग÷कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार भौगोलिक र जनघनत्वका आधारमा बिरामीको सङ्ख्या फरक देखिएको छ । जसअनुसार सुर्खेतमा मात्रै २९६ जना क्षयरोगीहरू छन् । यो प्रदेशको सबैभन्दा बढी सङ्ख्या हो ।
त्यस्तै सल्यानमा १०४ र जाजरकोटमा १०१ जना क्षयरोगीहरू छन् । हिमाली जिल्लाहरूमा भने क्षयरोगीहरू तुलनात्मक रूपमा कम छन् । हुम्ला र मुगुमा १९÷१९ जना क्षयरोगीहरू छन् । जुन प्रदेशको सबैभन्दा कम क्षयरोगीहरूको सङ्ख्या हो । हुम्ला, डोल्पा र मुगु जस्ता जिल्लामा सङ्ख्या कम देखिनुको कारण परीक्षणको दायरा साँघुरो हुनु र भौगोलिक विकटताले बिरामी अस्पतालसम्म नपुग्नु रहेको निर्देशनालयको आकलन छ ।
कर्णालीमा क्षयरोगविरुद्धको लडाइँलाई तीव्र पार्न हाल विभिन्न उपचार केन्द्रहरू सक्रिय छन् । जसमा हेरचाह केन्द्र मात्रै ४१५ वटा, एमडीआर केन्द्र दुई वटा, जीन विशेषज्ञ केन्द्र १० वटा र माइक्रोस्कोपी ३३ वटा छन् । कर्णालीका नौ जिल्लामा एमडीआर केन्द्रको सुविधा पुगे पनि डोल्पा अझै यस प्रविधिबाट वञ्चित छ । कर्णालीमा गत आर्थिक वर्षको तुलनामा बिरामीको सङ्ख्या केही घटेको देखिएको छ । गत वर्ष प्रदेशभर कूल एक हजार ७१४ जना क्षयरोगीहरू थिए । नयाँ बिरामी पत्ता लाग्ने क्रमले समुदायमा संक्रमण अझै ‘लुप्त’ अवस्थामा रहेको संकेत गरेको छ ।
किन बढिरहेका छन् बिरामी ?
निर्देशनालयका निर्देशक डा. रविन खड्काले क्षयरोगलाई समाजबाट पूर्णतः निवारण गर्न नागरिकको सहभागिता अनिवार्य रहेको बताए । उनका अनुसार कर्णालीमा बिरामी बढ्नुका मुख्य कारणहरूमा धेरै गाउँमा सडक र यातायातको पहुँच अझै कमजोर हुनु र स्वास्थ्य सेवामा आवश्यक जनशक्ति र उपकरणको कमी रहनु रहेका छन् ।
‘सरसफाइ, पोषण र रोगबारे जानकारी नहुनु, सन्तुलित आहार नपाउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु र सुरक्षित खानेपानीको अभाव हुनु पनि समस्या हुन्,’ उनले भने, ‘बालबालिका, गर्भवती महिला र ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा रहेका छन् । विशेषगरी बालबालिकामा झाडापखाला, निमोनिया र कुपोषणका समस्या बढी देखिएका छन् ।’
समयमै उपचार र सचेतना बढाउन सके यस्ता रोगहरू धेरै हदसम्म नियन्त्रण गर्न सकिने उनको भनाइ छ । यसका लागि स्थानीय तह र स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनी बताउँछन् । स्वास्थ्य विज्ञहरूले रोगबाट जोगिनका लागि साबुनपानीले नियमित हात धुने बानी बसाल्ने, उमालेर वा शुद्धीकरण गरेर मात्रै पानी पिउने र सन्तुलित र पोषिलो खाना खान सुझाव दिएका छन् । यस्तै, खोप र नियमित स्वास्थ्य जाँच गराउने, खुला दिसामुक्त वातावरण कायम गर्ने र बिरामी भएमा तुरुन्त स्वास्थ्य संस्थामा जाने बानी बसाल्नुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्