बृहत् पाशुपतक्षेत्र पदयात्रा गरिने



काठमाडौँ ।

आराध्यदेव भगवान् श्रीपशुपतिनाथ र पाशुपत क्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता उगागर गर्ने उद्देश्यले ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा–२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) गरिने भएको छ । भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवं पवित्र वाग्मती नदीको विशिष्टता समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र वाग्मती नदी प्रदूषित भएकामा भगवान् पशुपतिनाथ एवं वाग्मतीप्रति क्षमायाचना तथा प्रायश्चित गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको हो ।

महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको सत्सङ्कल्पमा पदयात्रा गर्न लागिएको हो ।आगामी चैत १५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ हुने पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट हुने जानकारी गराइएको छ ।

कुशेश्वरबाट दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुर आदि क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरी गरिने भएको छ । कम्तीमा ३५–३६ दिनमा तीर्थयात्रा सम्पन्न हुने अनुमान गरिएको छ । ‘बृहत्–पाशुपत–परिक्रमा’ का सङ्कल्पकर्ता तथा परिकल्पनाकार स्वामी रमणानन्द गिरीले पशुपति तत्त्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघु–परिक्रमा, मध्यमपरिक्रमा र बृहत् परिक्रमाका बारेमा उल्लेख गरेका थिए ।

पशुपतिनाथ नेपालीसँग रिसाउनुभएको अनुभव गर्दै ज्ञात अज्ञात रूपमा गरेका सम्पूर्ण अपराधको क्षमापन गर्दै समाजमा आध्यात्मिक जागरण ल्याउने र तीर्थ महिमा उजागर गर्ने सङ्कल्पलाई सार्थक बनाउने जिम्मा समस्त सनातनी नेपालीमा सुम्पिएको उनले बताए । पदयात्रामा क्षमताअनुसार पूर्ण वा कुनै पायक पर्ने तीर्थस्थलमा सहभागी भई ज्योतिर्लिङ्ग दर्शन तथा पदयात्री साधु–महात्मा भक्तजनको स्वागत गर्न आयोजक समितिका सचिव श्यामकृष्ण सुवेदीले अनुरोध गरे ।

विश्वका हिन्दूमात्रका आराध्यदेव तथा नेपाल र नेपालीका राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ श्रीकेदारनाथको समेत शिरोभागका रूपमा प्रतिष्ठित रहेका छन् । भारतका चार धामको दर्शन/तीर्थयात्रापश्चात् श्रीपशुपतिनाथको दर्शन गरेपछि नै चारधामको तीर्थयात्रा प्रयोजनपूर्ण/सार्थक/फलीभूत हुने मान्यता रहेको छ ।

पदयात्रा घोषणाका लागि आयोजना गरिएको विद्वत्सङ्गोष्ठीमा शिक्षाविद् प्रा.विद्यानाथ कोइरालाले राष्ट्रदेव पशुपतिनाथबाट संरक्षित तथा पाशुपत सभ्यता विकसित क्षेत्र भएको बताए । पशुपतितत्व र पाशुपत क्षेत्रका सम्बन्धमा संस्कृतका विद्वान् पण्डितले अध्ययन, अनुसन्धानपूर्वक युवावर्ग तथा सामान्य जनमानसले बुझ्ने गरी प्रवचन, लेखन गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

मूल आयोजक समितिका संयोजक आचार्य कपिलदेव सुवेदीले हिमवत्खण्ड, मानसखण्ड आदि पुराण तथा वैदिक वाङ्मयमा वर्णन गरिएको बताए । पशुपतितत्वको महिमा प्रतिपादन गर्दै पाशुपत क्षेत्रमा विद्यमान आदिलिङ्ग कुशेश्वरदेखि चतुषष्ठी सिद्धलिङ्ग रहेको स्थानको महत्व र परिचयसहित नेपाल राष्ट्रलाई भगवान् पशुपतिनाथको देश भनिनुको औचित्य पुष्टि गर्न पदयात्रा सफल हुनेमा उनले जोड दिएका थिए ।

दर्शनशास्त्रका उपप्राध्यापक डा.रामप्रसाद पौडेलले तीर्थयात्रा परिभ्रमणको हिन्दूमा भन्दा जैन धर्मावलम्बीमा विशेष महत्त्व रहेको, जैन धर्र्मावलम्बीले झैँ पदयात्राका क्रममा यम, नियम आदि व्रत गर्न सक्नुपर्ने, आचार र विचारपक्ष शुद्ध रहनुपर्ने, पाशुपत पदयात्रा र सिद्धलिङ्ग दर्शनमा मात्र सीमित नभई एक ठोस उपलब्धिमूलक बनाउन अनुसन्धान गर्नुपर्ने, त्यसका लागि विश्वविद्यालय तथा नेपाल सरकारले समेत सहजीकरण एवं सहयोग पुर्याउनुपर्ने विचार राखे ।

उनीहरूले भगवान् श्रीपशुपतिनाथ विश्वका धार्मिक क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर वाग्मती तटमा विराजमान हुनुभएकाले यसको महत्व उजागर गर्नुपर्नेमा जोड दिएका थिए । ‘बृहत् पाशुपत पदयात्रा’लाई भव्यताका साथ सम्पन्न गर्न मूल आयोजक समिति र विभिन्न उपसमितिको समेत गठन गरिएको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार