युवा बाहुल्य संसद्मा देखिनेछन् ६० कटेका दश सांसद



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

फागुन २१ गते भएको प्रतिनिभिसभा निर्वाचनमा जेनजी, युवा र ज्येष्ठ जनप्रतिनिधिहरुको मिश्रित सहभागिता हुने भएको छ । आठजना जेनजी उमेर समूहका सांसद निर्वाचित हुँदा युवाहरुको बाहुल्य छ । सो संसद्मा ६० वर्षदेखि ७१ वर्ष उमेर समूहका दशजना सांसदले प्रतिनिधित्व गर्नेछन् । सबैभन्दा धेरै ७१ वर्षका दुईजना सांसद निर्वाचित भएका छन् ।

यस्तै दुईजना ७० वर्षका सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । यसैगरी ६८ र ६५ वर्षका एक÷एक जना, ६३ वर्षका दुईजना निर्वाचित हुँदा ६२ र ६० वर्षका एकजना निर्वाचित भएका छन् । आगामी संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका साथै एकजना स्वतन्त्र सांसद निर्वाचित भएका हुन् ।

तीमध्ये सबैभन्दा धेरै नेपाली काँग्रेसबाट पाँचजना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुईजना, नेकपा एमाले, नेकपा र स्वतन्त्रबाट एक÷एक निर्वाचित भएका छन् । नेपाली काँग्रेसबाट निर्वाचित हुनेमा बाजुराबाट जनकराज गिरी, सोलुखुम्बुबाट प्रकाशसिंह कार्की, डोटीबाट भरतबहादुर खड्का, अछाम १ बाट भरतकुमार स्वार र मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनेमा सप्तरी ४ बाट सिताराम साह र कपिलवस्तु २ बाट विक्रम थापा रहेका छन् । नेकपा एमालेबाट दैलेख २ बाट लक्ष्मीप्रसाद पोखरेल विजयी भए । नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट विजयी हुन पुगे । म्याग्दीबाट स्वतन्त्र निर्वाचित भएका छन् महावीर पुन ।

स्वतन्त्र उम्मेदवार बनेर जितेका पुन र मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ आगामी संसद्मा सबैभन्दा ज्येष्ठ सदस्यका रुपमा रहनेछन् । पुन र गुरुङ समान ७१ वर्षका छन् । वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी र राजनीतिज्ञसमेत रहेका पुन १६५ सिटमध्ये प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुने एकमात्र सांसद हुन् । उनी यसअघि अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए ।

मनोनयन दर्ताका दिन पदबाट राजीनामा दिएर स्वतन्त्र सांसदका रुपमा उम्मेदवारी दिएका थिए । पुन २२ हजार ८५० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे । मनाङबाट भने नेपाली काँग्रेसका गुरुङ दोस्रोपटक निर्वाचित भए । गुरुङले २,४१५ मत ल्याए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ र नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् । गुरुङ २०७९ मा पनि यहीबाट निर्वाचित भएका थिए । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पूर्वबाट १०,२४० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड सबैभन्दा प्रभावशालाी र हेभिवेट ज्येष्ठ सदस्यका रुपमा पाँचौँपल्ट संसद् छिर्दैछन् । तीनपटक प्रधानमन्त्री भइसकेका उनी २०६४ देखि लगातार संसदीय निर्वाचत जित्दै आएका छन् । यस्तै अछाम १ बाट नेपाली काँग्रेसका भरतकुमार स्वार १० हजार ७५१ मतसहित विजयी भए । स्वार र प्रचण्ड समान ७० वर्षका भए ।

नेपाली काँग्रेसबाट ६८ वर्षीय भरतबहादुर खड्का डोटीबाट १४ हजार ८९७ मतसहित विजयी भएका हुन् । सप्तरी –४ बाट साह ३६ हजार ४१२ मत प्राप्त गर्दै सिताराम साह निर्वाचित भएका छन् । ६५ वर्षीय साहले निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार तथा पूर्वयुवा तथा खेलकुद विकासमन्त्री तेजुलाल चौधरीलाई २३ हजार ३ सय ९ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् ।

काँग्रेस उम्मेदवार चौधरीले १३ हजार १ सय ३ मत प्राप्त गरेका छन् । कपिलवस्तु–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ६३ वर्षीय विक्रम थापा विजयी भएका छन् । थापाले २७ हजार ६३५ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका छन् । रास्वपाका थापाले ६ हजार १०८ मतान्तरले जितेका हुन् ।

दैलेख क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका तर्फबाट विजयी भएका लक्ष्मीप्रसाद पोखरेलपनि ६३ वर्षका भए । पोखरेलले १३ हजार ८८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत पाए । सोलुखुम्बुबाट नेपाली काँग्रेसका ६२ प्रकाश सिंह कार्की विजयी भएका छन् । कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् ।

बाजुरामा नेपाली काँग्रेसका तर्फबाट विजयी भएका जनकराज गिरी ६० वर्षका हुन् । गिरीले १७ हजार १७३ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाएका छन् । गिरीले थापालाई ५४० मतले पराजित गर्दै सांसद बन्ने अवसर पाएका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३० गते शनिबार