कोहलपुर ।
आजदेखि क्याम्पा कोहलपुर प्राइड लिग राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (मैदान)मा सञ्चालन हुने भएको हो । आजदेखि सञ्चालन हुने कोहलपुर प्राइड लिगको सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका संयोजक विनायक गिरीले जानकारी दिए ।
उनले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताउँदै कार्यक्रमको उद्घाटन नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले गर्ने बताए ।
आजदेखि सञ्चालन हुने प्रतियोगितामा ६ वटा टिमहरुको सहभागिता रहने भएका छन् । उनका अनुसार प्रतियोगितामा ब्राइटलेड स्कुल, युनाइटेड भिजन क्रिकेट क्लब, एसपीए कलेज, कोहलपुर स्पोट्र्स एकेडेमी, न्यू होराइजन स्पोट्र्स क्लब र हिमालयन क्रिकेट एकेडेमी सहभागी रहेका छन् ।
प्रतियोगितामा सहभागी हुने टिमहरुमा नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरुको सहभागिता रहने उनले बताए । प्रतियोगितामा राष्ट्रिय खेलाडी कुशल मल्ल, भिम सार्की, विनोद भण्डारी लगायतका राष्ट्रिय खेलाडीहरु सहभागी रहने जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले ४ लाख र द्वितीय हुने टिमले २ लाख रुपैयाँ नगद पुरस्कार रहेको बताए ।
उनले सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई नगद १०÷१० हजार पुरस्कार प्रदान गरिने बताए । ‘क्याम्पा’ कोहलपुर प्राइड लिगले कोहलपुरको क्रिकेटलाई थप उचाइमा पु¥याउने पूर्वकप्तान एलबी क्षेत्रीले बताए । कोहलपुर प्राइड लिगले खेल क्षेत्रको विकाससँगै कोहलपुर चिनाउन मद्दत पुग्ने उनको विश्वास छ ।
प्रतियोगिताको उद्घाटन खेलमा भने चर्चित गायक टंक तिमिल्सिनाको प्रस्तुती रहने भएको छ । कोहलपुर स्पोर्टस् एकेडेमीको आयोजना, कोहलपुर नगरपालिका संरक्षकत्व र बाँके जिल्ला क्रिकेट संघको समन्वयमा चैत २ गतेसम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।









प्रतिक्रिया दिनुहोस्