रास्वपाको लहरले संकटमा पुराना दल र तिनका नेता



नेपालगन्ज ।

प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ मा भएको निर्वाचनमा २०७९ को संसदीय निर्वाचनअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व छलाङ मारेको छ । उसले प्रत्यक्षतर्फको प्रारम्भिक मतगणनादेखि नै लगातार अग्रता हासिल गरेकोमा प्रत्यक्षतर्फ मात्रै एक सय २० सिट आसपास नतिजा ल्याउनसक्ने अवस्था देखिएको छ । समानुपातिकतर्फको मतगणनाको प्रारम्भिक नतिजामा पनि रास्वपाकै अग्रता देखिएको छ । जसले यसपटक रास्वपालाई बहुमत सहजै प्राप्त हुने स्पष्ट देखिएको छ ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ सिट जित्नुपर्ने हुन्छ भने दुईतिहाइका लागि कम्तीमा एक सय ८४ मत प्राप्त गर्नुपर्ने हुन्छ । यदि रास्वपालाई दुईतिहाइ बहुमत प्राप्त भएमा त्यो नेपालको चुनावी इतिहासमा एकै दलले दुईतिहाइ मत पाएको दोस्रो निर्वाचन हुनेछ । नेपालमा भएको पहिलो निर्वाचन २०१५ मा नेपाली काँग्रेसले दुईतिहाइ सिट जितेको थियो ।

रास्वपाले छलाङ मारिरहँदा अघिल्लोपटक संसद्मा रहेका अरु ६ वटा दलहरुलाई भने नागरिकले विश्वास नगरेको प्रारम्भिक मत परिणामले देखाएको छ । ती दलका अध्यक्ष र सभापतिहरु नै मत परिणामको रुझानमा अरु उम्मेदवारसँग पराजित हुने स्थिति देखिएको छ । विशेषगरी उनीहरुलाई रास्वपाकै उम्मेदवारहरुले पछाडि पारिरहेका छन् ।

विघटित संसद्मा सबैभन्दा ठूलो दल रहेको नेपाली काँग्रेसका सभापति गगन थापालाई सर्लाही ४ को प्रारम्भिक मत परिणाममा रास्वपाका अमरेशकुमार सिंहले अग्रता दिइरहेका छन् । निर्वाचनअघिका मत सर्वेक्षणहरुले पनि थापालाई सिंहले कडा चुनौती दिने देखाएका थिए । यसअघि काठमाडौँ ४ बाट निर्वाचन जित्दै आएका थापाले यसपटक मधेशमा काँग्रेसको मताधार फर्काउने रणनीतिसहित सर्लाही गएकोमा उनलाई जित निकाल्न कठिन हुने देखिएको छ ।

थापा मात्रै होइन उनको दल काँग्रेस पनि प्रत्यक्षतर्फ करिब १० देखि २० सिट आसपासका लागि संघर्ष गरिरहेको देखिन्छ । समानुपातिकतर्फ पनि काँग्रेसले रास्वपाका तुलनामा निकै कम मत पाउने प्रारम्भिक मत परिणामले देखाएको छ । यसैगरी विघटिन संसदको दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापा ५ मा रास्वपाका बालेन्द्र शाहले निकै फराकिलो अन्तर पछाडि पारेका छन् ।

बालेनले ओलीलाई पराजित गर्ने लगभग निश्चितजस्तै छ । उनलाई पराजित गर्ने रास्वपाका नेता बालेन्द्र शाह प्रधानमन्त्रीका घोषित उम्मेदवार पनि हुन् । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीले त्यस आन्दोलनमा भएका क्षतिमा आफ्नो जिम्मेवारी बोध गर्नुको साटो घमण्डको प्रदर्शन गरेपछि उनी नागरिकबीच तीव्र आलोचनाको सिकार भइरहेका थिए ।

ओलीलाई रोक्नकै लागि बालेनले मेयर जितेको काठमाडौँ छोडेर झापा गएका थिए । यस पराजयसँगै ओलीको राजनीतिक उत्तरार्ध कठिन हुने विश्लेषण भइरहेको छ । विघटित संसद्मा तेस्रो दल रहेको नेकपा माओवादी केन्द्र हाल विभिन्न दलहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा रुपान्तरित छ । त्यसका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने रुकुम पूर्वबाट जित हासिल गरेका छन् ।

यस निर्वाचनमा विजयी घोषित भएका पहिलो पार्टी प्रमुखसमेत बनेका छन् । उनले १० हजार दुई सय ४० मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी एमालेका लिलामणि गौतमले तीन हजार चार सय ६२ मात्रै मत पाए । हरेक निर्वाचनमा आफ्नो सहज जित हुने चुनाव क्षेत्र परिवर्तन गर्दै आएका प्रचण्डले यसपटक पनि अघिल्लोपटकको भन्दा फरक चुनाव क्षेत्रमा उम्मेदवारी दिएर जित निकालेका छन् ।

तर, उनले डेढ दर्जनबढी पार्टी तथा समूह मिलाएर बनाएको नेकपाको मताधार भने फर्काउन सकेनन् । प्रारम्भिक मत परिणामअनुसार नेकपा पनि प्रत्यक्षतर्फ १० देखि १५ सिटको संघर्षमा देखिन्छ । विघटित संसद्को चौथो ठूलो दल रास्वपाले देशभरी सिर्जना गरेको लहरसँगै यसका सभापति रवि लामिछाने पनि चितवन २ बाट फराकिलो मतान्तरसहित अग्रस्थानमै छन् । उनले पनि जित निकाल्ने लगभग निश्चितजस्तै छ ।

तर, अघिल्लो संसदमा १४ सिटसहित पाँचौँ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षतर्फ निकै कमजोर मत पाएको छ । यो समाचार तयार पार्दासम्म राप्रपाले जुम्लामा मात्रै अग्रता लिइरहेको छ । त्यहाँ निवर्तमान प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाही पुनः निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि यसपटक हारको सामना गर्नुपर्ने स्थितिमा देखिएका छन् । उनी रास्वपाका प्रकाश पाठकसँग फराकिलो मतान्तरले पछि छन् ।

विघटित संसद्मा १२ सिटसहित छैटौँ दलको रुपमा प्रतिनिधित्व रहेको जनता समाजवादी पार्टी नेपाल भने यसपटक आफ्नो अस्तित्वकै संकटमा पुगेको छ । उक्त दलबाट प्रत्यक्ष्यतर्फ कसैको पनि अग्रता छैन । स्वयं पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि रास्वपाका अमरकान्त चौधरीलाई पछ्याइरहेका छन् । यसैगरी मधेशमै आधारित र विघटित संसद्मा ६ सिटसहित राष्ट्रिय दलको रुपमा रहेको जनमत पार्टीले पनि यो समाचार तयार पार्दासम्म कुनै पनि सिटमा अग्रता लिएको छैन । पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) पनि रास्वपाकै उम्मेदवार रामजी यादवलाई फराकिलो मतान्तर पछ्याइरहेका छन् ।

यसरी अघिल्लो संसद्मा प्रतिनिधित्व रहेका प्रमुख दल तथा तिनका नेतृत्वसमेत पराजित हुने गरी रास्वपाको लहर देखिएको निर्वाचनको अन्तिम मत परिणामले अहिलेको निर्वाचन प्रणालीमा विरलै देखिने एकल बहुमतको संसद हुने देखिएको छ । पुराना दलहरुले जनताको अपेक्षालाई नजरअन्दाज गर्दा र जेनजी आन्दोलनपछि उद्धेलित जनभावनालाई रास्वपाले मतमा बदल्न सक्दा यस्तो परिणाम आएको देखिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार