मतदानका दिन के गर्न हुन्छ, के गर्न हुँदैन ?



काठमाडौँ।

बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागू गरिएको मौन अवधिमा कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न वा भोट माग्न पाइँदैन । निर्वाचन आयोगका अनुसार सोमबार मध्यराति १२ बजेदेखि सुरु भएको मौन अवधि मतदान सम्पन्न नभएसम्म लागू हुन्छ ।

आयोगले मौन अवधिको अनुमगन निर्वाचन आचारसंहिताअनुसार गरिरहेको छ । मतदानको समयमा प्रतिस्पर्धीहरूबीच विवाद वा झडप नहोस् र कुनै अप्रिय घटनाले मतदाता आतंकित नहोउन् भनेर अघिल्लो ४८ घण्टा मौन अवधि सुरु गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ ।

आयोगले मतदानको दिन पालना गर्नुपर्ने आचरण परिपालनाको सम्बन्धमा पनि अनुगमन गरी उक्त व्यवस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन सूक्ष्म अनुगमन गर्न निर्देश दिएकाे छ ।

आयोगका अनुसार मतदानको दिन पालना गर्नुपर्ने आचरणः

मतदानको दिन राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालन गर्नु पर्नेछ

(क) मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा व्याज लगाउन नहुने ।

(ख) मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको सांकेतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने ।

(ग) कुनै किसिमको सवारी साधन प्रयोग गरी आवत जावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने । तर हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपले अशक्त वा अपांगता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने जेष्ठ नागरिक जस्ता मतदाताको लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा पर्ने छैन ।

(घ) मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार