पर्वत ।
उज्यालो नेपाल पार्टीबाट पर्वत निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार यमबहादुर चोचाङ्गी पुनले आफ्नो भिजन, मिसन र प्रतिबद्धता सार्वजनिक गरेका छन् । प्रतिबद्धतापत्रमार्फत उनले देशलाई उज्यालो भविष्यतर्फ लैजान नवीन प्रविधि, सुशासन, रोजगारी, कृषि, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठोस कार्यक्रम अघि सारेका छन् ।
पुनले पानी, हावा र वैकल्पिक ऊर्जाको पुनः प्रयोग गरी विद्युत् उत्पादन गर्ने आधुनिक प्रविधि विकास, विद्युतीय सवारीसाधनको प्रवद्र्धन, वर्षा गराउने तथा पानी संरक्षण गर्ने प्रविधिजस्ता नवप्रवर्तनात्मक योजनाहरू प्रस्तुत गरेका छन् । सुशासनतर्फ उनले भ्रष्टाचार नियन्त्रण, राजनीतिक र प्रशासनिक निकायमा नागरिक निगरानी समूह गठन, निर्वाचन खर्च राज्यले व्यहोर्ने व्यवस्था र बजेट खर्चमा पूर्ण पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसबाट निर्वाचन खर्च ९० प्रतिशतसम्म घट्ने र राजनीतिक विकृति अन्त्य हुने उनको दाबी छ । रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राख्दै उनले आफ्ना प्रविधि लागू गर्दा वार्षिक तीन लाखभन्दा बढी रोजगारी सिर्जना हुने र दश वर्षभित्र बेरोजगारी अन्त्य गर्ने लक्ष्य लिएका छन् । कृषि क्षेत्रमा आधुनिक खेती प्रणाली लागू गरी नेपाललाई आत्मनिर्भर बनाउने, कृषि उत्पादन निर्यात गर्ने र देशभर कृषि तथा पूर्वाधार विकास केन्द्र स्थापना गर्ने योजना अघि सारेका छन् ।
स्वास्थ्य क्षेत्रमा सबै नागरिकलाई निःशुल्क उपचारको पहुँच, प्रत्येक वडामा स्वास्थ्य केन्द्र, मेडिकल ड्रोनमार्फत औषधि आपूर्ति र घरदैलो चिकित्सक सेवा सञ्चालन गर्ने योजना समेटिएको छ । शिक्षामा व्यवहारिक, वैज्ञानिक र समावेशी प्रणाली लागू गर्दै सीपमूलक शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
समावेशी प्रतिनिधित्व, महिला सहभागिता ५० प्रतिशत सुनिश्चित गर्ने, दलित, महिला र अल्पसंख्यकमाथि हुने भेदभाव र हिंसाविरुद्ध कडा कानुनी व्यवस्था गर्ने तथा धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने विषय पनि उनका प्रमुख एजेन्डामा छन् । उम्मेदवार पुनले आफ्नो घोषणापत्र व्यवहारमा उतारेर समृद्ध, आत्मनिर्भर र न्यायपूर्ण नेपाल निर्माण गर्ने लक्ष्यका साथ निर्वाचन मैदानमा उत्रिएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्