आचारसंहिताको पूर्ण परिपालना भएन : मानवअधिकार आयोग



मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना नभएको बताएको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै निर्वाचनपूर्वको अनुगमनको क्रममा उम्मेदवारहरुबाट निर्वाचन आचारसंहिताको पूर्ण परिपालना हुन नसकेको पाइएको जनाएको हो ।

आयोगले र्‍याली तथा सभाहरुमा बालबालिका सहभागी गराउने, पत्रकारहरुमाथि धम्की तथा कुटपिट गर्ने, भौतिक रुपमा चुनाव चिन्हको प्रयोग गर्ने, बिना अनुमति व्यक्तिका घरहरुमा प्रचार सामग्री र झण्डा टाँग्ने, स्थानीय निकाय तथा प्रदेश सरकारका पदाधिकारीहरु निर्वाचनको प्रचारप्रसारमा सहभागी हुनेजस्ता आचारसंहिता विपरितका क्रियाकलाप भएका बताएको छ ।

यसैगरी अनुमतिबिना बढी सवारीसाधन प्रयोग गर्ने, मतदाताहरुलाई अनुचित प्रभाव पार्ने प्रयास गर्ने, दलका कार्यकर्ता र समर्थकहरुले सामाजिक सञ्जालमा एक आपसमा गालीगलौज गर्ने जस्ता अवस्थाहरु रहेको पनि जनाएको छ ।

४२ जिल्लाहरुमा अनुगमन टोलीहरु बनाई निर्वाचनपूर्वको अनुगमन गरेको आयोगले निर्वाचन अधिकृतको कार्यालयबाट भएको निर्वाचन तयारी, आचारसंहिताको पालनाको स्थिति, शान्तिसुरक्षाको अवस्था लगायतका विषयमा प्रमुख निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायसँग छलफल समेत गरेको जानकारी दिएको छ ।

यद्धपि दलका नेता र उम्मेदवारहरु बिचको आपसी सौहार्दता, सुरक्षा निकायको सुरक्षा सतर्कता तथा निर्वाचन अधिकारी र स्थानीय प्रशासनबाट भएको निर्वाचनको तयारी जस्ता विषयलाई आयोगले सकारात्मक रुपमा लिएको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानव अधिकारमैत्री रुपमा सम्पन्न गर्न सबैको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै आयोगले सबै पक्षहरुले धैर्यता र संयमता अपनाउन आवश्यक रहेको जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार