मतदाता शिक्षा कार्यक्रम तीव्रः घरदैलोमै पुगे स्वयंसेवक



नन्दराम जैशी । सुर्खेत ।

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशभर मतदाता शिक्षा कार्यक्रम तीव्र रूपमा सञ्चालन भइरहेको छ । मतदातालाई मतदान प्रक्रिया, मतपत्र प्रयोग गर्ने तरिका तथा बदर मत कम गर्ने विषयमा जानकारी दिन स्वयंसेवकहरू घरदैलोमै परिचालन गरिएको हो ।

प्रदेशका सबै जिल्लामा स्वयंसेवकहरूले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गरी मतदान गर्ने तरिका, मत गोप्य राख्ने विधि, मतपत्रमा सही छाप लगाउने तरिका तथा मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी दिइरहेका छन् । विशेषगरी दुर्गम बस्ती, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा पहिलो पटक मतदान गर्ने युवा मतदातालाई लक्षित गरी सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचनसम्बन्धी भ्रम र अफवाहलाई चिर्न, बदर मत घटाउन तथा स्वतन्त्र र निष्पक्ष मतदान सुनिश्चित गर्न मतदाता शिक्षा प्रभावकारी हुने अपेक्षा गरिएको छ । यसका लागि नमूना मतपत्र प्रयोग गरी अभ्यास गराउने, पम्प्लेट वितरण गर्ने तथा समूहगत छलफल सञ्चालन गर्ने कामसमेत स्वयंसेवकहरूले गरिरहेको कार्यालय प्रमुख लालबहादुर गुरुङले बताए ।

उनका अनुसार सुर्खेतसहित कर्णालीका हिमाली तथा दुर्गम जिल्लामा पहुँचको समस्या रहे पनि स्थानीय तह, नागरिक समाज र विभिन्न संघ–संस्थाको सहकार्यमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रयास भइरहेको छ । विशेष गरी कर्णालीका ७९ पालिकाका सबै वडामा एक एक जना स्वयंसेवक परिचालन गरिएको जिल्लास्थित निर्वाचन कार्यालयले जनाएका छन् ।

मतदाता शिक्षा कार्यक्रम फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । जिल्लास्थित निर्वाचन कार्यालय र सुरक्षा निकायले मतदातालाई निर्धक्क र सचेत रूपमा मतदानमा सहभागी हुन आग्रह गरिरहेका छन् । कर्णालीमा ९४१ मतदानस्थल र एक हजार ४३७ मतदान केन्द्र रहेका छन् भने प्रदेशभर कूल मतदाता १० लाख ३७ हजार २५० जना छन् ।

प्रहरीले प्रदेशका १० जिल्लामा ३५१ मतदानस्थलका ४४१ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले जोखिम मूल्यांकन गरेपछि ती मतदान केन्द्रलाई अतिसंवेदनशील घोषणा गरिएको हो । कर्णालीकीका १२ निर्वाचन क्षेत्रबाट हाल १३२ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन् ।

बदर मत घट्ने अपेक्षा

कर्णालीमा मतदाता शिक्षा कार्यक्रमको प्रभावका कारण यस पटक बदर मत घट्ने अपेक्षा गरिएको छ । पछिल्लो समय यो कार्यक्रम प्रभावकारी बन्दै गएकाले कर्णालीका १० वटै जिल्लामा बदर मत सङ्ख्या घट्ने अनुमान गरिएको हो । रूकुम पश्चिमको जिल्ला निर्वाचन कार्यालयले स्वयंसेवकमार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी बनेको जनाएको छ ।

कार्यालयका प्रमुख मोहनलाल केसीले जिल्लाका गाउँ–गाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्दै जिल्लाका ७३ वटै वडामा एक–एक जनाको दरले स्वय्मसेवक परिचालन गरिएको जानकारी दिए । ‘निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गरिएको हो । फागुन ३ गतेबाट सञ्चालन भएको यो कार्यक्रम १७ गतेसम्म सञ्चालन हुनेछ,’ उनले भने, ‘यो कार्यक्रमअन्तर्गत तालिमप्राप्त स्वयंसेवकहरूले मतदानको महत्वबारे टोलटोलमा पुगेर सचेतना फैलाइरहेका छन् ।’

उनका अनुसार मतदाता शिक्षाका लागि छुट्टै नमुना मतपत्र रहेको छ । हरेक स्थानीय तहमा एक जना कर्मचारीलाई अनुगमनकर्ता तोकिएको छ। जिल्ला निर्वाचन कार्यालयले अनुगमनकर्तालाई तालिम प्रदान गरेको थियो । स्थानीय पालिकामार्फत मतदाता स्वयंसेवकको माग गरिएको थियो । तालिमप्राप्त अनुगमनकर्ताले स्वयंसेवकलाई मतदाता शिक्षासम्बन्धी तालिम सञ्चालन गरेर गाउँमा पठाइएको हो ।

जिल्लाका ६ स्थानीय तहमा कूल एक लाख ६ हजार ६६० मतदाता रहेका छन् । तीमध्ये ५२ हजार ३९६ महिला, ५४ हजार २६३ पुरुष र एकजना अन्य मतदाता रहेका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रूकुम पश्चिममा कूल ७६ मतदानस्थल र १४० मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये २१ वटा मतदानस्थल अतिसंवेदनशील सूचिमा छन् । त्यसैगरी ४३ वटा मतदानस्थल संवेदनशील र १२ वटा मतदानस्थल सामान्य सूचिमा रहेका छन्।

स्वयंसेवकलाई सहयोग गर्दै मतदाता

हुम्लामा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत घरदैलोमा आएका स्वयंसेवकलाई मतदाताहरूले समय दिएर सहयोग गरिरहेका छन् । मतदाता शिक्षाबारे जान्न उत्साहित मतदाता आफ्नो अमूल्य समय निकालेर भए पनि स्वयंसेवकबाट जानकारी लिइरहेका छन् । यसले गर्दा बदर हुनसक्ने मत कम गर्न खटिएका स्वयंसेवकहरूलाई पनि काम गर्न सहज भएको छ ।

अदानचुली गाउँपालिका–२ की मतदाता बेला विकले समयमै स्वयंसेवक आएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दा सहज भएको बताइन् । मतदान गर्दा मत कसरी बदर हुन सक्छ, आफ्नो मत आफैँ कसरी खसाल्ने लगायतका विषयमा स्वयंसेवकहरूबाट ज्ञान लिएको उनको भनाइ छ ।

चंखेली गाउँपालिका–१ की स्वयंसेविका ज्ञानु थापाले गाउँबस्तीमा उपलब्ध मतदाताले समय दिएर सहयोग गरेकोमा आफू सन्तुष्ट रहेको बताइन्। सुरुमा बस्ती–बस्तीमा पुगेर शिक्षा प्रदान गरिएको र शुक्रबारदेखि घर–घरमै पुगेर मतदाता शिक्षा दिइरहेको उनले जानकारी दिइन् ।
‘मतदाता शिक्षाका लागि तयार पारिएका पाठ्य सामग्रीबारे जानकारी गराउने र मत बदर हुन नदिने उपाय सिकाउने कार्य भइरहेको छ,’ उनले भनिन्, ‘मतदाताले विषयवस्तु राम्रोसँग बुझेको देखिएकाले यस कार्यक्रमले बदर मत घटाउन सहयोग पुग्ने विश्वास छ ।’

हुम्लाका जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाले जिल्लाका ४१ वटा वडाका बस्तीमा मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताए । हुम्लाका सातवटा गाउँपालिकामा ४४ वटा वडा छन् । तर लिमी प्रवेश गर्ने दुईवटा नाका बन्द रहेकाले त्यहाँका स्वयंसेवक कार्यालयमा आउन नसक्ने अवस्था भएपछि वैकल्पिक उपाय अपनाइएको उनको भनाइ छ ।

‘हाल नाम्खा गाउँपालिका–४ चाला गाउँस्थित हिमालय प्रावि मतदान केन्द्रमा मात्र कार्यक्रम सञ्चालन हुन बाँकी छ । यसका लागि गाउँपालिकासँग समन्वय भइरहेको छ,’ उनले भने, ‘हिमपात र भौगोलिक विकटताका कारण तीनवटा वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा ढिलाइ भएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार