वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको राप्ती सोनारी गाउँपालिकामा राप्ती नदी किनारमा सुनको अन्वेषण गरिँदै गरेको विषयमा विवाद उत्पन्न भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा पर्ने राप्ती नदी किनारमा प्लान्ट नै राखेर सुन भए नभएको अन्वेषण भइरहेको भए पनि आफूहरूलाई कुनै जानकारी नभएको उक्त वडाका वडाध्यक्ष लवराज खरेल बताउँछन् ।
उक्त विषयमा स्थानीय तहमा कुनै पनि जानकारी नभएकोले आवश्यक कागजपत्रसहित स्थानीय तहलाई जानकारी दिएपछि मात्रै उत्खनन गर्न पाइने भन्दै उनले काम रोक्न लगाइएको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि उक्त स्थानमा विदेशीहरू आएर सुन उत्खनन गरिरहेको भन्ने सुनेपछि प्रहरीमार्फत बुझ्न लगाएको र त्यसक्रममा त्यहाँ खटिएका व्यक्तिहरूले खानी तथा भूगर्भ विभागको पत्र देखाएको बताए ।
यद्यपि उक्त पत्रको आधिकारिकता र विदेशी नागरिक उत्खननमा संलग्न हुन पाउने नपाउने भन्ने विषयमा विभागसँग जानकारी मागिएको तामाङको भनाइ छ । उक्त विषयमा विभागबाट जानकारी आउन बाँकी रहेको उनले बताए ।
राप्ती र कर्णाली नदीको पाँच स्थानमा भइरहेको छ सुनको अन्वेषण
खानी तथा भूगर्भ विभागका अनुसार हाल राप्ती नदी र कर्णाली नदीको पाँच स्थानमा सुन भए नभएको अन्वेषण भइरहेको छ । विभागको जिआइएस पोर्टलमा उल्लेख भएअनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकामा पर्ने राप्ती नदीमा ग्रेस नात माइनिङ कम्पनीले अन्वेषणको अनुमति लिएको छ । २०८२ साल पुस २९ गते अनुमतिपत्र पाएको उक्त कम्पनीले चार वर्षसम्मका लागि उक्त अनुमति पाएको छ ।
यसैगरी, कर्णाली नदीको कैलाली तर्फको किनाराको पाँच स्थानमा सुनको अन्वेषणका लागि तीनवटा कम्पनीले अनुमति लिएका छन् ।कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा पर्ने चार स्थानमध्ये दुई स्थानमा ग्लोहब प्रालिले अनुमति लिएको छ भने एक–एक स्थानमा भोल्टोरो मिनरल प्रालि र रिवायर नेपाल प्रालिले अन्वेषण अनुमतिपत्र पाएका छन् ।
ग्लोहब र रिवायरले २०८१ देखि २०८५ सम्मको अनुमति पाएका छन् भने भोल्टोरोले २०८२ पुसदेखि २०८६ सम्मको अनुमति पाएको छ । विभागका प्रवक्ता धर्मराज खड्काले जिआइएस अन्वेषण अनुमतिको विवरण जिआइएस पोर्टलमा रहने र अन्यथा भई केही विवाद भएमा विभागले छानबिन गर्ने बताए । उनले आधिकारिक रूपमा आफूले कुनै विवादको जानकारी नपाएको बताए ।
अन्वेषणको अनुमति पाएको कम्पनीले खनिजको उपलब्धता भए नभएको अध्ययन गर्ने बाहेक खनिज उत्खनन गरेर बिक्री वितरण गर्न नपाउने कानुनी व्यवस्था छ । राप्ती र कर्णाली नदीमा अन्वेषण अनुमति दिइएको क्षेत्रमा परम्परागत रूपमा सुन चालेर गुजारा गर्ने समुदायको बसोबास रहँदै आएको छ ।








प्रतिक्रिया दिनुहोस्