सेनाले लियो कर्णालीका विमानस्थल र कारागारको सुरक्षा जिम्मा



सुर्खेत ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी कर्णालीका विमानस्थल र कारागारहरूको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ । यी क्षेत्रलाई संवेदनशील रूपमा हेरिएकाले सेनाले सुरक्षा जिम्मा लिएको हो । कर्णालीमा रहेका सुर्खेत, रूकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र नौ वटा कारागारको सुरक्षामा सेना खटिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहका अनुसार जहाँ सेनाले ड्युटी गर्न सुरु गरिसकेको छ ।कर्णालीका हिमाली जिल्लामा निर्वाचन सामग्रीदेखि मतदानमा समस्या हुनसक्ने चिन्ता छ । शाहका अनुसार अहिलेसम्म हिमाली जिल्लाका दुर्गम भेगमा रहेका मतदानस्थलहरूमा निर्वाचन सामग्रीदेखि मतदानपश्चात् मतपत्र संकलनको काममा हेलिकप्टर परिचालन गर्ने तयारी छ ।

अहिलेसम्म ‘हेलि ड्रप’ गर्ने र निर्वाचनपश्चात् हेलिबाटै मतपेटिका ल्याउने तयारी भएको हो । सोहीअनुसार योजना बनाएर जिल्लाहरूमा पठाइसकेको शाहले बताए । ‘हिमाली जिल्लाको सुरक्षा निकायहरूले थप केन्द्रमा राखेर ध्यान दिएको अवस्था छ । विशेषगरि हिउँले गर्दा हिमाली जिल्लामा समस्या भइरहेको छ,’ उनले भने, ‘त्यहाँ सेनाले नियमित गस्ती गर्ने काम गरिरहेको छ, भौगोलिक रूपमा विकट स्थानमा रहेका र सडक सञ्जाल नपुगेका ठाउँमा घोडाको सहारा लिएर पनि गस्ती गरिरहेको छ ।’

यस्तै निर्वाचनको सम्पूर्ण तयारी अन्तिम अवस्थामा छ । निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा सम्बन्धित क्षेत्रहरूमा सुरक्षा परिचालनलाई कडाइ गर्नुका साथै निर्वाचन सम्बन्धित सामग्रीहरू ढुवानीका काम भइरहेका हुन् । कर्णाली प्रदेश प्रहरी प्रवक्ता शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको बताए ।

‘अब जिल्लाहरूबाट सम्बन्धित मतदानस्थलहरूसम्म पु¥याउने काम भइरहेको छ । एक दुई दिनमा सबै जिल्लाहरूमा जानुपर्ने थप जनशक्तिहरू र सामानहरू पुगिसक्छ,’ उनले थपे, ‘कर्णालीमा १५ हजार बढी प्रहरी र निर्वाचन प्रहरीहरू निर्वाचनको सुरक्षामा खटिएका छन् । जसमा पाँच हजार ५८० नेपाल प्रहरी र नौ हजार ७४२ निर्वाचन प्रहरीहरू रहेका छन् ।’

कर्णाली प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्लामा खटिन लागेका प्रहरीहरूलाई विशेष निर्देशन दिइसकेका छन् । कर्णालीमा मतदानका लागि १० लाख ३७ हजार २५० जना कूल मतदाता सङ्ख्या रहेको छ । तर त्यसको ६०–७० प्रतिशत मात्रै मत खस्ने सरोकारवालाले आकलन गरेका छन् । कर्णालीमा ९४१ मतदानस्थल र १४ सय ३७ मतदान केन्द्रहरू रहेका छन् । यी सबै मतदानस्थलको अनुगमन पनि सम्पन्न भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १३ गते बुधबार