कथाः जात



पुष्पमणि प्रधान

कोठा नजिकै टकटक आवाज आइरहेथ्यो । जुनूले सोची पक्कै आमा नै हुनपर्छ । उसले आफूलाई सम्हाल्दै किताब पढे जस्तै गरी । टकटक पदचापको आवाज उतिर नै आइरहेथ्यो । ‘जुनू’ भन्दै उसकी आमा ढोका जोडले धकेल्दै कोठामा आइपुगिन् । राताराता आँखा पार्दै रिसको झोकमा जुनूलाई हेर्दै भन्न थालिन्, ‘तँ यत्रो बेरसम्म कहाँ गएकी थिइस् ?’ आमाको त्यो रुप देखेर डरले काम्दै मौन रही । चुपचाप शिर झुकारएर बसिरही । “ए, भन् तँ कहाँ गएकी थिइस् ? कसलाई भेट्न गएकी थिइस् ?” ऊ झन्झन् डरले चुपचाप रही, केही नबोली बसीरही । “त्यै मसानेलाई भेट्न मरेकी थिइस् होइन ?” रिसले आगो हुँदै आमाले उसको लामो कपाल लुछ्न थालिन् । “थुक्क मर्न नसकेकी, यस्ती अल्छिनी त गर्भमै तुहेको भए राम्रो” भन्दै दुईचार थप्पड हान्न थालिन् । “अबदेखि त्यो कामी केटोसँग भेट गर्छेस् कि गर्दिनस् ? भन तँलाई आज म नमारी छाड्दिन । तँलाई यत्रो दुखकष्ट गरेर पढाएको त यसै गर्नका निम्ति हो । आज त्यो कामी केटोसँग प्रेम गरेर मेरो समाजमा बेइज्जत गर्न चाहन्छेस्। मेरो गाउँघरमा बद्नाम गर्न चाहन्छेस्” भन्दै तिनचार थप्पड, हान्दै भुइँमा पछारी दिई र मूल ढोका थुनेर पल्लो कोठातिर लागी । केही समयअघि एक हुल केटाहरु लिएर शर्माकी बुहारीले भक्तेको घरमा गएर भन्नसम्म भनी, कर्णेलाई मार्ने धम्की दिई । भक्तेलाई कामी सिनो खाने मसाने डुम भन्दै सत्तो सराप गरी । कर्णेलाई आफ्नो गाउँबाट चाँडै बाहिर नपठाए अपहरण गर्ने धम्की दिँदै शर्माकी बुहारी आफ्नो घरतिर लागी।

भक्तेको मनमा अनेक कुरा खेल्न थाल्यो, एउटा चुरोट सल्काएर मनमा कल्पना गर्न थाल्यो ‘आज के यो मेरो कानले सुन्नु परिरहेछ ? शर्माकी बुहारीले किन धम्की दिइरहेकी छ ? के कर्णेले शर्माको नातिनीतिर आँखा गाड्यो कि ? ठुलो जातको घरमा पो हात हाल्यो कि ? उसको मन अमिलो भएर आयो उसले सिग्रेटको धुवाँ सर्रर आकाशतिर छोड्दै एकछिन सोच्यो । भक्तेले आफ्नो मन थाम्न सकेन, कर्णे सुतेको कोठातिर हेर्न गयो । कर्णे कोठामा चुपचाप बसिरहेको रहेछ । भक्तेले आफ्नो छोरालाई बोलाएर दुईचार थप्पड चट्काई हाल्यो । “तँलाई हामीले यतिको लागि दुःख गरेर पढाएको ? आजसम्म कामीको छोरो भए पनि कसैको लात खाएको छैन् । आफ्नो इमान धर्म बेचेको छैन, कसैको धम्की सुन्न परेको छैन् । आफ्नो रगत पसिना बगाएर यै फलाम खेलाएर सबैलाई खुसी बनाएर राखेको थिए तर आज तैले गर्दा शर्माकी बुहारीले धम्की दिएर गई । सत्तो सराप गरेर गई, हाम्रो घरमा आगो लगाइदिने रे, तँलाई मारेर फाल्ने रे । हाम्रो घर उठीबास लगाउने रे ।मैले कतिकति सपनाहरु सजाएको थिएँ तँलाई धेरै पढाएर ठुलो मान्छे बनाउँला भनेर । अरु बाहुन नेवारका छोराहरु झैँ मेरो छोरा पनि सरकारी नोकरी खाएर हाकिम भएको हेर्न चाहन्थेँ तर तँ कलेज गएर त्यै ब्राह्मणकी नातिनीसँग पो सल्किछेस्, प्रेम गर्न लागिछेस् ।” फेरि अर्काे सिगरेट सल्काउँदै उसले भन्न थाल्यो– “कर्णे, अब तेरो गाउँघरमा हल्ला भइसक्यो, बदनाम भइसक्यो । तेरो हिम्मत छ भने र पाल्न सक्छेस् भने बुहारी भगाएर लिएर आइज, हेरौँ दुःख गरेर भए पनि पाल्न त सक्छस् होला नि । भक्तेले छोरालाई आँट र हिम्मत दियो ।

घरको आँगन वरिपरि छरछिमेकहरु भिडभाड थिए । गाउँघरका लोग्ने मान्छे आइमाईहरु भक्तेको कुरा सुनिरहेथे । भक्तेले फेरि आफ्नो अनुहार दुई हातले मुसार्दै भन्न थाल्यो– “हामी कामी कै छोरा भए पनि ब्राह्मण, नेवारका सन्तान भन्दा कमी छैनौँ । मेहनत परिश्रम गरेर जहान बालबच्चा पालेकै छौँ । यही फलाम, पित्तल खेलाएर सबैको सेवा गरेकै छौँ । मैले कसैको चित्त दुखाएको छैन् । हाम्रो पनि समाजमा इज्जत छ । कामीकै छोरा भएपनि मन हाम्रो सफा छ । सबैलाई मायाप्रेम गरेको छु तर हामीलाई डुम, चमार मसाने, अछुत भनेर हेलाँ गर्ने ? सानो जातको पानी नचल्ने जाति भनेर घृणा गर्ने, हेप्ने ? यो कस्तो नियम हो ? कोही ठुलोसानो जात हुन्छ, यो कस्तो भेदभाव ? सबैको जात एउटै हो नेपाली । सबैको रगत रातो हुन्छ, कसको निधारमा तँ ठुलो जात, तँ सानो जात भनेर लेखेको हुन्छ ? तँ बाहुन, नेवार, कामी दमाई भनेर लेखेको हुन्छ ? उसले जुनीजुनीको रिसको आगो एकैपल्टमा भनेर सिध्यायो । कर्णेलाई आफ्नो बाउको कुरा सुनेर हिम्मत आयो । उसका शरीरका अङ्ग अङ्गमा रगतका नसाहरु जोडजोडले चल्न थाले । उसका मनमा अनेक तरङ्ग चल्न थाल्यो । चाँडोचाँडो गरेर रक्सीले मातेको मान्छे झैँ गरी मूल सडकको पेटीमा दोडँदै दौडँदै गएर घर छेउमा जुनूको नम्बरमा फोन लगायो– “हेलो जुनू, म कर्ण बोलेको तिमी चाँडो बरपिपल चौतारीमा आऊ है म तिमीलाई लिन आएको, चाँडो आऊ है ।” हुन्छ भन्दै जुनूले फोन राखी ।

जुनू आफ्नो एकसरो घरमै बस्ने लुगा लगाएर विस्तारै घरबाट निस्की । ऊ चाँडोचाँडो पाइला चाल्दै वरपिपल चौतारीमा आइपुगी । कर्णेले जुनूलाई मायाले च्याप्प समातेर मूल सडकको किनारै किनार हिँडाउँदै दौडाउँदै मध्य रात घरमा ल्यायो । घरमा चारैतिर बिजुली बत्ती झलमल्ल बलिरहेको थियो । घरका ठुला साना सबैजना खुसीहर्षाेल्लासको मुहार लिएर नवदुलहीको स्वागतमा बसिरहेका थिए । कर्णे र जुनू घरको मूल ढोकामा उभिरहे । भक्ते र सुन्तलीमा पनि खुसीको लहर छायो । आमाले तामाको थालमा रातो अक्षता, हरियो दुबो लिएर आइन् । आफ्ना छोरा बुहारीलाई मूल ढोकाबाट प्रवेश गराउँदै भक्तेले रातोटीका लगाउँदै आशीर्वाद दियो– “तिमीहरु सुख, शान्तिले बाँच्नु, समाजको सामुन्ने आफूलाई कहिले कमजोर नठान्नु । आजदेखि तिमीहरु पतिपत्नी भयौ ।” आमाले पनि रातो टीका र हरियो दुबो दिँदै बुहारीलाई मायालु नजरले हेरी । केहीछिनमै चारैतिर हल्ला फैलियो शर्माको नातिनी जुनू भक्तेको छोरो कर्णेसँग पोइल भागी । भक्तेले निधारको पसिना पुछ्दै सिग्रेटको धुवाँ छोड्दै घरको बरन्डाबाट भिडहरुमा हेर्दै भन्यो – “हेरुँ त आज मेरो घरमा कोको आउँदा रहेछन् ? मेरा छोरा बुहारी खोस्न ।”

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार