वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ पूर्व बाडीमा करिब एक सय घरपरिवारको बसोबास छ । उक्त बस्तीमा केवट समुदायको बाहुल्यता रहेको छ । डुडुवा खोलाको किनारमा डुडुवा खोलामाथि बनेको पुलको निकै तल देखिने उक्त बस्तीमा हरेक वर्ष बाढी आउँछ । प्रायः फुसका घर रहेको उक्त बस्ती २०७२ को संविधान जारी हुनुअघि जस्तो थियो त्यसमा खासै केही परिवर्तन आएको छैन ।
बरु यसबीचमा स्थानीयहरूले खेतीपाती गर्दै आएको ऐलानी जमिन उनीहरूबाट खोसेर गाउँपालिकाले उनीहरूको हातमुख जोर्ने बाटो बन्द गरिदिएको छ । ‘डुडुवा नालाको पारिपट्टि भएको खेत जोतेर खान्थ्यौँ । करिब एक वर्षअघि उक्त खेत गाउँपालिकाले घेरा हालेर जोत्न दिएन । हाम्रो पेटमा लात हानेजस्तै भएको छ,’ स्थानीय भवरिया केवटले भनिन् ।
स्थानीयहरूले गाउँको अर्काे ठूलो समस्या बाढी हुने गरेको बताए । उनीहरूका अनुसार डुडुवा खोला उर्लिएर आउँदा गाउँभित्र पस्छ । छेउको सडकबाट तलको उचाइमा रहेको बस्तीमा पानी पसेपछि गाउँभरीका बासिन्दाहरू बेहसरा हुन्छन् । यो समस्या उनीहरूले पुस्तौँदेखि भोग्दै आएका छन् । तर समाधानको कुनै प्रयास कतैबाट नभएको बताउँछन् ।
स्थानीयहरूले भने, ‘बाढी आएको बेला बालबच्चा र गाईवस्तु जोगाउनै समस्या हुन्छ । घुँडासम्म पुग्नेगरी पानी भरिन्छ । न कहीँ जान सकिन्छ, न बसिराख्न ।’ स्थानीय जोखन केवटका अनुसार उक्त गाउँको समस्या समाधानका लागि बस्ती अग्लो स्थानमा सार्ने भनेर नेताहरूले आश्वासन दिन थालेको धेरै वर्ष भइसकेको छ । तर कसैले पहल गरेका छैनन् । उनीहरूलाई अब पनि आफ्नो गाउँको समस्या समाधान हुन्छ भन्ने लागेको छैन ।
‘यहाँका मानिसहरूसँग भएको जमिन झन् खाल्डो जमिनमा छ । त्यहाँ कसरी घर बनाउने । बस्ती अग्लो ठाउँमा सार्ने भनिएको पनि धेरै वर्ष भइसकेको छ । यसवर्ष पनि आउनेहरूले तपाईँहरूको समस्या समाधान गर्छु भनेका छन् । त कहाँ सार्ने, कसरी समाधान गर्ने केही भनेका छैनन्,’ जोखनले भने । बाँकेमा डुबान र कटानको मुद्दा नयाँ मुद्दा होइन ।
तर, राजनीतिक नीति निर्माताहरूसँग उक्त समस्या समाधानको स्पष्ट खाका र त्यसलाई समाधान गर्ने कुनै योजना नहुँदा जनताहरू अहिले पनि जीवन जोखिममा राखेर बसिरहेका छन् । अझै पनि आफ्नो समस्या समाधान हुने कुनै आशा जनतामा छैन । डुडुवाको टेपरी कृषि चौफेरीमा स्थानीयका घर नदी वारी छन् भने खेत नदीपारी । खेतसम्म पुग्न पुल छैन । वर्षामा भेल उर्र्लिएका बेला डुंगा पनि चल्दैनन् ।
ज्यान जोखिममा राखेरै भए पनि स्थानीयहरू नदी वारपार गर्न बाध्य छन् । स्थानीय किसान इब्राहिम खाँ भन्छन्, ‘एउटा नेताले पुलको योजना ल्याउने र अर्काे नेताले हटाउने काम भयो । आफ्नो पालामा पुल बनेको जस लिनका लागि जनताको सुविधाको लागि चाहिने काम पनि अड्काइदिएका छन् ।
स्थानीय कृषक गीता चाईंलाई खेती लगाउँदा मल नपाइने र भारतबाट ल्याउँदा पनि पुलिसको दुव्र्यवहार भोग्नुपर्ने समस्याको समधान चाहिएको छ । उनी भन्छिन्, ‘न यहाँ मल पाइन्छ । न पारीबाट (भारतबाट) ल्याउँदा सजिलै ल्याउन दिन्छन् । बोरा खोस्छन् । पिट्छन् ।’ अघिल्लो स्थानीय निर्वाचनमा पनि मलको विषय बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरूको प्राथमिकतामै थियो । सांसद निर्वाचित डा. धवलशमशेर राणाले त मल उद्योग खोल्नका लागि पहल गर्ने घोषणापत्रमै लेखेका थिए ।
उक्त महत्वाकांक्षी योजना सफल बनाउने न उनीसँग कुनै कार्ययोजना थियो न उनले कहिल्यै त्यसबारेमा चुनाव जितेपछि पहल गरेको मतदाताले थाहा पाए । अहिले मतदाताहरू राणालाई आफ्नो वाचा पूरा नगरेको भन्दै असन्तुष्ट छन् । त्यसअघिका निर्वाचितहरूप्रति पनि मतदाताहरूको नकारात्मक धारणा छ । यद्यपि सडक निर्माणमा भएका केही कामहरू, पुल निर्माणमा भएका केही कामहरू सकारात्मक रहेका मतदाताहरू बताउँछन् ।
ती योजना पनि वाचा गरिएको तुलनामा निकै कम रहेको उनीहरू बताउँछन् । यसपटक फेरि उनीहरूका अघि तोकिएको भन्दा दुई वर्षअघि नै सांसद चुन्ने निर्वाचनको मुखमा आइपुगेका छन् । अधिकांश मतदाताहरू चुनावका बेला अनेक वाचाहरू गर्ने तर जितिसकेपछि जनताका पीडामा फर्केर नआउने प्रवृत्तिदेखि आजित छन् । स्थानीय रमेश मौर्यले युवाहरू बेरोजगारीको समस्यादेखि हैरान रहेको बताए ।
आफैँ मलेसिया गएर फर्किएका उनी भन्छन्, ‘यहाँ गरिबका लागि कुनै ठाउँ छैन । जहाँ पनि हुनेखानेले काम पाएका छन् । गरिबलाई कसैले काम दिँदैनन् । युवाहरूलाई गाउँमै रोजगारी हुनुप¥यो । हामी किन ज्यान जोखिममा राखेर विदेश जाने ?’ बाँके क्षेत्र नम्बर २ मै पर्ने नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने भए पनि ग्रामीण बस्ती रहेको नेपालगन्ज २२ किंगरियनपुरका समस्या पनि वर्षाैँदेखि उस्तै छन् ।
नयाँ संविधान आएको एक दशमा उक्त गाउँमा बनेको एउटा सडकमात्रै हो । उक्त करिब दुई सय मिटरको बस्तीभित्रको सडक पनि पटकपटकको योजनापछि अहिले आएर बनेको छ । तर, करिब एक हजार बढी मतदाता रहेको उक्त बस्तीका अधिकांश घरहरू अहिले पनि शौचालयविहीन छन् । अव्यवस्थित बस्ती रहेको उक्त गाउँमा शौचालय बनाउने पर्याप्त जमिन पनि नभएको बताउने स्थानीयहरूले सार्वजनिक शौचालयको माग गर्दै आएका छन् ।
स्थानीय सरकारले चलाएको खुला दिशामुक्त अभियानले पनि शौचालयको व्यवस्था गर्न नसकेको उक्त बस्ती अझै खुला क्षेत्रमा दिशापिसाब गर्छ । स्थानीय असरार किंगरिया गाउँमा सडक र नालाको दुर्दशा देख्दा भोट हाल्नै मन नलाग्ने गरेको बताउँछन् । ‘चुनावका बेला नेताहरू आउँछन्, यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भन्छन् । तर यहाँका सडक उहिलेदेखि यस्तै छन् । स्कुलमा राम्रो पढाइ हुँदैन । गाउँमा शौचालय नहुँदा मानिसहरू सडक र खेतमै दिशापिसाब गर्छन् । अब त काम गर्ने कागज नगरेसम्म मैले त भोट दिन्नँ,’ असरारले भने ।
स्थानीय विकास किंगरियाका अनुसार गाउँमा लागूऔषध दुव्र्यसनीको समस्या पनि उस्तै छ । केही समय पहिले विकराल रहेको उक्त समस्या अहिले स्थानीय केही सचेत युवाको पहल र प्रहरीको सक्रियतापछि केही कम भएको उनले बताए । तर अझै लामो योजना बनाएर लागूऔषधमा युवाहरू फस्नै नदिने व्यवस्था गर्नुपर्ने उनले बताए । ‘युवाहरू लागूऔषधमा फसेर घरमात्रै होइन पूरै बस्ती नै बर्बाद भएका छन् ।
साना साना बालबालिकालाई पनि राम्रो शिक्षा छैन । उनीहरू पनि भविष्यमा गएर लागूऔषधमै फस्दैनन् भन्ने के ग्यारेन्टी छ ? त्यसकारण यसका लागि सांसदहरूले स्पष्ट योजना बनाएर लाग्ने ग्यारेन्टी गर्नुपर्छ,’ विकासले भने । बाँके क्षेत्र नम्बर २ मा डुडुवा र नेपालगन्ज उपमहानगरपालिकाका पर्छन् ।
यो निर्वाचन क्षेत्रमा पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगन्ज सहरदेखि बर्सेनि बाढीको चपेटामा पर्ने ग्रामीण र सीमान्तकृत वस्तीहरूसमेत पर्छन् । पूर्वप्रधानमन्त्री सुशील कोइरालादेखि अहिले उम्मेदवार रहेका उनका भतिजा सुधांशु कोइरालासम्म आइपुग्दा पनि यहाँका ग्रामीण क्षेत्रका मतदाताका अपेक्षामा खास कुनै परिवर्तन देखिएको छैन । उनीहरू अहिले पनि चाहन्छन्, बाढी र डुबानबाट मुक्ति, राम्रो सडक, चाहिएको बेला मल, युवाहरूलाई रोजगारी र अवसर ।








प्रतिक्रिया दिनुहोस्