21 June 2021  |   सोमवार, असार ७, २०७८

संक्रमण घटिरहेको भारतमा दैनिक संक्रमितको मृत्युमा कसरी तोडियो रेकर्ड?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८  

एजेन्सी । 

पछिल्लो समय दैनिक कोरोना संक्रमित घटिरहेको भारतमा बिहीबार बिहान बुधबार एकैदिनमा ६ हजार बढी मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भयो।

सन् २०१९ को अन्तिमदेखि फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म कुनै पनि देशमा एकैदिन यति धेरै मानिसको मृत्यु भएको छैन।

कोरोनाको दोस्रो लहरबाट तंग्रिन थालेको भारतमा एकैदिन सबै रेकर्ड तोड्ने गरी मृत्युदर यति धेरै कसरी भयो भन्ने धेरैको प्रश्न छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय राज्य बिहारका अधिकारीहरूले कोराना संक्रमणबाट मृत्यु हुनेको आँकडा सच्याउँदा बुधबार एकैदिन धेरै मानिसको मृत्यु भएको देखिएको हो।

बुधबार सुरूमा बिहारमा २० जनाको मात्र मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको थियो तर पछि पहिला मृत्यु भएकाहरूको गणना नभएको भन्दै ३ हजार ९ सय ५१ संक्रमितको मृत्यु भएको आँकडा जोडियो।

बिहारका अधिकारीहरूले झन्डै चार हजार मृतकको संख्या थपेपछि केही दिनदेखि २ हजार आसपासमा रहेको भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार बढी पुगेको हो।

भारतमा अहिलेसम्म २ करोड ९१ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने ३ लाख ५९ हजारको मृत्यु भएको छ। अहिले भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख छ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     1:45:53 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *