नेपालगन्ज ।
बाँके क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राईले महत्वाकांक्षी योजनासहितको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । राईको प्रतिबद्धतापत्रमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नेदेखि नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि कुटनीतिक पहल गर्नेसम्मका योजना समेटिएका छन् ।
यसैगरी नेपालगन्ज चक्रपथको योजना, डुडुवामा बाढी र डुवान रोक्न तटबन्ध, नेपालगन्जमा आकाशे पुल निर्माण गर्ने योजना पनि राईको प्रतिबद्धतापत्रमा समेटिएका छन् । राईले पूर्वाधार तथा सहरी विकास, ओैद्योगिक, व्यापारिक र रोजगारी विकास, शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकास, कृषि तथा अनुसन्धान, सामाजिक सुरक्षा, धर्म–संस्कृति संरक्षण, पर्यटन विकास, सुशासन र प्रविधि विकासलाई प्राथमिकतामा राखेका छन् ।
यसैगरी सामाजिक न्याय र समावेशी विकास, व्यवस्थित बसोबास, गरिबी न्यूनीकरण र मानव विकास, शिक्षा र सामाजिक जागरण, धार्मिक सद्भाव र सामाजिक एकता, पर्यटन, सहरी व्यवस्थापन र आर्थिक अवसर र लागूओैषध नियन्त्रणको विषय पनि उनको प्रतिबद्धतापत्रमा समेएिको छ ।
राईले नेपालगन्ज आइसीपीलाई सुख्खा बन्दरगाहका रूपमा विकास गर्ने, नौबस्ता ओैद्योगिक क्षेत्रलाई पाँच वर्षभित्र निर्माण पूरा गर्ने, विदेशबाट फर्किएकालाई उनीहरूको सीपअनुसार रोजगारी उपलब्ध गराउने दाबी गरेका छन् । नेपालगन्ज र डुडुवामा सरकारी विद्यालयमा सुविधासम्पन्न भवन र डिजिटल शिक्षण प्रणाली लागू गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयको रूपमा विकास गर्ने पनि उल्लेख गरेका छन् ।
भेरी अस्पतालमा चिकित्सक र अन्य प्राविधिक जनशक्तिको दरबन्दी थप गर्ने, स्पेशियालिटी सेवा विस्तार गर्ने, स्वास्थ्य चौकीलाई आधुनिक सुविधायुक्त बनाउने पनि उनको दाबी छ । कृषकका लागि मलखाद, बीउ र सिँचाइसहित आधुनिक कृषि ओैजार तथा प्रविधिको पर्याप्त व्यवस्था सुनिश्चित गर्ने, धार्मिक पर्यटन तथा सद्भाव प्रवद्र्धन गर्ने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै हुम्लाको हिल्सासम्म पर्यटन प्रवद्र्धन हेतु सडकमार्ग विस्तार पहल गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
यसैगरी भ्रष्टाचारमुक्त सरकारी सेवा, राष्ट्रिय निकुञ्जसँग जोडिएका गाउँबस्तीका जनताको सुरक्षार्थ नीतिगत सुधार, अन्तरधार्मिक संवाद र सीमावर्ती पर्यटन प्रवद्र्धनका लागि विशेष नीति बनाउने पनि उनले उल्लेख गरेका छन् । लागूओैषध दुरुपयोग नियन्त्रणका लागि कानुन कार्यान्वयन र सीमा निगरानी सुदृढीकरण गर्ने उनको बाचा छ ।








प्रतिक्रिया दिनुहोस्