
काठमाडौं ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन धनभन्दा नीति प्रधान हुनुपर्ने बताएका छन् । निर्वाचन आयोगद्वारा आयोजित ‘निर्वाचन प्रचारप्रसार खर्च व्यवस्थापन र निर्वाचनमा महिलाका लागि सुरक्षित वातावरण प्रवर्धन’सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले नीतिलाई प्रधानता दिएर दल र उम्मेदवार परिचालित हुनुपर्नेमा जोड दिए ।
२०४३ मा रुपचन्द्र विष्टले आफ्ना नीति, कार्यक्रमसहित जनतासँगै पैसा मागेर चुनाव जितेको उनले स्मरण गरे । ‘निर्वाचन खर्चको हद पार गरे उम्मेदवारी खारेज गरिनेसम्मको कारबाही हुन्छ, आइतबारमात्र आयोगले निर्वाचनको प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने विषयमा ६३ बुँदामा गर्न हुने र नहुने विषयमा जानकारी गराएको छ । देशलाई सुशासनमा लैजान मितव्ययी निर्वाचन आवश्यक छ, राजनीतिलाई व्यापारीकरण गरिनुहुन्न’, उनले भने ।
पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा त्यसअघिका कानुनभन्दा नयाँ कानुन तर्जुमा गरेर चुनाव गराइएको स्मरण गरे । चुनावमा गरिने खर्च नै देशमा भ्रष्टाचार बढाउने माध्यम बनेकाले यसमा सुधारका लागि आयोगको पहल सकारात्मक रहेको उनको भनाइ थियो ।
आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन लोकतन्त्रको आधारभूत मान्यता भएको उल्लेख गर्दै निर्वाचनमा सहभागी हुने दल र उम्मेदवारले खर्च पारदर्शी बनाउनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्