मतदाता शिक्षामा डिजिटल सामग्रीको उपयोग



सल्यान ।

जिल्लामा मतदाता शिक्षा कार्यक्रमलाई डिजिटल प्रविधिसँग जोडेर सञ्चालन गरिएको छ । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्न यस्तो उपाय अवलम्बन गरिएको हो । यस विषयमा जिल्ला निर्वाचन कार्यालयले जिल्लाका १० वटै स्थानीय तहअन्तर्गत ८३ वटै वडामा खटिने मतदाता शिक्षा स्वयंसेवकलाई अभिमुखीकरण प्रदान गरेको छ ।

आइतबारदेखि वडास्तरमा परिचालित स्वयंसेवकहरूमार्फत डिजिटल सामग्रीको उपयोग गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो । नमुना मतपत्रबाहेक अन्य शैक्षिक सामग्री डिजिटल माध्यमबाट प्रयोग गरिने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी धिरेन्द्र भण्डारीले यस पटक मतदाता शिक्षामा डिजिटल प्रविधिको उपयोगलाई विशेष प्राथमिकता दिइएको बताए ।

उनका अनुसार वडामा खटिएका स्वयंसेवकले मोबाइल तथा सामाजिक सञ्जालमार्फत मतदान गर्ने सही तरिका, मतपत्रको प्रयोग तथा निर्वाचनसम्बन्धी आधारभूत जानकारी प्रदान गर्नेछन् । मतदातालाई समयमै सही सूचना नपुग्दा बदर मत बढ्ने, भ्रम सिर्जना हुने तथा सहभागिता घट्ने सम्भावना रहेको उनले बताए । त्यसैले बदर मतको घटाउने र सबै मतदातासम्म सही सूचना पु¥याउने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

मुख्य निर्वाचन कार्यालयमा मुख्य निर्वाचन अधिकारी प्रल्हादकुमार गिरीले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको स्वच्छता र विश्वसनीयता कायम राख्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले बदर मत न्यूनीकरणमा विशेष ध्यान दिन आग्रह गर्दै मतदाता सचेत, सूचित र जिम्मेवार भए मात्र लोकतन्त्र सुदृढ हुने बताए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तेजेन्द्रकुमार चन्दले डिजिटल सामग्री प्रयोग गरेर मतदाता साक्षरता अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार स्वयंसेवकले मोबाइलमार्फत निर्वाचन शिक्षासम्बन्धी सामग्री प्रस्तुत गरी हरेक मतदातालाई सही ढङ्गले मतदान गर्न सिकाउनेछन् ।

मतदाता शिक्षा कार्यक्रमअन्तर्गत मतदान गर्ने तरिका, मतपत्रको सही प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत तथा भ्रामक सूचनाबाट कसरी जोगिने भन्ने विषयमा जानकारी दिइनेछ । कार्यालयका अनुसार सल्यान जिल्लामा कूल एक लाख ६२ हजार ४४९ मतदाता रहेका छन् । जसमध्ये महिला ७९ हजार १२८ र पुरुष ८३ हजार ३२१ रहेका छन् ।

जिल्लाका ८३ वटै वडामा सञ्चालन हुने कार्यक्रममार्फत सबै मतदातासम्म पहुँच पु¥याउने लक्ष्य लिइएको छ । मतदाता शिक्षा कार्यक्रम तोकिएको कार्ययोजनाअनुसार प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको सुनिश्चित गर्न १० वटै स्थानीय तहमा अनुगमनकर्ता परिचालन गरिनेछ ।

अनुगमनकर्ताले दैनिक गतिविधिको अनुगमन गरी नियमित प्रतिवेदन जिल्ला निर्वाचन कार्यालयमा पेस गर्ने व्यवस्था मिलाइएको छ । यसबारे सबैले आआफ्नो तबरबाट काम गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ४ गते सोमबार