नरेन्द्र देवकोटा ‘प्रशान्त’
पृष्ठभूमिः
सन्तानको रुपमा गर्भधारण भएदेखि कुनै न कुनै किसिमले महिलामाथि गर्भदेखि नै हिंसा हुने गरेको कुरा थाहा पाउँदै आएका छौँ । बिहानदेखि बेलुकीसम्म व्यस्त जीवन बिताउने पनि महिला, माइतीघर बिर्सेर कर्मघरलाई स्वर्गजस्तो देख्ने पनि महिला, कर्मघरलाई शानमान र प्रतिष्ठा देख्ने पनि महिला, सम्पूर्ण पढाइलेखाइ छोडेर सपनाका बाकसहरु सबै ताल्चा ठोकेर कर्मघरको सपनानै जीवन हो भन्ने ठान्ने महिलाहरू विवाह भएका केही वर्ष पनि बित्न नपाउँदै आफ्नो भर्भराउँदो जीवन गुमाउन पुग्दछन् । के यसरी अमूल्य जीवन गुमाउनुमा महिलाहरू नै मुख्य कारण हुन् कि घर, परिवार र समाज ? छोराको चाहनामा आफ्नो जीवननै दाउमा राखेर श्रीमान् र घरपरिवारको खुसीको लागि नचाहँदा नचाँहदै पनि गर्भमा भएकी छोरीको भ्रूण हत्या गर्न बाध्य हुन्छन् महिलाहरू । छोरो नपाउञ्जेल शारीरिक र मानसिक यातना पाएका हुन्छन् महिलाहरूले ।छोरी पाउने महिलामाथि गर्ने हेलापोतो शिक्षादीक्षामा विभेद, खानपिनमा पक्षपात स्वास्थ्य सेवामा पक्षपातलगायत घरेलु हिंसादेखि यौनदुव्र्यवहार भोग्दै आएका देखिरहेका हुन्छौँ । महिला बेचबिखन र बलात्कारपछि हुने हत्या र पछिल्लो समयमा कोही केटासँग कुरा गरेको र हिँडडुल गरेकै आधारमा नैतिक प्रश्न तेस्र्याउँदै महिलामाथि निर्मम हत्या हुने गरेका घटनाले हाम्रो समाज कतातिर जाँदैछ ? भन्ने यक्ष प्रश्न खडा भइरहेको छ । पछिल्लो समयमा महिलाविरूद्व अनेकौँ घटनासँगै हत्या हिंसा बढ्दै आएका छन् । मुख्यगरी महिलामाथि चाहे जबरजस्ती करणीपश्चात् होस् चाहे श्रीमान्लाई छोडी दोस्रो लोग्नेलाई रोजेर विवाह गरेको बहानामा होस् या आफ्नी श्रीमतीले अर्को लोग्नेसँग प्रेमसम्बन्ध जोडेको आशंकामा होस् महिलालाई हतियार प्रयोग गरेर या कडावस्तुको प्रहारद्वारा हत्या गर्ने कम बढ्दै गएको पाइन्छ ।
अतः प्रस्तुत लेख महिलाविरूद्ध हुने जघन्य अपराधको चित्रण गर्दै महिलाविरूद्ध हुने हिंसा महिलाविरूद्ध हुने भौतिक कारबाही, दुव्र्यवहार, महिलाको इज्जत प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यले कसैबाट हुने दुव्र्यवहारलगायत हत्यासमेत हुने गरेबाट सोही सन्दर्भका विषयवस्तु समेटी महिलामाथि हुने हिंसा र हत्यालाई अन्त्य गर्नलाई व्यवस्था भएका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानुनमा भएका व्यवस्थालाई समेट्ने प्रयास गरिएको छ ।
अन्तर्राष्ट्रिय कानुनः
महिलाविरूद्ध हुने अपराधको अन्त्य गर्न विभिन्न अन्तर्राष्ट्रिय कानुन निर्माण भएको पाइन्छ । यिनै अन्तर्राष्ट्रिय कानुनको मूल्यमान्यता र सिद्धान्तभित्र रहेर विभिन्न मुलुकमा संविधान र राष्ट्रिय कानुनहरू निर्माण भएको पाइन्छ । हिंसाविरूद्ध तथा समानताका लागि मानव अधिकारको घोषणापत्र, नागरिक तथा राजनीतिक अधिकारको अनुबन्ध र आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारहरूको अनुबन्धजस्ता दस्ताबेजहरू नआएका होइनन् तर यति मात्रले महिलाविरूद्ध हुने हिंसा रोकिन सकेनन् । महिलाविरूद्ध हुने विभेदको अन्त्य गर्न नारीविरूद्धको विभेद निर्मूलसम्बन्धी घोषणापत्र सन् १९६७ मा छुट्टै जारी पनि गरियो । यसले पनि महिलाविरूद्ध हुने विभेदको अन्त्य गर्न नसकेपछि महिलाविरूद्धका सम्पूर्ण विभेद अन्त्य गर्ने महासन्धि (ऋभ्म्ब्ध्)को जन्म हुन पुग्यो । महिलाको जीवन वा जिउ ज्यानविरूद्धको अपराध नामक शीर्षक राख्दै जबरजस्ती करणी, दाइजोको कारण हुने हत्या, लोग्ने र लोग्नेपट्टिका आफन्तबाट हुने कुटपिट र अमानवीय व्यवहार, अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरजन्य कार्य, जुनसुकै प्रयोजनका लागि भए पनि रकम प्राप्तिका खातिर महिलालाई बेचबिखन गर्ने र वेश्यावृत्तिमा लगाउनेजस्ता कार्यहरू यस प्रकारका अपराधका उदाहरण हुन् भनी महिला तथा बालबालिकाविरूद्ध हुने अपराध नियन्त्रण स्रोत सामग्री, प्रकाशक महान्यायाधिवक्ताको कार्यालय, २०७१ (पृष्ठः२१ नामक पुस्तकमा डा. टेकबहादुर घिमिरेद्वारा लिखित महिलाविरूद्ध हुने अपराधहरू नामक लेख)मा उल्लेख गरिएको पाइन्छ ।
नेपालको संविधान २०७२ मा जीउ ज्यानको सुरक्षासम्बन्धी गरिएको व्यवस्थाः
नेपालको संविधान २०७२ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक, महिलाको हक, बालबालिकाको हक आदिसम्बन्धी मौलिक हकबारे व्यवस्था गरिएको छ । धारा १६ (१)मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने, धारा १७ मा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन् कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन् भन्ने व्यवस्था गरिएको छ । यसैगरी धारा ३८ (२)मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ भन्ने व्यवस्था गरिएको छ । संविधानको धारा ३९ मा बालबालिकाको हकबारे व्यवस्था गरिएको छ । संविधानको भाग ४ धारा ५१ मा राज्यका नीतिहरूअन्तर्गत धारा ५१ ‘क’ (३)मा राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरि शान्ति सुरक्षाको व्यवस्था गर्ने र सोही धाराको उपधारा (४)मा सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति गर्ने भनिएको छ । तथापि कहिले महिलाहरूले दाइजो नल्याएका कारण ज्यान गुमाएका छन् कहिले बलात्कारपछि बलात्कारको पोल खुल्ने भएपछि कसुरदारबाट ज्यान गुमाउनु परेको छ । कहिले बलात्कारपछि गर्भ बोकेको कारण पछि सो बच्चा जिम्मा लिनुपर्ने भएपछि पनि ज्यान जाने गरेको पाइन्छ, कहिले ईज्जतप्रतिष्ठा गुम्ने भएपछि ज्यान जाने आदि कारण रहेका छन् ।
कानुनी व्यवस्थाः
मुलुकी अपराधसंहिता ज्यानसम्बन्धी परिच्छेद, जबरजस्ती करणीसम्बन्धी परिच्छेद, बालविवाह, बहुविवाह, अपहरणसम्बन्धी परिच्छेद, बालबालिकासम्बन्धी ऐन, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को व्यवस्था पनि गरिएको छ तर व्यवहारमा बालबालिकाउपर जबरजस्ती करणीपश्चात् बालिकाले ज्यान गुमाउनु परेको छ । भन्न त १८ वर्ष नपुगेका बालिकालाई मञ्जुरी लिएर पनि करणी गर्न मिल्दैन, बीस वर्ष नपुगी विवाह गर्न मिल्दैन, तर नाबालिका अवस्थामा गर्भ बोकेपछि त्यो गर्भ र बालिकालाई के गर्ने भन्ने यक्ष प्रश्न उठ्छ, अन्त्यमा बालिकाको ज्यान गुम्न पुग्दछ । विभिन्न अपराधको अन्त्य गर्न कसुरदारको कसुरजन्य कार्यलाई कसुर घोषित गरि कसुरदारलाई सजाय गर्न मुलुकी अपराधसंहिता, २०७४, मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ र कसुर र सजाय निर्धारण ऐन, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ लागू भई विसं २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आएको अवस्था छ ।
नारीमाथि कसरी कर्तव्य ज्यानको घटना घट्ने गर्छन् ?
केही वर्षअघि कञ्चनपुरमा बलात्कारपछि घटेको निर्मला हत्या प्रकरणको कसुरदारलाई आजसम्म पनि अनुसन्धान कार्य निष्कर्षमा पु¥याइ अदालतसमक्ष मुद्दा दायर गर्न सकिएको छैन् । केही बलात्कारका कसुरपछि, केही विवाहपछि परपुरुषसँग लागेको आरोपमै आफ्ना श्रीमान्द्वारा हत्या गर्ने गरेका उदाहरण थुप्रै छन् । कसैलाई बोक्सीको आरोपमा हत्या गरिएका समाचार सुन्न पाइन्छन् । केही महिनाअघि प्युठानमा आफ्नै श्रीमतीलाई अर्को लोग्नेसँग विवाह गरि भन्ने आरोपमा एकजना युवकले चक्कु प्रहार गरि श्रीमतीको हत्या गरेका थिए । यस किसिमको जघन्य अपराधको सर्वत्र निन्दा भयो । यी प्रतिवादी÷कसुरदारउपर जन्मकैदको सजायको माग लिई अभियोगपत्र दायर पनि भएको छ । केही दिनअघि एकजना विवाहित पुरुषले आफ्नी श्रीमतीले परपुरुषसँग संगत गरेको आरोपमा दुई दाजुभाइ मिलेर रातिमा जंगलबीच एकजना महिलाको हत्या गरेको पाइन्छ । यसैगरी गत साल एक जनाका काकाकाकीले आफ्नो लोग्नेस्वास्नीको घर भाँडेको भन्ने आरोपमा राति निदाएको बेलामा टाउकोमा फलामको घनले हानी छेदविच्छेद पारेर मारेको घटना अनुसन्धानबाट खुलेपछि उसउपर आजन्म कैदको लागि मुद्दा दायर भएको छ । द्वन्द्वकालमा एकजना पुरुष गाउँमा बस्दा माओवादीको साथ जंगलमा झोला बोकेर हिँड्नुपर्ने डरले भारततर्फ लागे ।
यता घरमा कोही परिवार नभएको मौका पारी एकजना पुरुषले निरीह महिलालाई गर्भ बोकाए । पछि गर्भ ठूलो हुँदै गयो । गर्भ कसको हो भनेर समाजले तिनी महिलामाथि केरकार गर्न थाल्यो । तिनै महिलामाथि सिस्नोले हानेर आक्रमण भयो । गर्भवती पीडित ती महिलाले फलानोको गर्भ हो भनिन् ।स्थानीयहरूले बिनासित्ती आरोप लगाउने भनेर कुटपिट गरे । सिस्नोले मरणासन्न भई उपचारका लागि अस्पताल पु¥याउँदा महिलाको मृत्यु भयो । यी भए केही प्रतिनिधि घटना । यौन बलात्कारपछि महिला, युवती, किशोरी र बालिकाहरूको हत्या भएको कुरा विभिन्न मिडिया र सामाजिक सञ्जाल अनलाइन, युट्युव, फेसबुकमा आइरहेका समाचारबाट थाहा पाएका हुन्छौँ । यसैगरी विवाहपछि पनि महिलाका रहस्यभित्रै मृत्यु भएका कुरा खुलेका हुन्छन् । कतिपय महिलाको कुनै न कुनै सामाजिक र घरायसी विवादका कारण मृत्यु भएको थाहा पाउँछौँ । घरेलु हिंसाको कारण, छोरा नजन्मेको कारण, दाइजो नल्याएका कारणले ज्यान गुमाउन बाध्य भएका हुन्छन् । केही पुरुष मानिसले मदिरा सेवन गरी आफ्नी श्रीमतीको ज्यान लिने गरेका बग्रेल्ती घटनाहरू सुनिनमा आइरहन्छन् । आखिर किन यसरी क्रूर तरिकाबाट ज्यान गुमाउन पुग्दछन् महिलाहरू ? किन यसरी क्रूर हुन पुग्दछन् आजका मानिसहरू ? पुरुषमात्र होइन्, महिलाहरू पनि क्रूर बनेका हुन्छन् महिलाहरूले नै महिला र पुरुष दुवै व्यक्तिको हत्या पनि गरेका हुन्छन् । तथापि पुरुषबाट महिला तथा बालबालिकाको हत्या गर्ने श्रृङ्खला तुलनात्मक रुपमा बढी देखिन्छ । महिला किशोरी तथा बालिकाहरूमाथि कहिलेकाहीँ लापरबाहीपूर्वक त कहिलेकाहीँ हेलचेक्र्याँइपूर्वक पनि ज्यान लिने गरेको पाइन्छ । के यी सबै घटना जनचेतनाको अभाव र गरिबीले घटेका हुन् त ?
नेपालका अधिकांश जिल्लामा विभिन्न कारण र अवस्था देखाई महिलामाथि हत्या हुने गरेको पाइन्छ । ‘शारीरिक वा मानसिक रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महिलाहरूउपर हुने अमानवीयता नै महिलाविरूद्धको अपराध हो । खासगरी कुनै कसुरजन्य कार्य प्रत्यक्ष रुपमा महिलाकै विरुद्धमा लक्षित छ र त्यसमा महिला मात्रै पीडितको रुपमा रहेको अवस्था छ भने त्यो महिलाविरूद्ध अपराध हो भनी रंजितभक्त प्रधानाङ्ग, नेपालमा महिला हिंसाविरूद्धका अपराधहरू, लुम्बिनी प्रकाशन काठमाडौँ, २०५८ लाई उद्धृत गर्दै महिला तथा बालबालिकाविरूद्ध हुने अपराध नियन्त्रण स्रोत सामग्री नामक पुस्तकको पृष्ठ ५, २०७१ मा डा.टेकबहादुर घिमिरेद्वारा लिखित महिलाविरुद्ध हुने अपराधहरू नामक लेखमा उल्लेख गरेको पाइन्छ । यसैगरी सोही पुस्तकको सोही पृष्ठ ६ मा महिलाविरूद्ध हुने अपराधहरू नामक लेखमा डा. टेकबहादुर घिमिरे लेख्नुहुन्छ – ….. ‘जबरजस्ती करणी, अपहरण हत्या, दाइजोको इबीमा मृत्यु हुने वा गर्ने गराउनेसम्मको स्थितिमा पु¥याउनेजस्ता सबै प्रकारका फौजदारी कसुरहरू र विधवा वा वृद्व महिलाप्रति सुदृष्टि प्रयोग नगर्ने र दुव्र्यवहार गर्नेजस्ता सबै प्रकारका घरेलु हिंसाजन्य व्यवहारहरू साथै खिसीटिउरी गर्ने वा जिस्क्याएर आफ्नो यौन तृष्णा मेट्न मनोरञ्जनको माध्यमको रुपमा महिलालाई प्रयोग गर्ने समेतका कार्यहरू महिलाविरूद्व हुने हिंसाका उदाहरणहरू हुन् ।’
मुलुकी अपराधसंहिता,२०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी परिच्छेद, दफा १७७ देखि १८७ सम्म ज्यानसम्बन्धी कसुर, सजाय क्षतिपूर्ति र हदम्यादसम्बन्धी व्यवस्था गरिएको छ । यस ज्यानसम्बन्धी परिच्छेदमा कर्तव्य ज्यान, आवेशप्रेरित हत्या, ज्यान मार्ने उद्योग, लापरबाही गरि ज्यान मारेको, हेलचेक्र्याइँ गरि ज्यान मारेको, भवितव्यसम्बन्धी ज्यान र आत्महत्या दुरुत्साहन पर्दछन् । दफा १७७ मा कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गर्न वा गराउन हुँदैन भनिएको छ भने यस दफाको प्रयोजनका लागि कसैले कसैलाई निजको ज्यान मर्नसक्ने गरि नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पु¥याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको परिणामस्वरुप पछि ज्यान मरेमा पनि सोही व्यक्तिले ज्यान मारेको मानिनेछ भनी स्पष्टीकरणमा स्पष्ट पारिएको छ । यसरी नियतपूर्वक ज्यान मार्ने कसुर गर्ने गराउने व्यक्तिलाई जन्मकैदको सजाय हुनेछ । यस दफामा उल्लेख गरिएअनुसार ज्यान मर्नसक्ने नियत वा मनसाय राखी गम्भीर चोट पुग्ने कुनै पनि हातहतियार ज्यावल प्रयोग गर्न मनाही गरेको देखिन्छ । यस दफाअनुसार ज्यान जानसक्ने काम भन्नाले मानौँ– खेतमा रोपाइँ गर्न कुलोपानी लगाउँदा पानी बाँडफाँट गर्ने क्रममा पानीको बाँडफाँटमा कुरो नमिली फरुवाले टाउकोमा हान्दा मानिस ठाउँको ठाउँ मर्न गएबाट कर्तव्य ज्यान मरेको ठहराई जन्मकैदको सजाय गरेको देखिन्छ । जन्मकैद भन्नाले वर्तमान प्रचलित कानुनले २५ वर्ष कैद सजायलाई जन्मकैद मानेको छ ।
कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कारण हुँदाहुँदै त्यस्तो काम गर्न हुँदैन, यसरी यस्तो विश्वास हुने काम गरि यसैका कारणबाट कसैको ज्यान मरेमा जन्मकैदको सजाय हुनेछ भनी दफा १७८ मा व्यवस्था रहेको छ ।
खासगरी यस दफामा कुनै काम गर्दा ज्यान जान सक्छ भन्ने कुनै मानिसलाई पक्कापक्की थाहा भएर पनि ज्यान जानेजस्तो काम यदि कसैले जानीबुझी गर्दछ भने त्यस्तो कार्यबाट कसैको ज्यान गएको छ भने पनि जन्मकैद मानिएको छ । जस्तै भिर, पाखाबाट घचेटेर पुलबाट घचेटेर मार्ने, करेन्ट लगाउने, पानीमा डुबाएर मार्ने, बन्दुक पेस्तोल हानेर मार्ने कामजस्ता कार्हरू पर्दछन् । कसैले गम्भीर उत्तेजना दिलाउने काम गरेबाट कसुरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान मारेकोमा दशदेखि पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि एक लाख पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । उत्तेजना दिलाउने काम भन्नाले कसैले कसैलाई अस्वाभाविक कुरा बोल्यो या कुनै काम ग¥यो भने, कुनै नैतिक प्रश्नका कुरा उठायो वा कुनै रिस उठ्ने उठाउने काम गरेको र त्यस्तो रिस थाम्न नसकी आवेग सहन नसकी तत्काल केही गर्दा तत्कालै ज्यान गयो या केही घण्टा, दिनपछि ज्यान मर्न पुगेमा आवेशप्रेरित हत्या भन्ने गरेको पाइन्छ ।
कुनै पनि मानिसका व्यवहार के कस्ता काम गर्दा मानिस आवेगमा आउँछन् भन्ने कुराको सीमा नै हुँदैन । एकपटक नेपालको कुनै जिल्लामा चार जना मानिस काठ÷रुख काट्न गएका थिए । उनीहरुले लोकल रक्सी पाँच लिटर बोकेर पनि गएका थिए । केही जंगलमा पिए । केही फर्काएर ल्याए । बँचेको रक्सी सिध्याउन स्थानीय पसलमा चार पोका चाउचाउ पकाउन लगाए । चाउचाउ पाक्दै थियो । रुख काट्न गएकामध्येका केही साथीहरू होटेलमा आइपुगे । यसक्रममा उनीहरूले त्यही चाउचाउ बाँडेर रक्सीसँग खाए । पैसा तिर्ने बेलामा एक जनाले सबैसरह बराबरी पैसा तिर्न मानेन, जसका साथी हुन् उसैले तिर्नुपर्ने तर्क राख्यो । अरुले सामूहिक रुपमा सबैका साथी भएकाले सामूहिक रुपमा सबैले बराबरी तिर्नुपर्ने तर्क राखे । यही कुरामा एक जनाको विमति रहेपछि अरुले बराबर पैसा नतिर्नेलाई एकाएक झ्यापझुप पिट्न गए । सामूहिक पिटाइबाट ऊ मरणासन्न भयो, उसलाई अस्पताल पु¥याए, भोलिपल्ट नै त्यो घाइते म¥यो, उसलाई आवेगप्रेरितमा हत्या गरेको अभियोग लगाइयो । अदालतले पनि आवेगमै मारेको कसुर ठहरायो र आवेगप्रेरित मै सजाय ग¥यो । यस्ता थुप्रै नमूना घटनाहरू रहेका छन् ।
हाल प्रचलित मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ क्षतिपूर्ति भराइदिनुपर्ने समेत व्यवस्था गरिएको पाइन्छ । दफा १८६ अनुसार यस ज्यानसम्बन्धी परिच्छेद १२ अनुसार यस परिच्छेदबमोजिम भएको कसुरबाट कसैको जिउ ज्यान वा सम्पत्तिमा हानिनोक्सानी वा क्षति भएमा कसुरदारबाट पीडित व्यक्ति र निज नभए निजको हकवालालाई मनासिव क्षतिपूर्ति भराइदिनु पर्नेछ भन्ने कानुनी व्यवस्थाले अपराधबाट पीडित पक्षले मलमपट्टिको रूपमा भए पनि अनिवार्य रुपमा कसुरदारबाट क्षतिपूर्ति भराई पाउने व्यवस्था रहेको छ । यसबाहेक विभिन्न कसुरमा ज्यान लिएकोमा उजुरी गर्न हदम्यादको व्यवस्थासमेत गरिएको छ । व्यक्तिवादी कसुरमा सावित भएकोमा जहिलेसुकै पनि उजुर लाग्नेछ भने कर्तव्यबाट ज्यान मरेकोमा यसैले मारेको भन्ने नखुलेकोमा बीस वर्षपछि र कर्तव्यको उजुर नपरेकोमा सो वारदात भएको दुई वर्षपछि उजुरी लाग्ने छैन भनी मुलुकी अपराधसंहिता २०७४ को दफा १८७ मा हदम्यादसम्बन्धी व्यवस्था गरिएको छ ।
समस्याः
हाम्रो समाजमा व्याप्त रुपमा फैलिएको छोरा नभई स्वर्गको बाटो र मुक्ति पाइँदैन भन्ने धार्मिक विश्वासले छोरोको चाहनाले भ्रूण हत्यादेखि महिलाको ज्यानसमेत जाने गरेको पाइन्छ । दाइजोलाई सम्पत्तिको रुपमा आकांक्षा राखी श्रीमतीभन्दा दाइजो ठूलो ठान्नु बलात्कारपछि इज्जतप्रतिष्ठा र सजायबाट बच्न हत्या हुने गरेका पाइन्छन् । यसैगरी कानुनी मार्ग र उपचार नखोजी बोक्सी आरोप लगाउने, कुनै केटासँग लागेको आधारहिन कारण र शंकामा ज्यान लिने कानुनी मार्ग नरोजी हत्या गर्नसम्म पुग्नु यस परिच्छेदका समस्या हुन् ।
समाधानः
जुनसुकै असन्तुष्टि र व्यवहारिक एवं पारिवारिक समस्या भए पनि कानुनी उपचारको मार्ग रोजी समस्याको समाधान खोजे समाधानका विकल्पहरू प्रशस्त मिल्न सकिने देखिन्छ ।
निश्कर्षः
हरेक समाजका हरेक सदस्यसँग अनेक किसिमका लोभ मोह रहेका हुन्छन्, तीव्र आकांक्षा र चाहना रहेका हुन्छन् । नैतिक मूल्यमान्यता रहेका हुन्छन् । आफूलाई महत्वकांक्षी नबनाई सरल जीवन जीउन खोजे कोही कसैको ज्यान नजाने र अनावश्यक आफ्नो परिवारबाट छुट्टिएर जेल सजाय भोग्न पर्दैन भने आर्थिक सामाजिक रुपमा क्षति व्यहोर्न पनि पर्दैन । जेल सजाय र कारावास पनि बस्न पर्दैन । सामाजिक रुपमा अपहेलित र मर्यादित पनि हुन पर्दैन भन्ने लाग्दछ ।









प्रतिक्रिया दिनुहोस्