भोलिबाट निर्वाचन प्रचार–प्रसारको समय सुरु



निर्वाचन आयोगले भोली फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोकेको छ । साथै आयोगले सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन जारी गरेको छ ।

निर्वाचन आचार संहिता २०८२ ले राजनीति दल, उमेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेकोमा त्यसलाई पालना गर्न आयोगले ध्यानाकर्षण पनि गराएको छ ।

आयोगका अनुसार २०८२ फाल्गुन ३ गते राती १२ बजेपछि अर्थात् फाल्गुन ४ गतेदेखि शुरु हुने यो प्रचार अवधि फाल्गुन १८ गते राती १२ बजेसम्म कायम रहने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

उनका अनुसार आयोगले प्रचारप्रसारका क्रममा राजनीतिक दल, उम्मेदवार, नेता, प्रतिनिधि र शुभेच्छुकहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

निर्वाचनको निष्ठतालाई उच्च प्राथमिकतामा राखेर दल तथा उमेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचार संहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार प्रसार गर्ने अपेक्षा गरिएको आयोगले जनाएको छ । आयोगले आचार संहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरू परिचालन गरिरहेको पनि जानकारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार