नेपालमा कम्युनिस्ट नाम झुन्डिएका दर्जनभन्दा बढी दलहरू छन् । आज ती दलहरूमध्ये धेरैजसोमा विचारको बहस र छलफल नै हुँदैन । बैठकहरूमा आलोचना÷आत्मालोचना भन्ने शब्द नै गायब भएजस्तो देखिन्छ । विचारको बहस र छलफल नभएपछि पार्टी सैद्धान्तिक रूपले बन्ध्याकरणको शिकार बन्छ । कार्यकर्ताहरूमा पनि आलोचनात्मक चेतको विकास हुन सक्दैन ।
चिन्तामणि घिमिरे
कम्युनिस्ट पार्टी स्थापना भएको ७७ वर्ष पूरा हुन लाग्दैछ । उमेरका हिसाबले प्रौढ अवस्था पार गरेर अगाडी बढेको छ । स्थापनाकालदेखि हालसम्म आउँदा कम्युनिस्ट पार्टीले विभाजन, एकता र विभाजनका थुप्रै शृंखलाहरू पार गर्दै आएको छ । वर्गसंघर्षका ती आँधीमय दिनहरू पार गरेर आएको कम्युनिस्ट आन्दोलनको विगत जति गरिमामय थियो, वर्तमान त्यति गौरवपूर्ण देखिँदैन । एक कालखण्डमा निकै चर्को क्रान्तिकारी देखिएका नेता, कार्यकर्ताहरू अर्को कालखण्डमा आइपुग्दा त्यसको ठिक उल्टो देखिने क्रम बढ्दै गइरहेको छ । कम्युनिस्ट र गैरकम्युनिस्ट बीचको भेद मेटिँदै गइरहेको छ । सिद्धान्त र व्यवहारमा आज एकरूपता देखिँदैन । नेता–नेता, नेता र कार्यकर्ता अनि कार्यकर्ता–कार्यकर्ता बीचको सम्बन्धमा त्यति हार्दिकता देखिँदैन । एकअर्कोमा समस्या पर्दा सहयोगको कुरा त छाडिदिउँ, सहानुभूतिसम्म देखाउने चलन पनि हराउँदै गइरहेको छ । कामरेडली सम्बन्ध हुनुपर्नेमा त्यो अब एकादेशको कथा बन्दै गइरहेको छ । भेटघाट हुँदा कमरेड भनेर बोलाइन्थ्यो भने आजकल त दाई ,भाइ, दिदी, बहिनी, भाउजु, काका, काकी, मामा, माइजुलगायत अन्य नातासम्बन्धी शब्दावलीहरू प्रयोग गर्ने गरिएको देखिन्छ । आफूलाई आधुनिक र जानेबुझेको भन्ने ठान्नेहरूले त सर र म्याडम शब्दले बोलाउने चलन बढेर गएको छ ।अहिले कम्युनिस्ट को हो र को होइन भन्ने कुरा छुट्टयाउन जनतालाई गाह्रो परेको छ । वल्लो घरको कम्युनिस्ट र पल्लो घरको काङ्ग्रेस दुवैका बानी, व्यवहार, आचरण, स्वभाव, जीवनशैली एकै देखिन्छन् । फरक त केवल व्यक्तिका नाम, पार्टीको नाम र पार्टीको झन्डा मात्र फरक देखिन्छन् । सचेत जनताले कसले के भन्छ भन्दा पनि कसले के गर्छ भन्नेतिर ध्यान दिन थालेका छन् ।
राजनीतिक दलहरूले जनतामा सहि चिजको सम्प्रेषण गरेका छैनन् । जनता सहि कुरा बुझ्नबाट अहिले पनि वञ्चित छन् । जनताको मत अहिलेसम्म पनि खरिदबिक्री हुँदै आइरहेको छ । यो चुनावमा पनि मत खरिदबिक्री रोक्किने स्थिति छैन् । दलका नेता कार्यकर्ताहरू पनि सहि राजनीतिक सिद्धान्तबाट दिक्षित भएको देखिँदैन । राजनीतिलाई कमाइ खाने भाँडो बनाएको देखिन्छ । राजनीति भनेको सबै नीतिहरूको मूलनीति हो । यो राज्यसत्ता सञ्चालन गर्ने नीति हो । राजनीति जनसेवासँग सम्बन्धित विषय हो । तर अहिले यो व्यवसायजस्तै बनेको छ । पहिला पहिला राजनीतिक दलमा इमानदार र त्यागी नेता–कार्यकर्ताको बाहुल्यता हुन्थ्यो तर आजकल इमानदार र त्यागी नेता कार्यकर्ताको खडेरी परेको छ । अहिले राजनीतिक दलहरूमा उद्योगपति, व्यापारी, ठेकेदार, अवकाशप्राप्त सुरक्षाकर्मीका अफिसर, अवकाशप्राप्त निजामती कर्मचारीका अधिकृतहरू, तस्करहरू र डनहरूको बोलवाला छ । उनीहरूकै रजगज र वर्चस्व कायम रहेको देखिन्छ । आदर्श र सिद्धान्तनिष्ठताको राजनीति गर्ने र गर्न खोज्नेहरू किनाराका साक्षी बन्ने र बनिरहेको स्थिति देखा पर्दै गइरहेको छ । विशेषत यो रोगले काङ्ग्रेस र संसद्वादी कम्युनिस्टहरूलाई गाँजेको छ । संसद्बाहिर रहेकाहरूमा पनि शतप्रतिशत शुद्धता छ भनेर दाबी गर्नसक्ने स्थिति देखिँदैन । तर संसद्भित्र रहेका एकाध दलबाहेक अन्य सबैजसो दलहरू यो रोगबाट ग्रसित छन् । संसद्बाहिरका दलहरू संसद्भित्रका भन्दा अलि फरक देखिनु पर्ने हो तर त्यस्तो देखिँदैन् । पँुजीवादी संस्कृतिले सबैलाई लपेटेको छ ।
संसदीय घेराबाहिर रहेका दलहरूमा पनि एकआपसमा हार्दिकता छैन् । संकीर्ण मानसिकता, जडता, अनुशासनविहीनता, आफूबाहेक अरुलाई क्रान्तिकारी नदेख्ने शुद्धतावादी चिन्तन कायम रहेको देखिन्छ । एकताभन्दा फुटमा रमाउन खोज्ने, सँगै हुँदासम्म, मन मिल्दासम्म र एकैठाउँ हुँदासम्म आलोचनाको आ पनि उच्चारण नगर्ने तर अलग भएपछि न्वारनदेखिको बल लगाएर व्यक्तिगत टीकाटिप्पणी र चरित्रहत्यासम्म गर्न पुग्ने कुरा त्यति जायजपूर्ण हो जस्तो लाग्दैन । एकले अर्कोलाई खुइल्याउन मै रमाइलो मान्ने कुरा त्यति उचित देखिँदैन ।
पार्टीभित्र विचारको बहस हुनुपर्छ । सम्मेलन र अधिवेशनहरूमा खुला रूपमा छलफल र बहस हुने परम्परा छ । तर आजकल पार्टीहरूभित्र वैचारिक बहस र छलफल हुन छाडेको छ । नेतादेखि कार्यकर्तासम्म सबैले आफ्ना आफ्ना मत, विचार र मतभेदहरूलाई खुला रूपले पोख्ने र पस्कने भनेकै सम्मेलन र अधिवेशन हुन । ती ठाउँहरूमा केही पनि नबोल्ने तर पिठ्युँपछाडी कुरा काट्दै हिँड्ने चलन नयाँ होइन । यो एउटा परम्पराजस्तै बनेको छ । त्यसले आन्दोलनलाई फाइदा गर्दैन । अन्तरसंघर्षलाई पार्टीभित्र मैत्रीपूर्ण छलफलद्वारा हल गर्न सकिन्छ । तर नेपालको कम्युनिस्ट आन्दोलनमा सानातिना मतभेद र असहमतिहरूलाई लिएर पार्टीबाट अलग हुने गरेका थुप्रै उदाहरणहरू छन् ।
सरकारले फागुन २१ गतेलाई प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि नेपालको राजनीतिक दलहरूमा ध्रुवीकरण र पार्टी एकताको लहर निकै नै चल्यो । वामपन्थी खेमाका दलहरू र नयाँ भनेर खुलेका दलहरू बीचमा एकता र ध्रुवीकरणको लहर जोदतोडका साथ चल्यो । आउँदो ०८२ फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरेर दलहरू एकआपसमा मिल्न जाने काम पनि भयो । उनीहरूको आफ्नो अस्तित्व रक्षाको सवाल पनि होला । गठबन्धन निर्माणमा बाह्य शक्तिहरूको भूमिका रहने गरेको छ । उनीहरूले जसलाई सरकारमा ल्याउँदा आफ्नो स्वार्थहरू पूरा हुने देख्छन्, उसैलाई सरकारमा ल्याएर स्थापित गरिदिन्छन् । पाकिस्तानमा इमरान खाँको सरकारले रुस र युक्रेनको मामिलामा रुसलाई समर्थन गरेपछि अमेरिकाले रातारात इमरानको सरकार ढाल्नमा सहयोग ग¥यो । बङ्गलादेशले सेन्ट मरिना द्विपमा अमेरिकालाई सेना राख्न नदिँदा शेख हसिनाको अत्यधिक बहुमतको सरकार ढल्यो । नेपालमा साम्राज्यवादीहरूको चलखेल अत्यन्तै तीव्र गतिमा बढिरहेको छ । नेपालको राजनीतिमा विदेशी शक्ति केन्द्रहरूले निकै चासो देखाएका छन् । अहिलेको चुनावी माहोल चलिरहेको बेला विदेशीहरूको नेपाल भ्रमण बाक्लिन थालेको छ । भ्रमण दलहरूको आवतजावत चलिरहेको छ । छिमेकीहरूको पनि चासो अलि बढेकोजस्तो देखिन्छ । सात समुन्द्र पारीबाट आएर पनि आँखा लाउने काम भएको छ । नेपालको राजनीतिमा शक्तिकेन्द्रहरूको प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप बढेर गएको छ ।
कम्युनिस्ट पार्टी उन्नत र अग्रगामी चेतना बोकेका मान्छेहरूको पार्टी हो । यो श्रमिक वर्गको अग्रदस्ता हो । संसारमा सबैभन्दा राम्रो र सभ्य समाज निर्माण गर्नका लागि बनेको सङ्गठन नै कम्युनिस्ट पार्टी हो । यो मानवजातिको मुक्तिको लागि बनेको सङ्गठन हो । कम्युनिस्टहरूसँग उन्नत, विकसित, वैज्ञानिक र उच्च प्रकारको चेतना हुन्छ । एकले अर्कोको सम्मान गर्ने, माया गर्ने, उत्पीडन नगर्ने शोषणको अन्त्य गर्ने चेतना हुन्छ । तर नेपालका वामपन्थी शक्तिहरूले सिद्धान्त अनुसारको आचरण पालना गर्न आवश्यक नै ठानेनन् । जसले गर्दा यो चुनावमा गैरवामपन्थी शक्तिहरू हावी हुन सक्ने स्थिति देखा पर्न सक्छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सत्ता प्राप्तिको लागि मात्र हो भन्ने बुझाइ रहेको छ । कम्युनिस्ट आन्दोलन सत्ता प्राप्तिको मात्र आन्दोलन नभएर विचार निर्माण र विश्वदृष्टिकोण निर्माणको आन्दोलन पनि हो । नयाँ सभ्यता र संस्कृति निर्माणको आन्दोलन पनि हो । विचारको विकास र कम्युनिस्ट विश्वदृष्टिकोणको निर्माण हुन सकेन भने कम्युनिस्ट आन्दोलन विचलन र विघटनको दिशातिर जान्छ र आफ्ना लक्ष र उद्देश्यबाट टाढिँदै गएर अन्ततः विसर्जन हुने खतरा रहन्छ । यहाँको कम्युनिस्ट आन्दोलनको ठूलो हिस्सामा आज बुर्जुवाकरण भएको छ । त्यो ठूलो हिस्सामा कम्युनिस्ट नैतिकता, आदर्शको सट्टा बुर्जुवा नैतिकता र आदर्श फैलिरहेको छ । बुर्जुवा जीवनशैलीमा रमाइरहेको ठूलो हिस्साले जुन चीज उपभोग गरिरहेको छ, त्यो उसको लागि महान आदर्श बनेको छ । विचार, राजनीति, सिद्धान्त र दर्शनमा प्रतिबद्ध र अडिग हुनेहरू उनीहरूका लागि पाखण्डी र ढोँगी लाग्छन् ।
नेपालमा कम्युनिस्ट नाम झुन्डिएका दर्जनभन्दा बढी दलहरू छन् । आज ती दलहरूमध्ये धेरैजसोमा विचारको बहस र छलफल नै हुँदैन । बैठकहरूमा आलोचना÷आत्मालोचना भन्ने शब्द नै गायब भएजस्तो देखिन्छ । विचारको बहस र छलफल नभएपछि पार्टी सैद्धान्तिक रूपले बन्ध्याकरणको शिकार बन्छ । कार्यकर्ताहरूमा पनि आलोचनात्मक चेतको विकास हुन सक्दैन । पार्टीलाई गतिशील बनाउने भनेकै आलोचनात्मक चेतना र सिर्जनात्मक सोचाइले हो । नेपालमा अहिले क्रान्तिको लागि वस्तुगत परिस्थिति धेरै अनुकूल बन्दै गइरहे तापनि आत्मगत अवस्था अत्यन्तै कमजोर छ । क्रान्तिलाई नेतृत्व गरेर अगाडी लैजान सक्ने नेतृत्व र पार्टी दुवैको स्थिति कमजोर नै छ ।अन्तर्राष्ट्रियस्तरमा पनि आन्दोलन कमजोर हुँदै गइरहेको छ । किन यस्तो भइरहेको छ भनेर त्यसको बारेमा समीक्षा हुनु अति आवश्यक छ । यसमा ढिला गर्नु कुनै पनि कारणले मनासिब देखिँदैन । तर वस्तुगत परिस्थिति अनुकूल भएका कारणले मात्र क्रान्ति सफल भएका छैनन् । वस्तुगत परिस्थितिका साथसाथै आत्मगत शक्ति पनि सुदृढ हुनुपर्छ । आत्मगत भनेको पार्टीको आन्तरिक शक्ति हो । पार्टीभित्रैबाट बलियो छैन भने कमजोर दुश्मनलाई पनि हराउन गाह्रो पर्छ । आजको विश्व बहुध्रुवमा विभाजित छ । अमेरिका विश्वभरीबाट नै नाङ्गिदै गइरहेको छ । भेनेजुयला प्रकरणपछि नैतिक रूपले ऊ तल गिरेको छ । मादुरो दम्पतीको अपहरणपछि विश्वभरिका जनताहरूले उसलाई घृणाको दृष्टिले हेर्दछन् । स्वयं अमेरिकी जनताहरूले नै ट्रम्पलाई त्यति राम्रो मान्दैनन् ।
अमेरिकामा अहिले पनि ट्रम्पको विरोध भैरहेको देखिन्छ । उसको प्रभाव संसारभर छैन् । अमेरिकामा नै हँसिया हथौडाअङ्कित झन्डाहरू फहराउन थालेका छन् । उता चिनियाँ प्रभाव विश्वभर फैलँदै छ । निकट भविष्यमा एसिया महादेशका देशहरू क्रान्तिका तुफानी केन्द्रहरू बन्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । क्रान्तिकारी कम्युनिस्ट शक्तिहरू एकजुट हुने र श्रमिक वर्ग पनि आफ्नो अधिकारको लागि संघर्षको मैदानमा उत्रने हो भने क्रान्ति धेरै टाढा जाँदैन । तर यहाँ श्रमिक वर्गमै टुटफुट र विभाजन छ । क्रान्तिकारी शक्तिहरूमै बेमेल र वैमनस्यता कायम छ । तर यो परिस्थिति सधैँ रहिरहँदैन । श्रमिक वर्ग ढिलोचाँडो संगठित भएरै छाड्छ । क्रान्तिकारी शक्तिहरू पनि विस्तारै ध्रुवीकरण हुँदै अगाडि बढदै जानेछन् । एकदिन मक्किएको पूँजीवादमाथि श्रमिक वर्गले घन बजार्ने छ र पूँजीवादलाई मृत्युशैयामा पुराउने छ । संसारभरका सर्वहारा श्रमिकहरूले एकजुट भएर आआफ्नो ठाउँबाट क्रान्तिको बिगुल फुक्ने छन् । पूँजीपति वर्गको राज खतम हुनेछ । सर्वहाराको राज चल्नेछ । खोसिएको अधिकार र सम्पत्ति फिर्ता हुनेछ । त्यसैले क्रान्तिको बाटो अप्ठ्यारो र यात्रा लामो भए पनि क्रान्तिको भविष्य उज्ज्वल छ । वर्तमानको क्षणिक अवस्थालाई देखेर निराश र हैरान हुनुपर्ने देखिँदैन । पूँजीवादी शासन एकदिन जरुर ढल्नेनै छ । त्यसमा कुनै शंका नै छैन । क्रान्ति जीवित छ र जीवितै रहने छ ।









प्रतिक्रिया दिनुहोस्