आमाको आर्तनाद र आततायीप्रतिको आक्रोश



आजका बालबालिकाले गर्ने क्रियाकलापहरूमा भोलिको यो मुलुकको आकृति र अनुहार प्रतिविम्बित भइरहेको हुन्छ । आजका बालबालिकालाई जे गरिन्छ, जे गराइन्छ र जे सिक्छन् र जे सिकाइन्छ, भोलिको देश पनि ठिक त्यस्तै हुन्छ । बालबालिका र उनीहरूको शिक्षा एवम् सिकाइका लागि के गर्दैछन् त सरकारहरू ? के गर्दैछन् त निर्वाचनमा होमिएका नेता र जनप्रतिनिधिका दावेदारहरू ? जवाफमा केही छैन, शिवाय शून्य । अहिले त चुनाव आउन तीनहप्ता जति मात्र बाँकी छ, तथापि एकाधबाहेक कुनै पार्टीका चुनावी घोषणापत्रहरू पनि सार्वजनिक गरिएका छैनन् ।

जीतबहादुर शाह

‘मेरो छोराले घरैनेर इज्जतिलो जागिर पाएको छ ।’ कति कोसिस गर्दा यौटा ब्याचलर गरेको छोराले घरैनेर शिक्षकको जागिर पाउने छोराको आमाले गाउँभरि आफन्तहरूलाई सुनाउँदै हिँडेको खुसीको खबर हो यो । तर ती आमाको त्यो खुसी धेरै दिन टिकेन । पुरापुर दुई महिना विद्यालयमा गएर अध्यापन गर्दा पनि एक दिन आफ्नो पिरियडमा अर्को कोही आएर कक्षा लिएको देख्छन् । प्रअको कार्यकक्षमा गएर यो कुरा सुनाउँदा प्रअले ‘सरी मैले तपाईँको जागिर बचाउन सकिन । अरु कोही ठूलो मानिसको पावरको अघि मेरो केही जोर चलेन’ भनेर जवाफ दिन्छन् । त्यसपछि उनले शिक्षकको जागिरबाट पनि हात धुन्छन् । स्वदेशमै बसेर जागिर खाने हिसाबले उनले धेरै जोरजुलुम र दौडधुप गर्छन् । तर उनको स्वदेशमै बसेर आफ्नो बाबाआमाको सेवा गर्ने र आफ्नी प्रेमिकालाई नजिक बसेर प्रेम गर्ने रहर अधुरो रहन्छ । एउटा दलालको लहलहैका पछि लागेर अमेरिकातिर बरालिन्छन् । अमेरिका बरालिने क्रममा उनले विभिन्न किसिमको यातना, जेल सजाय, बाबाआमाको मृत्यु हुँदा पनि कुरा गर्न नपाएका जस्ता कहालीलाग्दा पीडाहरू ब्यहोर्छन् । प्रस्तुत सारसङ्क्षेपकथा चलचित्र ‘आँ’बाट आमाबाट साभार गरिएको हो ।

मान्छेहरू भन्छन्, लोग्ने मानिसहरू सकेसम्म रुँदैनन् । सायद त्यस्तो भन्ने मान्छेहरूको नजरमा म लोग्नेमाानिसको वर्गमा पर्दिन जस्तो लाग्छ । किनभने आफ्नो त कसैको पीडा देख्दा पनि आँखा रसाउँछ, कसैको पुस्तकमा पीडाको अध्ययन गर्दा पनि आँखा भिजेकै हुन्छ र त्यस्ता किसिमका मर्मस्पर्शी कथा भएका चलचित्रहरू हेर्दा पनि आँखा रुझेकै हुन्छ । यसपटक पनि त्यस्तै भयो । सँगैको सिटमा बसेकी जीवनसँगिनीले समेत थाहा पाउँछिन् कि भनेर मैले रसाएका आँखा समेत पुछिन । आँसुहरू अनुहारको भिरालो भाग हुँदै बग्न दिएँ । क्कानिएको मुटुलाई भने बल गरेर सम्हालेँ । ‘आ’बाट आमा चलचित्र हेर्दा एकनासले आमाप्रतिको आत्मीयताले मनको अन्तरकुन्तरसम्म सुमसुम्याइरह्यो । यस्तै बेला युवाहरूले मुलुकमा बस्न चाहेर पनि बस्न नदिने आततायीहरूप्रतिको आक्रोश पनि आकाशिएर आयो । देशमा सरकारले गर्ने कामको पछि लागेर सहयोग गर्छु भन्दै दलाली गर्नेहरू, मुलुकका नागरिकलाई भन्दा तिनै दलालहरूलाई भर विश्वास गर्ने कर्मचारीहरू, जनताको सेवक हुँ भनेर आफूले चुनावमा गरेको खर्च उठाउने तथाकथित राजनीतिज्ञहरू, मुलुककै ठेक्का लिए जसरी देशलाई आफ्नो दुनो सोझ्याउने र मुलुकलाई बरबाद पार्न खोज्ने ठेकेदारहरू आदिलाई सम्झेर उनीहरूप्रतिको आक्रोश पनि त्यत्तिबेलै उर्लिएर आयो ।

नेपालबाट विदेशिनेहरूका पनि आफ्नै कथाहरू छन् । विशेषगरी विदेशिने युवाहरू र त्यसमा पनि बीसएक्काइस वर्षदेखि पैँतीसचालिस वर्षसम्मका अत्यधिक रहेका छन् । एकाधलाई अपवादको रूपमा छोडेर उनीहरूमध्ये अधिकांशलाई आफ्ना बाबाआमा, आफन्त, घरपरिवार, छरछिमेक र गाउँवस्तीको मायाले तान्दातान्दै पनि बाध्यताले विदेशतिर हानिएका हुन्छन् । मनोवैज्ञानिक हिसाबले पनि यो उमेर भनेको अन्याय, अत्याचार, अकमण्र्यता र ढिलासुस्ती सहन गर्न नसक्ने उमेर हो । तथापि अध्ययन र जागिरको क्रममा मुलुकमा पदमा बसेकाहरूबाट उत्पन्न गरिने अन्याय, अत्याचार र अपमानको पीडा पनि यसै पुस्ताले ब्यहोर्नु परिरहेको देखिन्छ । कुनै काम भएन भने किन भएन ? भन्ने प्रश्नको जवाफ उनीहरूले सन्तोषजनक रूपमा मुलुक चलाउनेहरूबाट नपाइरहेको अवस्था छ । प्रतिभावान युवाहरू आफ्नो क्षमता र प्रतिभाको आधारमा काम खोज्छन् तर यहाँ मुलुकको डाडुपन्यू हातमा लिएका जनप्रतिनिधि र कर्मचारीहरूले जता पनि एबिसिडी (आफ्नो मान्छे, भनसुन, चाकरी र दाम) फर्मूलाको आधारमा मात्र सरकारी अवसरहरूको बाँडफाँट गर्दछन् जुन कुरा युवाहरूलाई मन पर्दैन । त्यसकारण पनि उनीहरू मुलुकमा बस्न चाहेर पनि बाध्यतापूर्वक विदेशिएको अवस्था छ । नेपालमा जागिर खाँदाखाँदै बाध्यताले विदेशिएका नेपाली इन्जिनियरहरूले प्रकाशन गरेको कृति ‘आँगन छोडेपछि’मा उनीहरूले आफ्ना लेखहरूमार्फत विदेशिनु परेका पीडाहरू र विदेश गएर पनि नेपाली हुनुको कारणले भोग्नु परेका सास्तीहरू लेखेर आफ्ना पीडाहरू अभिव्यक्त गरेका छन् ।

‘सक्छौ जागिर नखाऊ,’ भन्ने पुरानो नेपाली उखानले पनि मुलुकको प्रशासनिक अत्याचार र बेथितिको संकेत गर्दछ । लोकसेवा र शिक्षक सेवा आयोगबाट बकाइदा परीक्षा उत्तीर्ण गरेर आएकाहरूलाई समेत जागिर पाउनभन्दा जागिर खान र जागिर जोगाउन सास्ती हुने गर्दछ । किनभने जागिर खाने क्रममा हुने सरुवा, बढुवा, कार्यविभाजन र प्रोत्साहनको सवालमा यत्ति धेरै घाउचोटहरू सहनु पर्छ कि यो सम्झिँदा उसले यो जागिरमा आएकै कारणले हजारचोटी आफैँलाई सराप्नु पर्ने हुन्छ । अहिलेको समयमा शिक्षकहरू त झन् पालिकामा पाइला टेक्नेबित्तिकै दलगत हिसाबले आफ्नो पहिचान नबनाउँदासम्म चाहेको विद्यालयमा पदस्थापन हुन पाउनु भनेको दिवास्वप्नजस्तै हुन्छ । कतिपय शिक्षकहरू त पालिकाले हाजिर नगराएर स्थायी भएदेखि घर न घाटका पनि भएको अवस्था छ । यी सबै दृश्यहरूको मूकदर्शक मात्र होइन कि शिकार समेत हुनु पर्ने अवस्थालाई ध्यानमा राखी मानिसहरू विदेशिन बाध्य भएको अवस्था छ । अहिले त विद्यालयहरूमा ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ भन्दै कक्षामा प्रवेश गर्नुअघि हरेक बिहान विद्यालयको आँगनमा राष्ट्रिय गान गाए पनि कक्षामा अध्यापन हुने कुराहरू भने स्वदेशभन्दा विदेशका मायाले भरिएका भेटिन्छन् । पहिलो कुरा त भाषा नै विदेशी पढ्ने भनेर विद्यालयले प्राथमिकता दिएको छ । निजी अर्थात् संस्थागत विद्यालयहरूले त खुलेआम अङ्ग्रेजीमा अध्यापन गर्ने भनेर विद्यार्थी र अभिभावकहरूलाई आकर्षण गरेका हुन् ।

अब त ‘मै हुँ’ं भन्ने सरकारी विद्यालयहरूले समेत अङ्ग्रेजी भाषाको हवाला दिएर विद्यार्थीहरू तानिरहेको अवस्था छ । नर्सरीमै पढ्दाखेरी पनि आमाले बोल्न सिकाएको भाषा आवश्यक नपरेपछि आमाप्रतिको माया पनि घट्नु अस्वाभाविक हो जस्तो लाग्दैन । जे पढे पनि अङ्ग्रेजीमा पढेपछि गुणस्तरीय हुने हाम्रो चिन्तनले हामी र हाम्रो मुलुकलाई कता लैजान्छ भन्ने कुरा पनि करिब करिब स्पष्ट नै छ । त्यही शिक्षाको लागि बाल्यकालमै हिमाल र पहाडबाट तराई र उपत्यका झरेको बालकले वयस्क र प्रौढ भएपछि हिमाल र पहाडतिर फर्किन्छ भनेर सपना देख्नु पनि व्यर्थ छ । त्यही भएरै नेपालका हिमाली र पहाडी बस्तीहरू क्रमशः रित्तिँदै छन् । देशको बागडोर सम्हाल्ने भनेर चुनावमा होमिएकाहरूसँग समेत बालबालिका र युवाहरूमा घट्दै गएको मुलुकप्रतिको माया र आत्मीयता कसरी बढाउन सकिन्छ र विदेश पयलायनको अवस्थालाई कसरी घटाउन सकिन्छ भन्ने बारेमा कुनै भिजन र एजेण्डा भएको देखिँदैन । शिक्षा भनेको त्यस्तो जल हो जसमा नघोलेसम्म कुनै पनि अमृत र औषधिहरू पनि खान र निल्न सकिँदैन । हामी अरु खानेकुराको बारेमा त बग्रेल्ती बहस र छलफल गर्छौँ तर त्यो खानेकुरा निल्नका लागि आवश्यक पर्ने पानी चाहिन्छ कि चाहिँदैन ? चाहिने भए त्यो पानी कस्तो हुनुपर्छ भन्ने बारेमा हामी कसैको पनि चिन्ता र चासो देखिँदैन ।

चुनावमा प्रधानमन्त्री हुने हवाला दिएर चुनावी मैदानमा होमिएका दल र नेताहरूका कुरा सुन्दा पनि शिक्षाका कुरा छँदैछैनन् भन्दा पनि हुन्छ । कसैले प्राथमिकता नदिएकै कारणले सबैभन्दा गएगुज्रेको जनशक्ति पनि शिक्षातिर लगाउनका लागि सबैतिरबाट हरकतहरू गर्ने, सेवासुविधाहरू पनि छेउमा पारेर दिने र सुशासनका सवालमा समेत शिक्षालाई छेउमा पार्ने प्रचलन र रितिथितिलाई कायमै राख्ने गरिएको छ । यस्तो पाराले मुलुकको समुन्नतिको सपना देख्नु भनेको रगतबिनाको जीवनको परिकल्पना गरेभन्दा फरक हुन्छ जस्तो लाग्दैन । अहिले पनि कतिपय सरकारका जागिर खानेहरू र चुनावमा होमिएका नेता र जनप्रतिनिधिहरूलाई पनि बोध छैन कि कस्तो शिक्षा कसरी दिएपछि हाम्रा विद्यार्थी र युवाहरू हाम्रो मुलुक र हाम्रा लागि असल र कामयावी हुन्छन्् । अधिकांश सम्भ्रान्त वर्गका परिवारहरूले त परीक्षा आउन थालेपछि सन्ततिहरूलाई बिहान छ बजेदेखि बेलुका नौ बजेसम्म विद्यालयकै जिम्मा लगाइदिन्छन् । कतिपयले सधैँका लागि होष्टेलकै जिम्मा लगाइदिन्छन्। बिचरा सन्ततिलाई यसरी पेलिन्छ कि मानौँ उसको मन र विचारले कहिलेकाही स्वतन्त्र र शान्तिपूर्वक निर्वन्ध आकाशमा कावा खान चाहन्छ भन्ने कुरा समेत बिर्सिन्छन् । विद्यालयहरूलाई पनि लाग्छ, कि विद्यार्थीहरू त गोरु हुन् जति चुटे पनि हुन्छ, जति पेले पनि हुन्छ । यस्तो लाग्छ कि उनीहरू सम्वेदनाविहीन प्राणीहरू हुन् जति मन दुखाए पनि कुनै फरक पर्दैन । यस्तै गोलचक्करमा फँसिरहेका विद्यार्थीहरू नै हुन् जसभित्र यो पाराको पढाइले यो मुलुकमा नै नबस्ने गरी अन्तरमनदेखि नै घृणा उत्पन्न गरिरहेको हुन्छ ।

अर्को कुरा, घोक्ने र कण्ठ गर्ने मस्तिष्कको बायाँ भागलाई सक्रिय बनाएपछि प्रेम, माया, दया, करुणा र सिर्जनासम्बन्धी काम गर्नेे दायाँ मस्तिष्कले काम गर्नै पाउँदैन । यही कारणले कतिपय युवाहरू माया र करुणाविहीन पनि हुन पुग्छन् जसलाई अन्ततः आमा र महिला बीचको विभेद पनि बोध नहुने भइसकेको हुन्छ । अहिलेको विद्यालय तहको पाठ्यक्रमले अत्यधिक रूपमा विद्यालयले शिक्षण सिकाइको क्रममा प्रयोगात्मक र परियोजना कार्यको माध्यमबाट शिक्षा र सिकाइलाई व्यावहारिक, बालकेन्द्रित, वैज्ञानिक र जीवनोपयोगी बनाउन प्रयत्न गरेको छ । तथापि यसलाई सत्ताको बागडोर सम्हालेका र सम्हाल्न चाहेका सबै लागेर असफल बनाउने काम भइरहेको अवस्था छ । पाठ्यक्रम बनाउनमा खटे विज्ञहरू । बागडोर सम्हालेकाहरू उपस्थितिमा हाजिर गरेर आफ्ना पार्टी र कार्यकर्ताहरूको भरणपोषणतिर दौडिए । अनि कसरी बुझिन्छ शिक्षा । प्रदेशदेखि स्थानीय तहसम्मका नेता र जनप्रतिनिधिहरूको पनि पारा त्यही छ । शिक्षाका कुरा उठे भने अन्यत्र जरुरी काम प¥यो भन्दै हाजिर गरेर हिँडिहाल्छन् । त्यही भएरै प्रयोगात्मक तरिकाले गर्नु पर्ने र सिक्नु पर्ने कार्यहरू पनि घोँकेर भ्याउने काम भइरहेको छ । प्रयोगात्मक कार्यका लागि कुनै पनि सरकारले सुक्को बजेट नदिने भएकोले पनि विद्यालयहरूलाई पनि घोकाएर भ्याउने बानी परिसकेको छ । यो बानी विद्यार्थीहरूमा पनि सरिसकेको छ अब । उनीहरू पनि प्रयोगशाला र ल्याबमा एक दिन पाइला नटेके पनि शतप्रतिशत प्राप्ताङ्कको दाबी गर्न पछि पर्दैनन् ।

आजका बालबालिकाले गर्ने क्रियाकलापहरूमा भोलिको यो मुलुकको आकृति र अनुहार प्रतिविम्बित भइरहेको हुन्छ । आजका बालबालिकालाई जे गरिन्छ, जे गराइन्छ र जे सिक्छन् र जे सिकाइन्छ, भोलिको देश पनि ठिक त्यस्तै हुन्छ । बालबालिका र उनीहरूको शिक्षा एवम् सिकाइका लागि के गर्दैछन् त सरकारहरू ? के गर्दैछन् त निर्वाचनमा होमिएका नेता र जनप्रतिनिधिका दावेदारहरू ? जवाफमा केही छैन, शिवाय शून्य । अहिले त चुनाव आउन तीनहप्ता जति मात्र बाँकी छ, तथापि एकाधबाहेक कुनै पार्टीका चुनावी घोषणापत्रहरू पनि सार्वजनिक गरिएका छैनन् । घोषणापत्रहरू सार्वजनिक गरिए पनि शिक्षा र बालबालिकाले प्राथमिकता नपाएको अवस्था छ । सार्वजनिक हुनेवाला घोषणापत्रहरूमा पनि शिक्षा र बालबालिकाहरूका निम्ति कुनै कार्यक्रमहरूका निम्ति शब्द खर्च नगरिने कुरा निश्चितप्राय छ । स्थिति यस्तै दोहोरिरह्यो भने मुलुकमा युवाहरूलाई बेच्ने र मुलुकलाई बरबाद गर्ने आततायीहरूको हालमुहाली फेरि पनि कायमै रहने र आमाबाबाहरूले विदेशमा भएका सन्तानहरूलाई सम्झँदै एक्लो मृत्युवरण गर्ने कहालीलाग्दो विडम्बनाले मुलुक क्षतविक्षत हुने क्रम पनि चलिरहनेछ । त्यस्तै आमाबाबाहरूका निम्ति ‘आँ’बाट आमाजस्ता मन र मुटु छुने मर्मस्पर्शी चलचित्रहरू पनि चलचित्र हलहरूमा प्रदर्शन हुने क्रम पनि रोकिनै छैन, बरु हाउसफुलका साथ बढिरहनेछ, बढिरहनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार