बल्झिँदै गएको बहुविवाह र उब्जिएका समस्याहरू



नरेन्द्र देवकोटा ‘प्रशान्त’

पृष्ठभूमिः

विवाह प्रथा परम्पराको इतिहासलाई हेर्ने हो भने लामो कालखण्ड बितेको छ । लामो समयसँगै विवाहका रोचक प्रसङ्गहरू पनि पाइन्छन् । विवाह परम्पराको श्रृंखला हेर्दा पुरुष वर्गले महिलामाथि बल प्रयोग गरेर, बाजी मारेर बाबुआमा तथा अभिभावकमार्फत माग्न पठाएर, मायाप्रितिबाट मन जिती भगाएर एवं मेलापर्वबाट युवतीलाई जबर्जस्त तानेर ल्याई विवाह गरेका प्रथा, परम्परासम्म हामीले सुन्दै, पढ्दै र देख्दै पनि आइरहेका छौँ । महाभारत पर्वमा भिमले बल प्रयोग गरि द्रौपदीलाई विवाह गरेको, रामायणमा रामले धनुष उठाएर सितालाई विवाह गरेको, स्वस्थानी बर्तकथामा महादेवले पार्वतीलाई विवाह गरेको प्रसङ्गदेखि मेलापर्वमा गएको बेला केटाले मन परेकी केटीलाई जबर्जस्त तानी लिएर विवाह गर्ने गरेको प्रथासम्म पनि हामीले सुनेका तथा पढेका छौँ । नेपाली समाजमा बाहुनक्षेत्रीले गर्ने मागी विवाह, नेवारी समाजमा विवाहपूर्व गरिने बेल विवाह, गुफा राख्ने (सूर्यदर्शन विवाह अर्थात् कन्यालाई सूर्यसँग गरिने विवाह तथा तेस्रो लोग्नेमान्छेसँग गरिने विवाहका पनि रोचक प्रसङ्ग रहेका छन् । केटीहरूको रजस्वलाको समयमा पनि केही समुदायमा विवाह गरिन्छ । बाहुनक्षेत्री जातीमा विवाह गर्नुपूर्व ग्रह दोष नलागोस् भनेर रूख वृक्षलगायत कुनै फलफूलका झ्याङ्गसँग समेत विवाह गरिन्छ । नेवारी समुदायमा सूर्यदर्शन गराई विवाह गरे बालिकालाई खराब मानिसको बल र कुदृष्टिबाट सूर्यले बचाउँछन् भन्ने मान्यता पनि रहेको पाइन्छ ।

विवाह खासगरी यौनकार्यको लागि, सन्तति प्राप्तिको लागि, घरपरिवार र सम्पत्तिको रक्षाका लागि, कसैकसैले सम्पत्तिको प्राप्तिको लागि र पुत्र प्राप्तिपश्चात् मोक्ष प्राप्ति र वंश वृद्विको लागि पनि विवाह गर्ने गरेको विभिन्न धार्मिक, सांस्कृतिक तथा कानुनी मान्यताहरू रहँदै आएको पाइन्छ ।
प्रस्तुत लेखमा नेपालमा हुने विवाहबारे संक्षिप्तमा जानकारी गराउँदै विवाहपछि बढ्दै गएका बहुविवाह र बहुविवाहपछि देखिने असर र प्रभावले विभिन्न समस्याहरू उब्जिएर समाजलाई क्षति पुग्न गएकाले कानुनी शर्तबाट र व्यवस्थाबाहेक बहुविवाह गर्न नहुने र बहुविवाह गर्नै पर्ने अवस्था र प्रकृया के के हुन सक्छन् यसबारे प्रष्ट पार्न खोजिएको छ । विवाह जीवनमा एकचोटि गरिने सामाजिक परम्परा हो । सामान्यतः कुनै अविवाहित व्यक्तिले कुनै अविवाहित महिलासँग र अविवाहित महिलाले अविवाहित पुरुषसँग विवाह गर्न सक्दछिन् । विवाहित व्यक्तिसँग विवाहित महिला हुन् चाहे अविवाहित महिलाले जानीजानी विवाह गर्न हुँदैन । यदि कसैले विवाहित पुरुषसँग विवाह गर्दछिन् भने त्यस्तो विवाह बहुविवाह हुन्छ । कानुनले छुट दिएको शर्त र अधिनमा मात्र दोस्रो विवाह गर्न सकिन्छ । हिन्दु धर्मग्रन्थको मान्यतालाई हेर्ने हो भने विवाह गरेका दम्पत्ति जोडीमध्ये पत्नीबाट छोरा जन्मिन नसकेको अवस्थामा पुरुषले दोस्रो विवाह गर्न छुट दिएको छ भने बहुविवाह गर्ने श्रीमान्ले अन्य श्रीमतीहरूलाई भेदभाव गर्न नहुने मान्यतासमेत रहेको देखिन्छ । यसबाट हिन्दु समाज अली बढी छोराको चाहतर्फ उन्मुख भएको जस्तो देखिन्छ । समाजमा पुरुषले मात्र बहुविवाह गर्दछ भन्ने मान्यता रहँदै आएको भए तापनि पुरुष या महिला कसले गर्दछ भन्ने विषयमा द्विविधा रहँदै आएको छ ।

विवाह किन र के का लागि गरिन्छ ? विवाहपछि फेरी बहुविवाह किन गरिन्छ ? बहुविवाह गर्न किन र के का लागि आवश्यक प¥यो ? बहुविवाह पुत्र प्राप्तिका लागि हो कि या यौन कार्यका लागि हो ? घरव्यवहारमा आइपरेका समस्या समाधान गर्न ? या अरु कुनै कारणले ? कुनैबेला घरमा श्रीमती हुँदाहुँदै कसैकी श्रीमती मन परेर मञ्जुरीमा लिएमा जारी विवाह हुन्थ्यो । मुलुकी ऐन २०२० को भाग ४ महल १८ जारीको महलको १ नम्बरमा अर्काकी सधवा (विवाहित) स्वास्नी हो भन्ने कुरा जानीजानी वा सो कुरा थाहा पाउन मनासिव माफिकको कारण भै कसैले त्यस्ती स्वास्नी मानिसको जबर्जस्ती करणी गरेमा जबर्जस्ती करणी ठहर्ने रहेनछ भने जारी गरेको ठहर्छ भन्ने व्यवस्था रहेको थियो । यसैगरी सोहीको २ नम्बरमा जारीको कसुर गरेमा साधुले जारबाट विवाह खर्च भराउन चाहेमा एक हजार रूपैयाँसम्म विवाह खर्च भराउने या कैद गराउन चाहेमा पाँच वर्षसम्म कैद गराउन पाउने व्यवस्था थियो । नालिस परेमा सोबमोजिम गरिदिनुपर्छ भन्ने व्यवस्था पनि रहेको थियो । कैद सजाय हुने डरले बहुविवाह कमै हुने गरेको पाइन्थ्यो । यसैले बहुविवाह आवश्यकता हो कि या बाध्यता आइलागेको हो ? यक्ष प्रश्नको रूपमा रहिआएको पाइन्छ ।
भिसा र वैदेशिक रोजगारीले पनि विवाहबारे मानिसलाई अनेकन कुरा सोच्न सिकाएको पाइन्छ । पछिल्लो समय सामाजिक सञ्जालमा हुने सम्पर्क र परिचयले पनि बहुविवाह गर्न आकर्षण बढेको पाइन्छ ।

यिनै विषयसँगको पेरिफेरिसँग केन्द्रित रहनेछ प्रस्तुत लेख । महाभारतकालमा द्रौपदीले पाँच पाण्डवसँग विवाह गरेकी थिइन् भन्ने कुरा सुन्दै र पढ्दै आएका छौँ । जनश्रुतिअनुसार पाँच पाण्डवका भाइहरूमध्ये माइलो भाइ भिमसेनले आफूले केही कुरा ल्याएको छु भनेर आफ्नी आमालाई सुनाएपछि पाँच पाण्डवकी आमाले जे कुरा ल्याएको भए पनि पाँचै भाइले बाँडेर खानु भनेकीले द्रौपर्दीले पाँच भाइलाई श्रीमान्को रूपमा स्वीकार गर्नु परेको हो भन्ने कुरा सुन्नमा आएको पाइन्छ । यसैगरी कर्णाली अञ्चलको केही जाति विशेषमा (विशेषगरी हिमाली भेग) बहुपति प्रथा कायम रहेको कुरा सुन्दै आएका छौँ । यस्तो जाति विशेषमा खासगरी जति भाइ कि श्रीमती भए पनि सबै भाइले उत्तिकै बराबरी माया गर्ने र छुट्टिएर अलग अलग बस्न नपर्ने, न त भाइहरूबीच विवाद हुने न त बैरभाव हुने । न त सम्पत्ति नै टुक्राटुक्रा र छिन्नभिन्न हुने । अर्कोतिर कुनै भाइ व्यापार वा रोजगारीमा गए पनि कुनै न कुनै भाइ साथमै रही श्रीमती र केटाकेटीको सुरक्षा हुने गर्दछ भन्ने मान्यता रहेको पाइन्छ । पत्नी सुरक्षित रहन गइन् भने थप समस्या आउँदैन भन्ने स्थानीय मानिसको बिचार रहेको पाइन्छ । वर्तमान समयमा यस्तो कुरा सुन्दा आश्चर्य र अनौठो लाग्दछ । यस्ता थरीथरीका मान्यताहरू रहँदै आएकाले पुरुषले मात्रै बहुविवाह गर्दछन् भन्ने मान्यता र सोचलाई चिरिदिएको पाइन्छ । ठोकप्रसाद शिवाकोटी र पुष्कर सापकोटाद्वारा लिखित बालविवाह, बहुविवाह र अप्राकृतिक मैथुन शीर्षकमा ल्भउभिबभिकभ ीभनब िकथकतझः ब वगचष्कउचगमभलतष्ब िबलम अयmउचबतष्खभ ब्उउचबष्कब,ि च्भधबतष्चबव त्चष्उबतजभभ, ँचष्कत भमष्तष्यल २००८. उ.१९५ लाई उद्धृत गर्दै लेख्छन्– परम्परागत मुश्लिम कानुनमा बहुपत्नी प्रथालाई मान्यता दिएको छ, मुश्लिम कानुनमा पुरुषले एकभन्दा बढी श्रीमती राखेको अवस्थामा सबै श्रीमतीहरूसँग समान व्यवहार गर्नुपर्छ । कुनै पनि श्रीमतीप्रति भेदभाव गर्न पाइँदैन भनी महिला तथा बालबालिकाविरुद्व हुने अपराध नियन्त्रण स्रोत सामग्री (प्रकाशक महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ, काठमाडौँ, २०७१) नामक पुस्तकमा उल्लेख रहेको पाइन्छ ।

ठोकप्रसाद शिवाकोटी र पुष्कर साकोटाद्वयले प्रा. माधवप्रसाद आचार्य, फौजदारी कानुनको समीक्षात्मक विवेचना, प्रथम संस्करण २०६३ भदौ, पृष्ठ ५८९ मा उल्लेख भएको कुरालाई उद्धृत गर्दै यसै पुस्तकको पृष्ठ १६५ मा यसरी उल्लेख गर्दछन्– सामान्यतयाः पुरुष र महिला बीचमा यौन सम्पर्क स्थापित भई लोग्नेस्वास्नी सरह बस्नु नै नेपाल कानुनअनुसार विवाह हो भनी उल्लेख गरेको पाइन्छ । हिन्दु धार्मिक मान्यताअनुसार विवाहित आफ्नी श्रीमतीबाट छोरा जन्मिन नसकेको अवस्थामा बहुविवाह गरेर भए पनि छोरा जन्माई काजकिरिया र पितृको उद्दार गर्न खोजेको पाइन्छ । प्रचलित नेपाल कानुनले बहुविवाह गर्न पाउने विषयमा परिकल्पना गरेको देखिँदैन । २०२० साल भदौ १ गतेदेखि प्रारम्भ भएको साविकको ‘मुलुकी ऐन, २०२० को विवाहबारीको महलको ९ नम्बरमा स्वास्नी महारोगी भएमा, स्वास्नीलाई यौनसम्बन्धी कुनै सरुवा रोग भई निको नहुने भएमा, स्वास्नी निको नहुने गरि बौलाएमा विवाह भएको दश वर्षभित्र सन्तान नभएमा, स्वास्नी हिँडडुल गर्न नसक्ने गरि कुँजी भएमा र स्वास्नी दुवै आँखा नदेख्ने गरि अन्धी भएमा बाहेक कुनै लोग्ने मानिसले आफ्नी स्वास्नी जीवित छँदै वा कानुनबमोजिम लोग्ने स्वास्नीको सम्बन्धविच्छेद नहुँदै अर्की स्वास्नी मानिससँग विवाह गर्न वा अर्की स्वास्नी राख्न हुँदैन’ भन्ने व्यवस्थाले बहुविवाहलाई कडाइका साथ रोक लगाएको देखिन्छ । साविकको यसै महलको १० नम्बरमा कसैले यस महलको ९ नम्बरमा लेखिएको कुराको विपरीत अर्को विवाह गरे वा स्वास्नी राखेमा निजलाई सात दिनसम्म कैद वा पचास रूपैयाँसम्म जरिवाना हुन्छ भन्ने व्यवस्थाले बहुविवाहलाई निषेध र दण्डनीय बनाएको देखिन्छ ।

यसैले बहुविवाह महिलामाथि हुने फौजदारी कसुर मानी यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने मान्यता राखी मुलुकी ऐन २०२० ले बहुविवाहलाई कसुर भनी परिभाषित गरी कैद वा जरिवानाको सजाय गरि दण्डनीय बनाएको थियो । वर्तमान कानुनले कसुर र सजाय हुने व्यवस्था मात्र गरेको छैन, त्यस्तो विवाहलाई अदालतले फैसला गर्दाकै अवस्थामा स्वतः बदर हुने समेत व्यवस्था गरेको छ । साविक कानुन मुलुकी ऐन २०२० खारेज गरि मुलुकी अपराधसंहिता २०७४ ल्याई २०७५ भदौ १ गतेबाट कार्यान्वयनमा रहेको देखिन्छ । मुलुकी देवानीसंहिता, २०७४ को दफा ६७ को उपदफा १ मा कुनै पुरुष र महिलाले कुनै उत्सव समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह गरेको मानिनेछ भन्ने व्यवस्था रहेको छ । यस दफाको मनसायलाई हेर्दा कुनै पनि उमेर पुगेका सक्षम पुरुष महिलाले आफ्नो विवाह गोप्य नराखी कुनै न कुनै उत्सव समारोह गरि समाजमा आफ्नो विवाहलाई सार्वजनिक गर्नु पर्नेछ भन्ने मकसद रहेको छ । यसै संहिताको दफा ६९ र सोका विभिन्न उपदफामा रहेका व्यवस्थालाई हेर्दा प्रत्येक व्यक्ति कानुनको अधिनमा रहेर विवाह गर्नुपर्ने, प्रत्येक व्यक्तिलाई परिवार कायम गर्ने र पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने, विवाह जुनसुकै किसिमको भए तापनि त्यस्तो विवाह सार्वजनिक गराउनु पर्ने तथा प्रत्येक व्यक्तिको पारिवारिक जीवनयापन अनतिक्रम्य हुनेछ भनिएको छ । यस दफामा जे जस्तो लेखिएको भए तापनि कानुनको अधिनमा रहनुपर्छ भनिएकोले विवाह गर्ने व्यक्ति सबै कुराले योग्य र सक्षम हुनुपर्ने तथा निजलाई बहुविवाह गर्ने छुट भने कतैबाट देखिँदैन ।

देवानी कानुनमा रहेको यसै परिच्छेदको दफा ७४ को व्यवस्थालाई हेर्दा दफा ६९ को उपदफा २ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरि शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिलाबीच स्वतः विवाह भएको मानिने छ भन्ने व्यवस्था रहेकोमा यदि दुवै पुरुष महिला अविवाहित छन् र विधिवत् विवाह पनि गरेका छैनन् भने त्यस्तो अवस्थामा उनीहरूको गर्भबाट बच्चा जन्मेको खण्डमा दुवै पक्षमध्ये पुरुषले आफ्नो गर्भ हो भनी स्वीकारेको अवस्थामा वा गर्भ रहेको कुरा प्रमाणित भएमा विवाह भएको मानिने हो । तर पुरुषले विवाहित महिला घरमा छँदाछँदै अदालतलाई छलेर विवाह गरेको कुरा खुल्न आएमा यस्तो विवाह मान्य हुने अवस्था भने रहँदैन । यस दफामा रहेको व्यवस्थाले कसैले नाजायज फाइदा लिनसक्ने सम्भावना र कानुनी छिद्र रहन गएको हो कि भनेर अड्कल गर्न सकिन्छ ।

मुलुकी अपराधसंहिता, २०७४ मा बहुविवाह नियन्त्रण गर्न गरिएको व्यवस्थाः

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ मा विवाहसम्बन्धी कसुर भनी दफा १७१ देखि १७६ सम्म विभिन्न प्रावधान राखी बहुविवाहलाई एक फौजदारी कसुर भन्दै दण्डनीय र बदरयोग्य बनाएको पाइन्छ । यस परिच्छेदमा बहुविवाहलाई सरकारवादी फौजदारी कसुर मानी दण्ड र सजायको व्यवस्था गरिएको छ । यसबाहेक यस परिच्छेदमा मञ्जुरीबिना विवाह गरेमा, हाडनातामा विवाह गरेमा, बालविवाह गरेमा, कानुनविपरीत लेनदेन गरि विवाह गरेमा पनि यस्तो विवाह फौजदारी कसुर भई सजायको व्यवस्था गरेको पाइन्छ । यसैगरी कसैले बहुविवाहसमेत गरी मुद्दा दायर गरेमा यसलाई नियन्त्रण गर्न दण्डनीय गर्न र बदरयोग्य बनाउन उजुर दिनको लागि तीन महिनाको समय तोकी हदम्यादको समेत व्यवस्था गरिएको छ ।

बहुविवाहसम्बन्धी विदेशी मुलुकका कानुनमा भएका व्यवस्थाः

बहुविवाहसम्बन्धी केही देश बेलायत, अमेरिका र भारतमा आ–आफ्नै कानुन र कार्यविधिगत व्यवस्थाहरू रहेका छन् । ‘बेलायतमा प्रारम्भमा बहुविवाहलाई सामान्य अपराध मानिन्थ्यो । सन् १६०३ मा बहुविवाहलाई कानुनद्वारा ऋबउष्तब िँभयिलन (गम्भीर अपराध) बनाइयो । अहिले यस विवाहलाई इााष्भलअभ या तजभ उभचकयल बअत, १८६१ को दफा ५६ ले ७ वर्षसम्म कैद हुनसक्ने कसुर मानेको छ’ भनी व्यक्तिविरुद्वको अपराध ऐन, १८६१ को दफा ५६ लाई उद्धृत गर्दै महिला तथा बालबालिकाविरुद्व हुने अपराध नियन्त्रण, प्रकाशक महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ, काठमाडौँ, २०७१ मा ठोकप्रसाद शिवाकोटी र पुष्कर साकोटा द्वयद्वारा संयुक्तरूपमा लिखित बालविवाह, बहुविवाह र अप्राकृतिक मैथुन पृष्ठ १६६ मा उल्लेख भएको पाइन्छ । केही शर्तलाई भने बेलायती कानुनले दण्डनीय बनाएको देखिँदैन । यसै लेखमा यसै पुस्तकको पृष्ठ १६६ मै उपयुक्त विद्वान्द्वय शिवाकोटी र सापकोटा थपेर लेख्छन्– बेलायतभित्र र बाहिर जहाँसुकै गरेको भए पनि बहुविवाहमा कारबाही हुने बहिक्र्षेत्रीय अधिकार रहेको पाइन्छ । केही तल लेखिएका शर्तमा बहुविवाहमा सजाय हुँदैन – गैरब्रिटिस नागरिकले विदेशमा गरेको दोस्रो विवाह, लोग्ने वा स्वास्नी ७ वर्षदेखि बेपत्ता भएका अवस्थामा भएको दोस्रो विवाह, सम्बन्धविच्छेदपछि भएको दोस्रो विवाह र अदालतको फैसलाले अघिल्लो विवाह बदर गरेको कारण भएको दोस्रो विवाह ।

अरु देशमा विवाह गरिसकेको व्यक्तिले कानुनबमोजिम सम्बन्धविच्छेद नगरी अमेरिकामा दोस्रो विवाह गर्न पाउँदैन भने अमेरिकी नागरिकले पनि अर्को देशमा गएर बहुविवाह गर्न पाउँदैन । …. पहिलो पति वा पत्नीको मृत्यु भइसकेको भरपर्दो आधारमा विवाह गरिन्छ भने त्यस्तो विवाहलाई कानुनविपरीतको बहुविवाह नमानिने र सजाय नगरिने व्यवस्था छ भनिएको छ । भारतीय कानुनले भारतमा बहुविवाहलाई दण्डनीय अपराधको रूपमा स्वीकार गरि ७ वर्षसम्म कैद र जरिवाना हुनसक्ने व्यवस्था रहेको छ । लोग्ने वा स्वास्नीले आफ्नो पति वा पत्नी जीवित छँदै अर्को पति वा पत्नी ग्रहण गरेमा त्यस्तो विवाह बदर हुने समेत भारतमा मुश्लिम समुदायलाई लागू हुने मुश्लिम कानुनबाहेक भारतीय विवाहसम्बन्धी कानुनले बहुविवाहलाई प्रतिबन्ध लगाएको छ भने बहुविवाह भएको रहेछ भने त्यस्तो विवाह (ख्यष्म) हुने व्यवस्थासमेत रहेको छ भनी लेखकद्वयद्वारा सोही लेखमा सोही पुस्तकको पृष्ठ १६६ र १६७ मा उल्लेख गरिएको छ ।

मुलुकी अपराधसंहिता, २०७४ मा भएको बहुविवाहसम्बन्धी व्यवस्थाः

मुलुकी अपराधसंहिता, २०७४ को दफा १७५ को उपदफा १ मा विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नुहुँदैन भनिएको छ । यसैगरी कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन भन्ने समेत व्यवस्था रहेको छ । बहुविवाहसम्बन्धी माथि जुनसुकै व्यवस्था रहे पनि पति पत्नीले कानुनबमोजिम अंशवण्डा गरि भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । यसरी बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना हुनेछ र यस्तो विवाह स्वतः बदर हुनेछ भन्ने समेत व्यवस्था गरिएको छ । माथि दोस्रो वा बहुविवाह गर्नुहुँदैन भनिए तापनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानुनी व्यवस्थाबमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन भन्ने समेत व्यवस्था रहेको छ । यस परिच्छेदमा भएको कानुनी व्यवस्थाको कसैले उल्लंघन गरेमा उजुरी गर्न पाउने हक, हदम्याद समेतको व्यवस्था गरिएको छ । यस संहिताको यस परिच्छेद ११ अन्तर्गतको कसुरमा कसुर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्नेछैन भनी हदम्यादमा तीन महिना अवधिको व्यवस्था गरिएको छ ।

समस्याः

कानुनमा दोस्रो श्रीमती विवाह गर्नुहुँदैन या जेठी श्रीमती छ भन्ने थाहा हुँदै पनि दोस्रो विवाह हुने गरेको र दोस्रो श्रीमतीबाट जन्मेका केटाकेटीको कानुनी हैसियतमा भविष्यमा समस्या हुने देखिन्छ । अदालतबाट फैसला हुँदा दोस्रो विवाह गर्ने आमाबाबुको श्रीमान्श्रीमतीको सम्बन्ध कायम नरहने र दोस्रो विवाह गर्ने पुरुष महिलाको विवाह स्वतः बदर हुने व्यवस्था छ । यस परिच्छेदमा नयाँ जन्मेको बच्चाको हकमा लालनपालन, शिक्षादीक्षा के कसरी हुने भन्ने कुराबारे यस संहितामा स्पष्ट उल्लेख गरिएको छैन । प्रस्तुत संहिता २०७५ भदौ १ गतेबाट कार्यान्वयन हुन सुरु भएको र तत्पश्चात् जन्मेका बालबालिकाले आफ्नो अधिकारको खोजी गर्दा समस्याहरू थुप्रै देखिँदै जानेछन् । बच्चाको मातृत्व र पितृत्वको अधिकार, पहिचानको अधिकार नितान्त मौलिक हकको विषय भएको र अर्कोतिर यो विषय देवानी प्रकृतिको भएकोले हाल देवानीसंहिता २०७४ आकर्षित गर्दै समाधान गरिँदै आए तापनि दिर्घकालीनरूपमा भने समस्या रहिरहेको देखिन्छ । यसैगरी दोस्रो विवाह हुनगएमा पहिलेका आमाबाबुबाट जन्मेका बालबालिकाले उचित मायाप्रेम शिक्षादीक्षारेखदेख र सम्भार कम हुने, आपसमा मायाप्रेमको अभाव हुने, झैझगडा र विवाद बढ्दै कुनै पनि बेला त्यस्ता विवादले अपराधको रुप लिनसक्ने हुन्छ । सम्वन्धविच्छेद भैसकेका जेठी र कान्छी पत्नीले उसै लोग्नेसँग विवाह दर्ता नगराई पुनः विवाह गरी बहुविवाह गरेको भन्ने समेतका उजुरीहरू समेत पर्ने गरेको देखिन्छ ।

समाधानः

माथि उल्लेखित समस्याको दीर्घकालीन असर नपर्ने गरि आवश्यकताअनुसार कानुन संशोधन गर्नसके यस कानुनी व्यवस्थाको प्रभावकारिता बढ्ने देखिन्छ । यसैगरी पहिले नै विवाहित श्रीमान्श्रीमतीले आपसमा मायाप्रेम, त्याग, शालिनता, भद्रता देखाउन सकेमा दोस्रो वा बहुविवाहको अवस्था नआउने देखिन्छ ।

निष्कर्षः

जुनसुकै विवाहित पतिपत्नीबीच सानासाना कुरामा अनावश्यक विवाद नगरी, आपसमा मेलमिलाप गरी बस्नसके, एकअर्काको इज्जत प्रतिष्ठाको सम्मान गर्नसके, एकअर्काकको काममा महत्व दिनसके विवाहित पतिपत्नीबीच विवाद नबढ्ने र बहुविवाह नभई न्यूनीकरण हुने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २६ गते सोमबार