बर्दिया ।
बर्दियामा बिहीबार एकैदिन चितुवा र पाटेबाघको आक्रमणबाट दुईजनाको ज्यान गएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन् । जिल्लामा वन्यजन्तुको आक्रमण रोक्न माग गर्दै त्यहाँका स्थानीयहरूले विरोध प्रदर्शन गरेका हुन् । शुक्रबार दिउँसो गुलरियाका नगरपालिकाका स्थानीयहरूले विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा घेराउ गरेका थिए ।
बर्दियामा वन्यजन्तुका कारण मानिसहरूले अकालमा ज्यान गुमाइरहेको भन्दै वन्यजन्तुको आक्रमण रोक्नुपर्ने उनीहरूको माग छ । सयौको सङ्ख्यामा जिल्ला प्रशासन कार्यालयमा पुगेका स्थानीयहरूले अकालमा मानिसहरूले मृत्युवरण गरिरहेको भन्दै वन्यजन्तुको व्यवस्थापन र मानिस र बस्तीको सुरक्षा गर्नुपर्ने भन्दै नाराबाजीसमेत रहेका थिए । जिल्ला प्रशासन कार्यालय मानिसहरूको धेरै भीड लागेपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपर्ने अवस्था आएको थियो ।
प्रहरीले जिल्ला प्रशासन कार्यालय प्रवेश गर्न नदिएपछि स्थानीयहरू टोका नाघेरै कार्यालय परिसरभित्र छिरेका थिए । स्थानीयको हुलले आफै ढोका खोलेर भित्र पसेपछि स्थिति केहीसमय अनियन्त्रित भएको थियो । स्थानीयहरूले ‘सुरक्षा विना संरक्षण मान्य छैन,प्रशासन सुतिरहदा जनता मरिरहेका छन्, बाघ हामीलाई चाहिदैन । मान्छे मार्न पाईदैन,हामी निकास चाहन्छौँ मृत्यु होइन ।’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
स्थानीय खुमेश सुवेदीले बर्दियामा वन्यजन्तुको आक्रमण र आतंक बढ्दै गएका कारण नागरिकहरू सडकमै उत्रिएका हुन् । उनका अनुसार हरेक हप्ता जस्तो बर्दियाका विभिन्न क्षेत्रमा नागरिकहरूले ज्यान गुमाइरहेका छन् । ‘बाघले मच्चाइरहेको आतंक हाम्राक लागि निकै दुःखद् छ । यसको दीर्घकालीन समाधानको विकल्प छैन । यसमा समयमै राज्य गम्भीर हुनुपर्ने देखिन्छ । हाम्रो मागपनि त्यही हो,’ उनले भने ।
अर्का स्थानीय ज्योति पन्थी वन्यजन्तुको आक्रमणविरुद्ध जनतामा सडकमा उत्रिएको बताउँछन् । उनका अनुसार नागरिकको ज्यानको सुरक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने स्थानीयले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एसपी सरोज पौडेलले बिहीबार वन्यजन्तुका कारण दुईजनाको ज्यान गएपछि शुक्रबार स्थानीयहरूले स्वतस्फुर्तमा प्रदर्शनमा उत्रिएको बताए ।
उनका अनुसार मानिसहरूको ठूलो हुल जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रवेश गरेको थियो । उनीहरूले आफूहरूले बाघ तुरुन्त मार्न पाउनुपर्ने माग राखेको एसपी पौडेलको भनाइ छ । ‘पीडित परिवारसँग हामी सम्पर्कमै छौँ । उहाँहरूलाई न्याय दिने काम भइरहेको छ । धेरै सङ्ख्यामा आज प्रदर्शन भयो । उहाँहरूलाई सम्झाई बुझाई गरेर पठाएका छौँ,’ पौडेलले मिसन टुडे दैनिकसँग भने ।
जिल्ला प्रशासन र सुरक्षा निकायको तर्फबाट हुन सक्ने पहल र प्रयास गर्ने सहमतिपछि आन्दोलन फिर्ता भएको उनले बताए । वन्यजन्तु नियन्त्रणका लागि डिभिजन वन कार्यालयसँगको सहकार्यमा मोबाइल टोली खटाइएको एपसी पौडेलले बताए । डिभिजन वन कार्यालय बर्दियाका अनुसार पाटेबाघको आक्रमणबाट मधुवन– १३ की ४९ वर्षीया मैसरा डाँगी र गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायाको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
मृतक डाँगी आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्किएको पाटेबाघले आक्रमण गरेको थियो भने रोकाया बारबर्दिया नगरपालिका वडा नम्बर ११ बेलभारस्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको हो । चालू आर्थिक वर्षको साउनयता वन्यजन्तुको आक्रमणबाट बर्दियामा १० जनाको ज्यान गएको छ ।









प्रतिक्रिया दिनुहोस्