अहिले सामाजिक सञ्जालमा चुनाव सम्बन्धि बहस केही अंशमा छ भने त्यो नयाँ वनाम पुरानाको भाष्यमा सीमित जस्तो देखिन्छ । तर, हेटस्पीचका रूपमा शब्दहरूको भरमार प्रयोग भइरहेको छ । अहिले सामाजिक सञ्जालमा प्रयोग भइरहेका यस्ता हेटस्पीच जनाउने शब्दहरूमा झोले, अमेरिकी दलाल, देश जलाउने, युवा मार्ने, लुसिफर, गजेडी, हत्यारा, विदेशी दलाल, ठग जस्ता शब्दहरू मुख्य छन् । यी शब्दहरूको प्रयोग गरी एक पक्षले अर्काे पक्षलाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको देखिएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
चलचित्र निर्देशक तथा अभिनेता दीपक आचार्य काकुले केही दिनअघि कवि मोहन संग्रामको एउटा कविता फेसबुकमा शेयर गरे । देशको सीमा मिचिएको सम्बन्धमा करिब सात वर्षअघि संग्रामले लेखेको उक्त कविता फेसबुकमा शेयर गरेपछि कमेन्टमा आचार्यलाई गालीको वर्षा हुन थाल्यो । त्यसपछि उनी उक्त कविता हटाउन बाध्य भए र अर्काे स्टाटसमा लेखे, ‘एउटा कविता राम्रो लागेर सेयर गरँे, कमेन्टमा पार्टीको झोले भन्ने कमेन्टहरू आए । इन्बक्समा समेत मेसेज आउन थाल्यो ।
पछि त्यो कविता वाला प्रोफाइल हेर्दा उहाँले कुनै पार्टीको समर्थनमा आफ्ना विचारहरू राख्नुभएको रहेछ । मैले त्यो कविता आफ्नो वालबाट हटाएँ । एकछिन पछि सोचेँ, यो समाज कता जाँदैछ? मैले कुनै कविता मन पराउनु पहिले उनी कुन पार्टीका हुन् बुझेर मात्र मन पराउनु पर्ने भयो।’ खासमा काकुलाई गाली गर्नुको कारण कविताको भाव वा शब्दमाथि असहमति नभै उक्त कविता लेख्ने व्यक्ति एमालेका सक्रिय सदस्य रहेका र फेसबुकमा एमालेको पक्षमा विचार र सामग्रीहरू सम्प्रेषण गर्दै आउनु कारण थियो ।
कलाकार स्मारिका ढकालले एमालेको प्रचारात्मक एउटा गीतमा अभिनय गरेपछि गीत रिलिज नहुँदै आत्तिएर फेसबुकमा आएर गीतमा अभिनय गरेकोमा माफी मागिन् । उनले आत्तिदै भिडियोमा भनेकी छन्, ‘म त्यो होइन पनि । मैले भोट हाल्न पनि मिल्दैन । उहाँहरू अर्कैतिरबाट उठेको हो । म कुनै पार्टीको पनि होइन । कुनै टिमको पनि होइन । मलाई माफ गर्दिनुहोला । गल्ती गरिहालेँ । मैले जानीजानी होइन (बीचमै रोकिँदै) जानीजानी हो, तर के भन्नु.. होइन ।’
यी दुईजना कलाकारको मनस्थिति बुझ्न पहिला सामाजिक सञ्जालहरूमा अहिले चलिरहेको हेटस्पीचलाई बुझ्न जरुरी छ । अहिले सामाजिक सञ्जालमा चुनाव सम्बन्धि बहस केही अंशमा छ भने त्यो नयाँ वनाम पुरानाको भाष्यमा सीमित जस्तो देखिन्छ । तर, हेटस्पीचका रूपमा शब्दहरूको भरमार प्रयोग भइरहेको छ । अहिले सामाजिक सञ्जालमा प्रयोग भइरहेका यस्ता हेटस्पीच जनाउने शब्दहरूमा झोले, अमेरिकी दलाल, देश जलाउने, युवा मार्ने, लुसिफर, गजेडी, हत्यारा, विदेशी दलाल, ठग जस्ता शब्दहरू मुख्य छन् ।
यी शब्दहरूको प्रयोग गरी एक पक्षले अर्काे पक्षलाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको देखिएको छ । यस्ता कतिपय शब्दको प्रयोग पत्रकारितामूलक सञ्चारमाध्यमबाटसमेत सुरुवात भएका थिए भने कतिपय शब्दहरू जेन जी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई होच्याउन प्रयोग गर्न थालेका थिए । यस विषयमा केही नागरिक अगुवा तथा राजनीतिकर्मीहरूले मुख खोल्न पनि थालेका छन् ।
लेखक तथा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले आफूले सामाजिक सञ्जालमा चुनाव सम्पन्न नहुन्जेलसम्म चुनावी प्रतिस्पर्धीहरू तथा उनीहरूका ‘अन्धभक्त’हरूलाई अनफ्रेन्ड गर्ने बताएका छन् । त्यससम्बन्धमा उनले भनेका छन्, ‘विशेषगरी सामाजिक सञ्जालमा उत्तेजना फैलाएर आवेगलाई मतमा रूपान्तरण गर्न खोज्ने मुर्ख र आवेगी युवाहरू मेरा सञ्जाल मित्र बन्नबाट रोकिनेछन् ।’
जेन जी आन्दोलनकी अगुवा रक्षा बमले पनि अहिले सामाजिक सञ्जालमा भइरहेको घृणाष्पद अभिव्यक्तिको प्रतिस्पर्धालाई लिएर चिन्ता व्यक्त गरेकी छन् । चुनावको सामुन्नेमा राजनीतिक दलका नीति र सिद्धान्तमाथि, राजनीतिक दलहरूले दिने निकासका तरिकामाथि बहस गर्नुपर्नेमा अहिले सामाजिक सञ्जालमा देखिने टिप्पणीहरू एकदमै व्यक्तिवादी भइरहेका उनले बताएकी छन् ।
आफूहरूको लडाई कुनै व्यक्तिविरुद्धको लडाइँ नभै गलत प्रवृत्तिविरुद्धको भएको बताउँदै उनले भनेकी छन्, ‘अहिले सामाजिक सञ्जालमा देखिएका नयाँ वनाम पुराना ट्रोल ह्यारासमेन्टले हाम्रो सिङ्गो समाजको सामाजिक सद्भाव पनि खल्बल्याइरहेको छ । यसले लोकतन्त्रलाई फुल्न दिदैन । साथीहरू, मानिस राजनीतिक प्राणी हो र उसको आबद्धता कुनै राजनीतिक दलमा हुनु गलत होइन । साथै, उसको जीवनमा राजनीतिभन्दा बाहेक पनि अरू धेरै कुराहरू हुन्छन् भन्ने सामान्य चेतना हामीमा पनि हुनुपर्छ ।’
नेपाली काँग्रेसका सभापति गगन थापाले पनि पत्रकार बसन्त बस्नेतसँगको एउटा अन्तर्वातामा अहिले सामाजिक सञ्जालमा बढिरहेको हेट स्पीचको सन्दर्भमा चिन्ता व्यक्त गरेका छन् । लोकतन्त्रमा प्रश्न महत्वपूर्ण हुने बताउँदै थापाले उक्त अन्तर्वातमा भनेका छन्, ‘कसैले कुनै प्रश्न गर्याे भने एकाउन्ट खोलेर हेर्दा हजार जना मान्छेले उसको बारेमा कमेन्ट गरेको हुन्छ । उसको तीन पुस्ता खोलेर निकालेको हुन्छ । तँ झोले होस् भन्देको हुन्छ । उसको बाको बारेमा, उसको नाताको बारेमा, उसको कामको बारेमा गरेको हुन्छ । उसले अर्काे दिन के गर्छ, उ चुपचाप त्यहाँबाट भाग्छ । यसले प्रश्न गर्न छोड्छ ।’
कुनै नेता वा दलको समर्थक र सुभेच्छुक हुँ भनेर समाजिक सञ्जालमा देखाउन पनि मानिसहरू डराइरहेका थापाको भनाइ छ । उनले हेटस्पीचको प्रभाव पत्रकारितामूलक सञ्चारमाध्यममा पनि परेको र आलोचना गर्न डराइरहेको स्थिति देखिएको बताएका छन् । थापाले भनेका छन्, ‘डेमोक्रेसी भनेको यस्तो होइन नि त । प्रश्न गर्नै डराउनुपर्ने, भ्युज राख्नै डराउनुपर्ने । त्यसको प्रभाव अदालतमा पनि पर्ने होला अलि पछाडि । त्यसको प्रभाव संवैधानिक संस्थाहरूमा पउिन पर्ने होला ।’
उनले अहिलेको प्रवृत्तिले राजनीतिक नेतृत्वहरूमा सुचित बहसभन्दा पनि सामाजिक सञ्जालमा एजेन्सीहरूमार्फत विपक्षीहरूलाई कसरी तर्साउने भन्ने रणनीति बनाउनेतर्फ ध्यान जाने जोखिम रहेको बताए । आफूकहाँ पनि विभिन्न एजेन्सीहरूले सामाजिक सञ्जालमार्फत मतदातालाई मुर्ख बनाउने विभिन्न स्कीम लिएर आउने गरेका बताउँदै थापाले सामाजिक सञ्जाललाई स्वस्थ बहसको माध्यमको रूपमा भन्दा पनि एकअर्कालाई तर्साउने माध्यमका रूपमा प्रयोग भइरहेको बताएका छन् ।
लेखक पिटर पनि अहिले सम्पादक र प्रकाशकहरू पनि शक्तिशालीहरूको आवाज बन्न बाध्य भइरहेको बताउँछन् । उनी भन्छन्, ‘नागरिकलाई भीडमा बदल्ने कि भीडलाई विवेकशील नागरिक मा फर्काउने ? आजको मिडिया, कन्टेन्ट क्रिएटर र बौद्धिक जगतसामु खडा भएको सबैभन्दा ठूलो चुनौती यही हो ।’ प्रेस स्वतन्त्रताख सेनानी लियाकत अलि पनि अहिले मानिसहरू सत्य बोल्न डराइरहेको स्वीकार्छन् ।
उनले केही व्यक्तिहरू सबै डरबाट मुक्त भएर बोलिरहेपनि आमरूपमा सत्य बोल्न डराइरहेको स्थिति रहेको बताए । यस्तो स्थिति आउनुमा दण्डहिनता मुख्य कारण रहेको उनको बुझाइ छ । ‘यति ठूलो विध्वंश र नरसंहार भयो । त्यसमा कसैलाई कारबाही भएको थाहा पाइएन । यसले मानिसहरूमा डरको स्थिति बढनाउँछ । नेपालगन्जजस्तो ठाउँमा सीमापार सुरक्षा चुनौति पनि उत्तिकै छन् । बोलेकै कारण भौतिक आक्रमण नहोला भन्न सकिन्न,’ अलिले भने ।
विगतका निर्वाचनमा पनि सामाजिक सञ्जालमा हेटस्पीचको प्रयोग भएको विभिन्न अध्ययनहरूले देखाएका छन् । अमेरिका, अष्ट्रेलिया, भारत र नेपालका विश्वविद्यालयमा आबद्ध प्राध्यापकहरूले अघिल्लो स्थानीय निर्वाचनमा सामाजिक सञ्जाल ट्विटमा भएका हेटस्पीचबारे अध्ययन गरी सन् २०२३ मा डाटासेटसहितको प्रतिवेदन प्रकाशित गरेका थिए ।
उक्त अध्ययनमा चुनावको एक महिनामा गरिएका १३ हजार पाँच सय पाँच वटा ट्विटहरू अध्ययन गरिएको थियो । जसमध्ये एक हजार ८ सय ८८ अर्थात १३ प्रतिशत ट्विटहरू हेटस्पीचको कोटीमा दर्ज भएका थिए । हेट स्पिचको कोटीमा परेका ट्विटहरूमध्ये ४९ प्रतिशत ट्विटहरू व्यक्तिलक्षित थिए भने ४१ प्रतिशत संगठन र ९ प्रतिशत ट्विटहरू समुदाय लक्षित गरिएका थिए ।
सेन्टर फर मिडिया रिसर्च–नेपालको २०२१ को सर्वेक्षणमा सहभागीमध्ये ९२ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले सामाजिक सञ्जालबाट पाउने सुचनाहरू मिथ्या सूचना हुने गरेका बताएका थिए । पछिल्लो तथ्यांकअनुसार नेपालमा एक करोड ४८ लाख मानिसहरू सामाजिक सञ्जाल प्रयोगकर्ता छन् । जुन कुल जनसङ्ख्याको आधाभन्दा बढी हुन आउँछ ।
‘एल्गोरिदमले मुर्ख बनाइरहेको छ’
सामाजिक सञ्जालमा तपाईँले जुन विषय वा प्रकृतिको सामग्री बढी समय हेर्नुहुन्छ, त्यस्तै सामग्रीहरू आफैँ दोहोरिएर आइरहेको हुन्छन् । यो सामाजिक सञ्जालको एउटा प्रणाली ‘एल्गोरिदम’का कारण हुने आइटी इन्जिनियर अरशद कमाल बताउँछन् । उनका अनुसार सामाजिक सञ्जालमा प्रयोगकर्ताको रुचीअनुसारका सामग्रीहरू आफैँ खोजेर देखाउने प्रणालीलाई ‘एल्गोरिदम’ भनिन्छ ।
उनले भने, ‘यदि तपाईँले कुनै दलसम्बन्धिको भिडियो अलि समय दिएर हेर्नुभयो वा दाहोर्याएर हेर्नुभयो भने सिस्टमले तपार्ईँले त्यस्तै भिडियो मन पराउनुहुन्छ भन्ने इनपुट लिन्छ । त्यसपछि त्यस्तै खालका सामग्रीहरू तपाईंले नखोजेको अवस्थामा पनि स्कृनमा बढी देखिन थाल्छन् ।’ अरशदका अनुसार एलगोरिदम प्रयोगकर्ताको रुचीका सामग्रीहरू देखाउनका लागि बनाइएको सिस्टम भएपनि राजनीतिमा यसले एउटै खालको विचारको घेरामा राख्ने जोखिम बढाउँछ । उनले भने, ‘सञ्जालमा अरु खालका सामग्री नआउने भन्ने नै त हुँदैन । तर करिब ६० प्रतिशत सामग्रीहरू एकै खालको हुने जोखिम हुन्छ । यसले एउटै खालको राजनीतिक विचारको घेरामा पर्नसक्ने जोखिम हुन्छ ।’
नेपाली काँग्रेसका सभापति गगन थापा यसले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई राजनीतिमा सचेत भन्दा पनि मुर्ख बनाइरहेको बताउँछन् । उनले एल्गोरिदमले सामाजिक सञ्जाल प्रयोगकर्तालाई एउटै इकोच्यम्बरमा राखेर मुर्ख बनाइरहेको बताएका छन् । ‘एकदमै स्मार्ट हो भन्ने लागिराछ, तर मुर्ख भइरहेका छौँ हामी । कोठाभित्र बसेर तपाईँलाई जे सुनाउन चाहेको हो त्यो मात्रै सुनाइराखिएको छ । तपाईँले सुन्नुपर्ने हो त्यो खोजिराख्नुभएकै छैन ।’
अमेरिका लगायतका देशमा भएका निर्वाचनमा सामाजिक सञ्जालको एलगोरिदमको प्रभावबारे भएका विभिन्न अध्ययनहरूले पनि यसले चुनावमा नाकारात्मक प्रभावहरू पारेको देखाएका छन् । अमेरिकामा भएका निर्वाचनहरूमा एल्गोरिदमहरूले राजनीति ध्रुवीकरण बढाएको, राजनीतिक समाचारहरूमा वैचारिक विभाजन बढाएको, एउटै खालका विचारमा आधारित सामग्रीको घेरामा रहने इकोच्याम्बर बनाएको र गलत जानकारी फैलाएको अध्ययनहरूले देखाएका छन् । यस्तै युरोपेली चुनावमा पनि फेसबुक, इन्स्टाग्राम र टिकटकमा एल्गोरिदमहरूले अतिवादी आवाजहरूलाई बढी एंगेजमेन्ट दिएको देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्