बाजुरा ।
हुम्ला क्षेत्रका बासिन्दाले बाजुराको हिमाली गाउँपालिका–३ स्थित रानीसैन क्षेत्रबाट भोटे समुदायलाई धपाउनुका साथै गोठमा आगजनी गरेको पाइएको छ ।रानीसैननजिकै लाम्पाटा क्षेत्रमा दुई हप्ताअगाडि भएको कुटपिट तथा दुव्र्यवहारको घटना साम्य नहुँदै पुनः रानीसैन क्षेत्रमा तनाव बढेको छ । स्थानीय भोटे समुदायका अनुसार पछिल्लो घटनामा हुम्ला पक्षबाट आएका व्यक्तिहरूले रानीसैन क्षेत्रमा अस्थायी रूपमा भेडा चराउन बसोबास गर्दै आएका बाजुराका भोटे समुदायलाई लखेट्नुका साथै उनीहरूका भेडीगोठ आगजनी गरेका छन् ।
भोटे जनजाति महासंघ केन्द्रीय अध्यक्ष जनक भण्डारीले रानिसैनमा भोटे समुदायले प्रयोग गर्दै आएका मोबाइल फोनसमेत खोसेर लगिदिने गरेको बताए । जनजाति समुदायका ३५ बढी परिवार रानिसैनमा परिवार र भेडा, घोडासहित लगेर पुगेका थिए । हुम्लाबाट आएका स्थानीयले यो हुम्लाको क्षेत्र भन्दै उनीहरूलाई त्यो ठाउँबाट धपाएका छन् । उनीहरूलाई रानिसैन तालबाट आएको खोलाभन्दा पारि धपाएका छन् ।
उनीहरूलाई रानिसैनबाट लखट्नुका साथै भेडीगोठमा आगजनीसमेत गरेका छन् । अस्थायी रूपमा बसोबासका लागि प्रयोग गर्दै आएका अस्थायी वासस्थान जलाउनुका साथै अमानवीय व्यवहार गर्ने गरेर ठाउँ छोड्न लगाएको स्थानीयले बताएका छन् । भेडीखर्कमा लगिएको खानेकुरा तथा भाँडाकुडासमेत जलेर नष्ट गरिदिएको भोटे जनजाति महासंघले जनाएको छ । सामाजिक सञ्जालमा आएका भिडिओ भेडिगोठ जलाएको प्रष्ट देखिन्छ ।
रानीसैन पुगेको हुम्ला प्रहरीको अगाडि हुम्लाका एक स्थानीयले रानीसैन हुम्लाको रहेको बाजुराका जनजातिलाई यहाँबाट धपाएको भनेको भिडिओसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुव्र्यवहार भएको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा कैलालीको धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसहितको टोलीमाथि आक्रमण गरिएको थियो ।
घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य पेमागारा गुरुङलगायत स्थानियलाइ कुटपिट गरेर बन्धक बनाएको थियो ।
पछिल्लो घटनाले रानीसैन क्षेत्रको विवाद झन् जटिल बन्दै गएको स्थानीयको भनाइ छ ।
भोटे समुदायका व्यक्तिहरूले आफूहरू असुरक्षित बनेको गुनासो गर्दै तत्काल सुरक्षा व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन् । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी आगजनी, कुटपिट तथा लुटपाटमा संलग्नलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, अन्तरजिल्ला सीमा तथा स्वामित्वसँग जोडिएका विवादलाई वार्ता र समन्वयमार्फत समाधान गर्न सम्बन्धित स्थानीय तह, जिल्ला प्रशासन कार्यालय तथा संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समयमा भएको रानिसैन घटनाबारे जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरा तथा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी रहेको छ । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार प्रहरीको टोली रानीसैन पुगेर घटना के रहेछ भन्ने आधिकारिक हुने बताएका छन् । बाजुरा प्रहरी प्रमुख शैलेश्वरी बोहोराले प्रहरी निरीक्षक लक्षिराज जोशीको नेतृत्वमा रानिसैनमा प्रहरी पठाइसकेको बताइन् । टोलि रानिसैन पुगिसकेको हुन सक्ने तर त्यहाँ सम्पर्क हुन नसकेको बोहोराले बताइन् । हुम्लाबाट पनि प्रहरीको टोली केही दिनपहिला पुगेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्