इप्रका कोहलपुरमा ज्येष्ठ नागरिक भवनको उद्घाटन



कोहलपुर ।

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र निर्माण गरिएको नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन उद्घाटन गरेका छन् । बुधबार एक औपाचारिक कार्यक्रमबीच उद्घाटन गर्दै उनले बाँकेमा लागूऔषध दुव्र्यसनी र जबरजस्ती करणीका मुद्दाहरू धेरै रहेको तथ्यांक देखिएको र यसलाई न्यूनीकरण गर्नका लागि प्रहरी लागिपर्ने बताए ।

महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूसँग सम्बन्धित मुद्दाहरू बाँकेमा धेरै रहेकाले पनि यो सेवा केन्द्र उपयोगी हुने उनले बताए । नवनिर्मित अत्याधुनिक र सुविधासम्पन्न भवनबाट लक्षित नागरिकहरूले सहज रूपमा सेवाहरू पाउने उनको भनाइ थियो । हिंसामा परेका महिला र बालबालिकाहरूका लागि सेवा केन्द्रमा बस्ने समेत व्यवस्था गरिएको उनले बताए । केन्द्रमा आउने महिला तथा बालबालिकाहरूलाई परामर्श दिन परामर्श केन्द्रको स्थापना गरिएको उनी बताउँछन् ।

‘महिला र बालबालिकाहरू घरमै हिंसामा परे भने कहाँ जाने ?,’ उनले भने, ‘त्यस्तो समस्या भए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा व्यवस्थापन गर्ने परिकल्पना गरिएको छ । उनीहरूसँग आउने बालबालिकाका लागि खेलकुद कक्ष समेत रहेको छ ।’ उनीहरूलाई परामर्श कक्षको व्यवस्थापन गरेर परामर्श दिने उनी बताउँछन् ।

उनले आगामी दिनहरूमा पीडितलाई मात्रै परामर्श दिएर नपुग्ने बताउँदै परिवार र त्यससँग सम्बन्धित सबैलाई परामर्श गराउनुपर्नेमा जोड दिए। सम्बन्धितलाई मात्रै नभएर अभिभावकलगायत सबैलाई परामर्श दिन आवश्यक रहेको उनको भनाइ थियो । स्थानीय सरकारले प्रहरी कार्यालय र पीडितहरू सेवा लिन आउने ठाउँहरूमा परामर्श विज्ञ राख्न आवश्यक रहेको बताउँदै उनले प्रहरी कार्यालयमा पनि अब कुन काम कसले गर्छ ? र कहाँ जाने भन्ने कुराहरू नागरिकलाई जानकारी नहुँदा दुःख भोग्नुपर्ने अवस्था रहेकाले त्यसलाई न्यूनीकरण गर्न कार्यालयको बाहिरै कामको प्रकृति र सम्बन्धित व्यक्ति तोकेर फोटोसहितको विवरण राखेर नागरिकहरूले सहजै सेवा लिन सक्ने बनाउनुपर्नेमा जोड दिए ।

बेलायत सरकारको सहयोगमा एसजेपीअन्तर्गत यूएनओपिएस संस्थाले भवन निर्माण गरिदिएर पुण्य काम गरेको भन्दै उनले संस्थालाई धन्यवाद प्रदान गरे । यूएनओपिएस नेपालका राष्ट्रिय प्रबन्धक कोमल कार्कीले नेपाल प्रहरीको सेवा वृद्धिको लागि संस्थाले विभिन्न कामहरू गर्दै आएको बताए । उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई नमूनाको रूपमा विकास गर्न पाइलट प्रोजेक्टका रूपमा सुर्खेत, कोहलपुर र जनकपुरमा काम गरिहरको उनले जानकारी दिए ।

भवन निर्माण कार्यमा सहयोग गरेको भन्दै उनले स्थानीय सरकार र इलाका प्रहरी कार्यालाई धन्यवाद समेत दिए । भवन निर्माणको सम्झौता गरेको समय अवधिभित्रै सम्पन्न भएको बताउँदै उनले भवन भूकम्प प्रतिरोधात्मक तरिकाले निर्माण गरिएको बताए । रोयल कन्ट्रक्सन धनगढीले दुई करोड १४ लाख ७३ हजार १ सय ७ रुपैयाँको लागतमा भवन निर्माण भएको उनले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले इलाका प्रहरी कोहलपुरले नियमित सेवाभन्दा विशिष्टकृत सेवाहरू सञ्चालन गर्दै आएको बताउँदै उनले भवनबाट विगतको भन्दा गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे । सेवा केन्द्रको भवनमा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ कक्ष, बालबालिका कक्ष र बैठक तथा प्रशासन अभियोजनक कक्ष भुइँतलामा रहेको यूएनओपिएसका पूर्वधार म्यानेजर शिशिर उपध्यायले बताए । यस्तै पहिलो तलामा प्रमुखको आवास, भान्सा भोजन कक्ष, ब्यारेक र शौचालय रहेको बताउँदै उनले भुइँ तलामा प्रतीक्षालय र अपांगमैत्री शौचालय समेत रहेको जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार