फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने



तनहुँ ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकास लम्सालका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको उनले बताए ।

लम्सालले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गरे । विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने जानकारी पनि उनले दिए ।

कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइनेछ । जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको छ । दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा छन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ तर्फ एक लाख १८ हजार २७९ मतदाता कायम भएका छन् । क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ ।

क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछ । यस पटकको निर्वाचनका लागि ऋषिङ गाउँपालिका–४ र ६ मा एक÷एक मतदान केन्द्र थप भएको छ । जिल्लामा १४४ मतदानस्थल र ३०० मतदान केन्द्र रहेका छन् । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार