अशक्तलाई घरमै नागरिकता



सङ्खुवासभा ।

जिल्लाको पाँचखपन नगरपालिका–३ मा अशक्तलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । पाँचखपन–३ सिवुवाकी अशक्त ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई शनिबार घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सिर्जना थपलियाले जानकारी दिइन् ।

अति अशक्त अवस्थाकी बानियाँले सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालयमा गत पुस १९ गते निवेदन दिएकी थिइन् । प्राप्त कागजातका आधारमा बानियाँलाई नागरिकता प्रमाणपत्र प्रदान गरिएको प्रजिअ थपलियाले बताइन् । “असक्त नागरिकलाई घरदैलोमै अत्यावश्यक सेवा दिने हाम्रो नीति छ । स्वास्थ्यका कारणले समस्या भएर जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने नागरिकलाई हामीले यसरी नै सेवा दिँदै जानेछौँ”, उनले भनिन् ।

यसैबिच शनिबार यहाँ जिल्ला सुरक्षा समितिले मतदानस्थल निरीक्षण गर्नुका साथै स्थानीय तहसँग निर्वाचन तयारी, आचारसंहिता पालनालगायत विषयमा अन्तरक्रिया गरेको छ ।आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै मतदान केन्द्र तथा मतदानस्थल अनुगमन र समन्वयको कामलाई तीव्रता दिइएको प्रजिअ थपलियाले बताइन् ।

जिल्लामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र रहेका छन् भने कुल मतदाता एक लाख १९ हजार ६३० रहेका छन् । जिल्लामा अति संवेदनशील आठ, संवेदनशील ८२ र सामान्य १९ वटा मतदानस्थल रहेका छन् ।यहाँ १५ दल र एक स्वतन्त्र गरी तीन महिलासहित १६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।  रासस

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार