वास्तवमा गरिबी छ कि अकृतज्ञता ?



उच्च वर्गमा धन, सम्पत्ति र सामाजिक हैसियत भएका, ठूलो व्यवसाय, उद्योग वा पूँजीका मालिक व्यक्ति पर्दछन्, जसले सामाजिक र आन्तरिक राजनीतिक निर्णय प्रक्रियामा प्रभाव राख्ने क्षमता राख्छन् । मध्यम वर्ग समाजको आधारस्तम्भ मानिन्छ । जो शिक्षा, नोकरी, पेशा र मेहनतमा आधारित आयमा निर्भर रहन्छ । राजनीतिक फेरबदलसँग प्रत्यक्ष सरोकार कम राख्छ र सामाजिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्छ ।

शाहिदा बानो शाह

पृष्ठभूमि

हामीलाई यो बुझ्न अति आवश्यक भइसकेको छ कि वास्तवमा गरिबी छ कि अकृतज्ञता छ । आखिर गरिबीको परिभाषा के छ होला त ? यो बुझ्यौँ भने वास्तविकतालाई बुझ्न सजिलो हुनेछ । हालको समाजलाई हेर्ने हो भने यहाँ मुख्य रूपमा चार वर्ग छन्– अति उच्च वर्ग, उच्च वर्ग, मध्यम वर्गीय र निम्न वर्ग । समाजलाई वर्गीय रूपमा हेर्दा अति उच्च वर्ग सङ्ख्यामा सानो भए पनि अत्यन्त प्रभावशाली हुन्छ । यसको हातमा धन, शक्ति, सम्पत्ति, राजनीतिक प्रभाव र सामाजिक प्रतिष्ठा केन्द्रित रहन्छ । यस वर्गले नीति, अर्थतन्त्र तथा देश–विदेशका शक्ति संरचनामा निर्णायक भूमिका खेल्छ । उच्च वर्गमा धन, सम्पत्ति र सामाजिक हैसियत भएका, ठूलो व्यवसाय, उद्योग वा पूँजीका मालिक व्यक्ति पर्दछन्, जसले सामाजिक र आन्तरिक राजनीतिक निर्णय प्रक्रियामा प्रभाव राख्ने क्षमता राख्छन् । मध्यम वर्ग समाजको आधारस्तम्भ मानिन्छ । जो शिक्षा, नोकरी, पेशा र मेहनतमा आधारित आयमा निर्भर रहन्छ । राजनीतिक फेरबदलसँग प्रत्यक्ष सरोकार कम राख्छ र सामाजिक स्थायित्वमा महत्वपूर्ण भूमिका खेल्छ । यसमा कर्मचारी, व्यापारी, शिक्षक, पत्रकार र स्वास्थ्यकर्मी पर्दछन् । निम्न वर्ग भने सीमित स्रोतसाधन, कम आय र श्रममा आधारित जीवनयापन गर्ने मजदुर, किसान र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरूलाई समेट्ने वर्ग हो । जसको जीवनस्तर कमजोर र अवसरमा पहुँच कम हुन्छ । अब मुख्य विषय अर्थात् गरिबीको बारेमा कुरा गरौँ । आजभोलि मानिसहरूले गरिबीको चर्चा बढी गर्छन् ।

के साँच्चिकै गरिबी भनेको त्यही नै हो जुन कि अहिले परिभाषित छ वा भाष्यभन्दा केही फरक छ भनी बुझ्न जरुरी छ । उहिले हाम्रा अभिभावकका लागि सधैँ दुईछाक खाना हुँदैन थियो, धेरै जसो एकछाक मात्र खान्थे । घरमा राति उज्यालोको लागि बालिने लालटिन र टुकी अबेर राति काम सकेपछि तेल बचाउनका लागि निभाइ दिन्थे । ओढ्ने ओछ्याउने तन्ना सिरक गन्तीका मात्र हुन्थे एउटै सिरकले पूरा परिवार ओढ्थे र सिरक तान्दा बच्चालाई चिसो नलागोस् भनी आमा बुवा बच्चाहरूको छेउ र किनारमा सुत्थे । एक एक जोर चप्पल जुन कि ईद, दशैँ वा होलीमा किन्थे । वर्षभरि त्यसमा फित्ता र मोमबत्तीले जोडेर लगाउँथे । कपडा पनि सबैका लागि वर्षमा एक पटक दशैँ, ईद र होलीकै बेला सिलाइन्थ्यो । त्यो पनि यस्तो कपडा जसको टुक्राटाक्रीलाई जोडेर साना भाइबैनीको कपडा बनिहालोस् । मनोरञ्जनका लागि कहिलेकाहीँ वर्षमा एक पटक नजिकै लाग्ने मेलामा घुमाउन लगिन्थ्यो । आफन्त नातागोता साथीभाई इष्टमित्र जसको घरमा बिहे, भोजभतेर, मुन्डन र अन्य जे भए पनि त्यही पर्वमा सिलाइदिएकै एकजोर लुगा र एकजोर चप्पल लगाएर जाने गरिन्थ्यो । आफूसँग धनको नाममा खल्तीमा केही गुच्चा, गट्टक (ढुङगाका साना टुक्रा), कोक, पेप्सीका ढक्कन र अभिभावकले दिएका आठ आना, एक रूपैयाँ बढीमा दश रूपैयाँ हुन्थ्यो । अनि सबै त्यतिकैमा खुश हुन्थे । कसैले यो भन्दैनथ्यो कि म गरिब छु वा फलाना गरिब छ । सबै एकजुट भएर एक अर्काको सुखदुःख साथ हुन्थे । मनुष्यको रूपमा निरोगी र हृष्टपुष्ट जीवन दिने ईश्वरको कृतज्ञ हुन्थे ।

अहिले अधिकांश घरमा अभिभावकले दैनिक मासु माछा नदिए पनि दालभातको साथमा तरकारी र अचारको व्यवस्था गरेकै हुन्छन् । घरमा राति उज्यालोको लागि विद्युत् लाइन जडान छ । अधिकांश घरमा त झिलिमिली लाइट समेत रातिभरि बालेर सुत्छन् । ओढ्ने ओछ्याउने तन्ना सिरक व्यक्ति पिच्छै छुट्टाछुट्टै छन् । यहाँसम्म कि गर्मीमा ओढ्ने र चलाउने पंखा कुलर पनि छुट्टै छन् । चप्पल जुत्ता त कपडाको रंग र डिजाइनअनुसार फरक फरक छन् । अनि कपडा मौसम र पार्टीअनुसार फरक फरक छन् । अहिले त हरेक इभेन्ट र पर्वका लागि छुट्टै कपडा सिलाइन्छ त्यो पनि ट्रेन्डमा रहेको डिजाइनमा । मनोरञ्जनका लागि हातहातमा मोबाइल छ । घरघरमा टेलिभिजन र रेडियो छ । टोलटोलमा सिनेमाघर छ । वडावडामा चिल्ड्ेनपार्क र व्यायामशाला छन् । बच्चाहरूसँग भिडिओ गेम छ विभिन्न इलेक्ट्रोनिक खेलौना छन् । व्यक्तिपिच्छै खल्तीमा हजारौँ रूपैयाँको एन्ड्रोइड मोबाइल छ, मोबाइल बैलेन्स छ । तर पनि अहिले मानिस खुश छैन् । जसलाई हे¥यो उसले भन्छ म त गरिब मान्छे हुँ वा फलाना त गरिब रहेछ । हरेक मानिस असन्तुष्ट छ । अब बुझ्न जरुरी छ कि आखिर यसको कारण के हो त ।

कारण

कारण एउटै छ अहिले मानिसमा कृतज्ञता छैन् जसले गर्दा ऊ सन्तुष्ट छैन् । अहिलेको समाजमा मानिसहरूमा असन्तुष्टि र ईष्र्या छ । मानिसहरू एकअर्कासँग प्रतिस्पर्धा गर्न थालेका छन् । देखासिकी गर्नका लागि भौतिक सुविधा, प्रविधि र साधनहरू पछाडि भाग्न थाले । यही भागदौडमा मनको शान्ति कता हरायो थाहै पाएनन् । मनुष्यको असीमित चाहना र अपेक्षाले मानिसलाई अकृतज्ञ नै बनाइदियो । जसले गर्दा मानिस एक लक्ष्य हासिल गरेपछि अर्को ठूलो चाहनातर्फ दौडिन थाल्यो । जसले फलस्वरूप मनमा सन्तुष्टि टिक्दैन् । त्यसैगरी सामाजिक सञ्जाल पनि मानवीय असन्तुष्टिको ठूलो कारण बन्न पुगेको छ । वर्गीय भिन्नताका कारण आर्थिक असमानता त थियो नै । तर अहिले सोसल मिडियामा देखिने कन्टेन्ट क्रियेटर, इन्फ्लुयेन्सर र सेलिब्रेटीहरूको जीवनसँग आफ्नो जीवन तुलना गरी आफूभित्र हीन भावना, ईष्र्या र असन्तोष पैदा हुन थाल्यो । हाल बेरोजगारी, बढ्दो महँगी र भविष्य चिन्ताले मनुष्यको मानसिक सन्तुलन बिगारिदिएको छ । आज अधिकांश मानिसहरू अनिद्रा, र एन्जाईटी र डिप्रेसनका सिकार भइसकेका छन् ।

निष्कर्ष

यसको मुख्य कारण मनुष्य आध्यात्मिकता र नैतिक मूल्यमान्यताहरूबाट टाढा हुनु हो । आध्यात्मिक शिक्षाले मनुष्यलाई कृतज्ञता सिकाउँछ ।
नैतिक मूल्यमान्यताहरूले मनुष्यलाई सन्तुष्ट रहन र एक अर्काको परिस्थिति बुझ्न सिकाउँछ । यसर्थ अबको बालबालिका र युवा पिढीलाई आध्यात्मिक शिक्षा र नैतिक मूल्यमान्यता सिकाउनु अति आवश्यक भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार