मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत



विराटनगर । नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश समितिले चार जना स्रष्टालाई पुरस्कृत गरेको छ । मुक्तक दिवसका अवसर पारेर आज विराटनगरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईसहित चार जनालाई नगदसहित पुरस्कृत गरेको हो ।  प्रतिष्ठानले रु १५ हजार नगद राशिको ‘नरनाथ–नन्दकुमारी पोखरेल स्मृति पुरस्कार’ साहित्यकार भट्टराईलाई समर्पण गरेको छ ।


सीताराम पोखरेलसहित परिवारले स्थापना गरेको सो पुरस्कार राशिसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो ।  त्यस्तै मनमाया दाहालसहितको परिवारद्वारा स्थापित रु १५ हजार राशिको ‘नन्दलाल दाहाल स्मृति पुरस्कार’ साहित्यकार डा कौशिला रिसाललाई प्रदान गरिएको छ । छमनादेवी–रामप्रसाद पोखरेल स्मृति पुरस्कारबाट अग्रज साहित्यकार मधु पोखरेल पुरस्कृत भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि प्राडा टङ्कप्रसाद न्यौपाने, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेल, पुरस्कारका संस्थापक तारानाथ पोखरेल, सीता पोखरेललगायतले साहित्यकार पोखरेललाई दोसल्ला ओढाएर नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

बाबुराम पोखरेल र मनोहरि पोखरेलले स्थापना गरेको ‘माधव–नर्मदादेवी पोखरेल स्मृति पुरस्कार’ इलामका साहित्यकार शिव अधिकारीलाई प्रदान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेसहित आयोजक संस्थाका अध्यक्ष पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार सरला चापागाईंसहित संस्थापकहरूले पुरस्कार राशि र सम्मानपत्र समर्पण गरेका थिए । कार्यक्रमका वक्ताहरूले प्रतिष्ठानले मुक्तकको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।  प्रतिष्ठानले समय–समयमा साहित्य गोष्ठी, कृति प्रकाशन र स्रष्टाहरुलाई सम्मान कार्यक्रम आयोजना गर्दै आएको महासचिव मदन भण्डारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार