
काठमाडौं – पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन म्याग्दीबाट चुनावमा उम्मेदवार बनेपश्चात प्रचारप्रसारको दौडधुपमा छन् । उनी आफ्नो चुनावी अभियानमा लगभग एक्लै देखिन्छन् ।
महावीर पुनलाई न पछिपछि हिँड्ने कार्यकर्ता चाहिएको छ न बोल्नलाई माइक । केही स्थानीय मानिसहरू जम्मा गर्छन् र झर्रो शैलीमा भोट माग्छन् । साथै, आफ्नो किताब पनि बेच्छन् । उनले केही दिनअघि आफूलाई आर्थिक सहयोग गर्न चाहनेहरूका लागि क्यूआर पनि सार्वजनिक गरेका थिए ।
पुन हिजो म्याग्दीको निस्कोट बेसी भन्ने रमणीय स्थानमा सडकमै भाषण गरिरहेको अवस्थामा भेटिए । उनको भाषण सुन्नेमा ४ जना बच्चाहरूसहित ५० जना स्थानीय थिए । पछि दुईजना थपिए । महिला र पुरुषको संख्या लगभग हाराहारी थियो । हातमा एउटा पर्चा बोकेर पुनले आफ्नै सिग्नेचर स्टाइलमा भाषण गरे ।
अहिले एक्लै भए पनि संसदमा पुगेपश्चात एक्लै नहुने पुनले बताए । आफू नयाँ पार्टीका युवा नेताहरूसँग मिलेर काम गर्ने उनको भनाइ थियो । ‘बुढाहरू’ सित आफू नमिल्ने भन्दै उनले पुराना पार्टीहरूले जितेमा आफूलाई काम गर्न नदिने आशंका प्रकट गरे ।
पुनले शिक्षामन्त्री भएपछि धेरै कोसिस गर्दा पनि काम गर्न नसकेको टिप्पणी गरे । सांसदमा लड्ने कुनै पूर्वयोजना नभएको र ४ गते अचानक उम्मेदवारी दिने निर्णय गरेको उनको दावी थियो ।
पुनले गरेको भाषणको अंश उनकै शब्दमा :
म कुनै पार्टीमा नलागे पनि मेरो पार्टी हुन्छ । त्यो भनेको युवाहरूको पार्टी । म बुढाहरूसँग मिल्दिनँ । पटक्कै मिल्दिनँ । म जोसुकै पार्टीको युवाहरूसँग मिल्छु । अहिले स्वतन्त्र पनि धेरै उठ्या छन् । कोहीले जित्लान् नि । ती सबै युवाहरुलाई मिलाउने प्रयास गर्छु । युवाहरुले भनेको मान्छन् । बुढोहरुले मान्दैनन् ।
मेरो आफ्नै पार्टी नभए पनि स्वतन्त्र र सिंगो व्यक्ति हुन्न । मसित युवाहरूको टोली हुन्छ । युवाहरुसित मिलेर देश विकासको योजना बनाउँछु । त्यसरी म अगाडि बढ्ने हो । मान्छेहरुले एक जना उठेर के गर्ला र भन्छन् । हेरौ न के गर्न सकिँदो रहेछ । एक(दुई वर्षमा थाहा हुने कुरा भइहाल्यो । सकिएन भने ‘कोसिस गरेको हो, सकिएन’ भन्नुपर्ला । जस्तो, अहिले पनि म शिक्षामन्त्री भएर केही गर्न खोजेको हो, तर केही सीप लागेन भन्न आएको त हो तपाईँहरूलाई ।
माथि गएर सबैलाई मिलाउने प्रयास गर्छु । नमिलेसम्म देश बन्दैन भन्छु । नमिले के हुन्छ रु देशलाई घाटा हुन्छ, मलाई त के हुन्छ र रु तपाईं जनतालाई घाटा हुन्छ । त्यसकारणले म उठेको हो । लौ, अब के के हुन्छ के के हुन्छ । भगवानले लेखिदिएका रहेछन् भन्नुपर्यो नि है । कुन चैँ भगवानले हो, चुनाव लड्नुपर्छ भनेर लेखियो । चार गतेसम्म त मलाई पनि थाहा थिएन । स्वतन्त्र उम्मदवार हुन्छु भन्ने मैलाई थाहा थिएन । भगवानलाई त थाहा रहेछ नि है । यस्तै हो कुरा । लौ । धेरै कुरा किन गर्ने ।
अमेरिकामा बसेर मैले नेपालको १६ वटा जिल्लामा एक्लै इन्टरनेट लगेको हो । कसैले मद्दत गरेको होइन । राष्ट्रिय आविस्कार केन्द्र एक्लै खोलेको हो । सरकारको एक रुपैयाँ एक रूपैयाँ परेको छैन । जनताको साथ हुनुपर्छ, जे पनि गर्न सकिन्छ । वीरगञ्जको कृषि औजार कारखाना तीस वर्षसम्म एक्लैले गरेको । आँट्यो भने सकिन्छ । म एक्लै छु भनेर म डराएको छैन । प्रशस्तै उदाहरण छ त । म एक्लै किताब बेच्न हिँडेको हो । जहाँ(जहाँ गएँ, त्यहाँ साथीहरुले सहयाग गरे नि । जनता त साथमा थियो नि । त्यसकारण महावीर पुनले एक्लै केही गर्न सक्दैन भन्नेलाई महावीर पुनले एक्लै के के गर्यो थाहा छ रु भन्ने हो ।
अनि सुन्नुस् । म एक्लो भए पनि कहिल्यै हरेस नखाने मान्छे हो । तर म एक्लो चाहिँ हुन्न । जति पनि काम गरेँ, कोरोनाको समयमा त्यत्रो सामान बनाएर नेपालभरि निशुल्क बाँडियो १८÷२० करोडको । बाहिरबाट म एक्लैले गर्याजस्तो देखिन्छ । तर भित्र त त्यत्रो पैसा कहाँबाट आयो प्रष्टै छ त १
एउटा कुरा, नयाँ पार्टी आएर नयाँ जोशले काम गरे भने मलाई पक्कै सहयोग गर्छन् । तर मानौं जनताले भोट दिँदा पुरानै पार्टीलाई जिताए भने मलाई कसैले पनि काम गर्न दिँदैनन् । यो ग्यारेन्टी छ । मैले अहिलेसम्म ३२ वर्षसम्म पुरानो पार्टीको ऊ नै त भोगिराको हो । मलाई गलाउन सकेनन् । राष्ट्रिय आविस्कार केन्द्र बनाउन लगातार ५ वर्ष‘ बाफ रे दिनदिनै सिंहदरबार धाउँदै, नेताहरूलाई नमस्कार गर्दै, ढोग गर्दै, नेताहरुको डेरा र ढोका खोजेर भए पनि मैले काम गरेको हो ।









प्रतिक्रिया दिनुहोस्