तीन दशकपछि चुनावी मैदानमा विश्राम



शेरबहादुर ऐर । कैलाली ।

सुदूरपश्चिम प्रदेशको राजनीतिमा लामो समयदेखि केही निश्चित अनुहार वरिपरि घुम्दै आएका छन् । पञ्चायतपछिको पहिलो आम निर्वाचन २०४८ सालदेखि नै चुनावी प्रतिस्पर्धामा देखिएका नेताहरू आज पनि सक्रिय छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले यही निरन्तरताको अर्को अध्याय खोल्दैछ, जहाँ २०४८ सालमै चुनाव लडेका एकजना उम्मेदवार फेरि चुनावी मैदानमा उत्रिएका छन् । तीन दशकभन्दा बढी समय बितिसक्दा पनि पुराना नेताहरूको प्रभाव कायमै रहनु र उनीहरूको पुनरागमन प्रयासले सुदूरपश्चिमको राजनीतिक चरित्र झल्काउँछ ।

लेखराज भट्टको पुनरागमन प्रयास

नेकपा एमालेका केन्द्रीय उपमहासचिव तथा पूर्वमन्त्री लेखराज भट्ट यस निर्वाचनका सबैभन्दा चर्चित उम्मेदवारमध्ये एक हुन् । उनी २०४८ सालको निर्वाचनमै पहिलो पटक चुनावी मैदानमा उत्रिएका थिए, तर त्यो निर्वाचनमा पराजित भए । त्यसयता उनको राजनीतिक यात्रा उतार–चढावले भरिएको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन कैलाली–५ (हालको निर्वाचन क्षेत्र नम्बर ४)बाट नेकपा माओवादी केन्द्रका तर्फबाट विजयी हुँदै भट्टले राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थितिलाई मजबुत बनाएका थिए । तर २०७० सालको निर्वाचनमा उनी नेपाली काँग्रेसका दीर्घराज भाटसँग पराजित भए । २०७४ सालमा भने बाम गठबन्धनका तर्फबाट कैलाली–४ मा काँग्रेसका सुनिल भण्डारीलाई पराजित गर्दै प्रतिनिधिसभामा फर्किन सफल भए ।

२०७९ सालको निर्वाचन भट्टका लागि सुखद रहेन । नेपाली काँग्रेसका बिरबहादुर बलायरसँग उनी पराजित भए । भट्टले २२ हजार ६३३ मत प्राप्त गर्दा बलायरले २६ हजार २७५ मत ल्याएका थिए । त्यस निर्वाचनपछि भट्टको राजनीतिक भविष्यबारे प्रश्न उठे पनि फागुन २१ को निर्वाचनले उनलाई फेरि अवसर दिएको छ ।

यसपटक बलायर उम्मेदवार नबनेपछि भट्टको बाटो केही सहज हुने अनुमान गरिएको छ । तर प्रतिस्पर्धा कमजोर भने छैन । भट्ट नेपाली काँग्रेसका गोरखबहादुर विष्ट (आनन्द), नेपाल कम्युनिष्ट पार्टीका हरिराम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि रेग्मीलगायत १६ जना उम्मेदवारसँग प्रतिस्पर्धामा छन् । धेरै उम्मेदवार मैदानमा हुँदा मत विभाजन हुने सम्भावनाले चुनावलाई थप अनिश्चित बनाएको छ ।

२०४८ का विजेता, ३४ वर्षपछि मैदानबाहिर

२०४८ सालको निर्वाचन सुदूरपश्चिमका लागि ऐतिहासिक थियो । त्यही निर्वाचनबाट शेरबहादुर देउवा, दिलेन्द्रप्रसाद बडु र रामजनम चौधरी प्रतिनिधिसभामा पुगेका थिए । तीनै जना त्यसयता राष्ट्रिय राजनीतिका प्रभावशाली व्यक्तित्व बने । तर फागुन २१ को निर्वाचनमा यी तीनैजना उम्मेदवार छैनन् ।

शेरबहादुर देउवा ः निरन्तरताको अन्त्य

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा डडेल्धुराबाट हरेक निर्वाचनमा उम्मेदवार बन्दै विजयी हुँदै आएका नेता हुन् । उनी सुदूरपश्चिमको राजनीतिमा मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि सबैभन्दा प्रभावशाली व्यक्तित्व मानिन्छन् । तर यसपटक उमेर, स्वास्थ्य र पार्टी रणनीतिका कारण देउवा उम्मेदवार बनेनन् ।

उनको स्थानमा नेपाली काँग्रेसले नैनसिंह महरलाई उम्मेदवार बनाएको छ । देउवाको अनुपस्थितिले डडेल्धुराको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ । वर्षौँसम्म देउवाको वरिपरि केन्द्रित राजनीति अब नयाँ नेतृत्वतर्फ मोडिने संकेत देखिएको छ ।

दिलेन्द्रप्रसाद बडु ः तीन दशकको निरन्तरतापछि विश्राम

दार्चुलाबाट २०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएका दिलेन्द्रप्रसाद बडु पनि यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवार छैनन् । काँग्रेसका तर्फबाट धर्मानन्द जोशी उम्मेदवार बनेका छन् । बडु २०५६ सालको आम निर्वाचनमा प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यसपछि उनी पार्टी संगठन र सरकारमा विभिन्न भूमिकामा सक्रिय रहे ।

२०७० र २०७४ सालको निर्वाचनमा नेकपा एमालेका गणेशसिंह ठगुन्नासँगको प्रतिस्पर्धा चर्चित बनेको थियो । २०७४ मा बडु समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए । यसपटक उम्मेदवार नबन्ने निर्णयसँगै दार्चुलामा पनि पुस्तान्तरणको बहस सुरु भएको छ ।

रामजनम चौधरी ः अपराजित यात्रादेखि पराजयसम्म

कैलाली–२ बाट २०४८ सालमा सांसद बनेका पूर्वमन्त्री रामजनम चौधरी सुदूरपश्चिमका सबैभन्दा प्रभावशाली नेतामध्ये एक मानिन्छन् । उनी २०४८ देखि २०७० सम्म अपराजित रहे । २०४८, २०५१ र २०५६ मा काँग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रामजनमले २०५१ मा एमालेको लहर चल्दा पनि जित हात पारेका थिए ।

२०६४ सालमा प्रत्यक्ष निर्वाचन जित सुनिश्चित नहुने आकलनपछि उनी विजय गच्छदार नेतृत्वको पार्टीमा प्रवेश गरी समानुपातिक सांसद बने । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट कैलाली–३ मा विजयी हुँदै उनले आफ्नो राजनीतिक कौशल देखाए । तर समय सधैँ एउटै रहँदैन । २०७४ र २०७९ सालको निर्वाचनमा रामजनम पराजित भए । २०७९ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठसँगको पराजयले उनको राजनीतिक यात्रामा ठूलो मोड ल्यायो । यसपटक उनी उम्मेदवार छैनन् । उनको स्थानमा जनकराज चौधरी उम्मेदवार बनेका छन् ।

नयाँ विकल्प रोज्ने अवसर

फागुन २१ को निर्वाचन सुदूरपश्चिमका लागि केवल अर्को चुनाव मात्र होइन, पुस्तान्तरणको संकेत पनि हो । एकातिर लेखराज भट्टजस्ता पुराना नेताहरू पुनरागमनको प्रयासमा छन् भने अर्कोतिर देउवा, बडु र रामजनमजस्ता नेताहरू मैदानबाहिर छन् । यसले मतदातालाई नयाँ विकल्प रोज्ने अवसर दिएको छ ।

साथै राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत नयाँ राजनीतिक शक्तिहरूको उपस्थितिले परम्परागत दलहरूको आधारलाई चुनौती दिएको छ । युवा मतदाता, सामाजिक सञ्जालको प्रभाव र स्थानीय मुद्दाहरूले यसपटकको निर्वाचनलाई फरक बनाएको छ । तीन दशकभन्दा बढी समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाउँदै आएका नेताहरूको भूमिका फेरि एकपटक चर्चामा छ ।

कसैले पुनरागमनको प्रयास गरिरहेका छन्, कसैले लामो राजनीतिक यात्रापछि विश्राम लिएका छन् । फागुन २१ को निर्वाचनले सुदूरपश्चिममा पुरानो नेतृत्वको निरन्तरता रहन्छ कि नयाँ पुस्ताले अवसर पाउँछ भन्ने प्रश्नको उत्तर दिनेछ । मतदाताको निर्णयले मात्र होइन, बदलिँदो राजनीतिक चेतना र समयको मागले पनि यो निर्वाचनलाई ऐतिहासिक बनाउने निश्चित छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रबार