आंशिकरूपमा सेवा प्रदान गर्दै स्थानीय तह



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको गोदावरी नगरपालिकाले मंगलबारदेखि आफ्नो सेवा सुचारु गर्ने तयारी गरेको छ । कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भदौ २४ गतेदेखि अवरुद्ध भएका सेवाहरू पुनः सञ्चालन गर्ने तयारी गरेको हो । भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले कार्यालयका सबै भौतिक संरचना ध्वस्त भएपछि अहिले स्थानीयहरूको सहयोगमा सेवा सुचारु पारिदिएको थियो । आगजनीले कम्प्युटर, उपकरण र अन्य सामग्रीसमेत जलेर नष्ट भएका कारण दैनिक सेवा प्रवाह अवरुद्ध भएको थियो ।

नगरपालिकाका प्रयासपछि कार्यालयका केही शाखा सरसफाइ गरी सञ्चालनयोग्य बनाइएको प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले जानकारी दिए । आगामी मंगलबारदेखि कार्यालय र वडा कार्यालयका सेवाहरू नियमितरूपमा सुचारु हुनेछन् । नगरवासीलाई सूचना दिँदै विनाडीले अवरुद्ध सेवाका कारण भएको असुविधाप्रति क्षमायाचना गर्दै, सबै सेवाहरू पुनः सुचारु भएको उल्लेख गरेका छन् । साथै, यस विषयमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला समन्वय समिति, धनगढीलाई जानकारी पठाइएको छ । नागरिकहरूले अब कार्यालयबाट नियमित सेवा लिन सक्नेछन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आंशिकरूपमा सेवा सुचारु गरेको छ । जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण क्षति व्यहोरेको नगरपालिकाले आंशिकरूपमा सेवा सुचारु गरेको हो । भवनमा क्षति पुगेपछि कार्यालय अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । अहिले केही शाखा मात्र अस्थायी रूपमा सञ्चालनमा आएका छन् । नगरप्रमुख हेमराज ओझाले आगलागी हुनबाट जोगिएका कागजातका आधारमा काम अगाडि बढाइएको बताए ।

स्थानीय युवा क्लब र कार्यालयका कर्मचारीको सहयोगमा सरसफाइ गरी सुरक्षित रहेका कोठा, खाजाघर र हल प्रयोगमा ल्याइएको उनले बताए। उनका अनुसार भवनमा ठाउँ अपुग भएपछि वनदेवी आधारभूत विद्यालयका खाली कोठामा केही शाखा सार्ने तयारी भइरहेको छ ।कार्यालयका सबै शाखा सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने उनले बताए । उनले सेवा सञ्चालनभन्दा पनि आवश्यक उपकरण र सामग्री अभाव ठूलो चुनौती भएको बताए ।

स्टेशनरीदेखि लिएर कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, सीसीक्यामेरा, मोटरसाइकल, स्कुटर, दराज, नक्सा, स्वास्थ्य सामग्री, फ्रिज, एसी, फर्निचरसहित अधिकांश कागजपत्रलगायत सामग्री जलेर नष्ट भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भट्टका अनुसार क्षतिको प्रारम्भिक विवरणअनुसार आगलागीले अन्दाजी २ करोड बढीको क्षति पुगेको छ । भवनको भौतिक क्षतिबारे प्राविधिक विवरण तयार गर्ने कार्य भइरहेको उनको भनाइ छ । वडा कार्यालयमा भएको क्षतिको विवरण संकलनकै क्रममा रहेको छ ।

आगलागीका कारण नगरमा क्षति पुगेको भन्दै विभिन्न संघ संस्थाले नगरपालिकालाई सहयोग गरिरहेका छन् । नगरपालिकाले नगद सहयोग नलिने निर्णय गर्दै जिन्सी सामग्रीमात्र स्वीकार गर्ने नीति बनाएको छ । आगलागी र तोडफोडमा संलग्नलाई कारबाही गर्नेबारे सर्वदलीय, सर्वपक्षीय तथा कार्यपालिकाको छुट्टाछुट्टै रूपमा बसेको बैठकले कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन् । हालसम्म लुटपाट गरिएको सामग्रीमध्ये एक थान कम्प्युटर मोनिटर र एक थान क्यामेरामात्र फिर्ता भएको नगरपालिकाले जनाएको छ । यसैबीच, वडा कार्यालयमार्फत भने सेवाग्राहीलाई सेवा दिने कार्य सुरु गरिएको छ ।

कैलालीको कैलारी गाउँपालिकाका वडा कार्यालय र गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी तथा तोडफोड गरिएको थियो । वडा कार्यालयहरूमा सेवा प्रदान गर्न सक्ने अवस्था नभएपछि गाउँपालिकाले वडाको सेवा गाउँपालिकाबाट सुरु गरेको छ । भदौ २४ गते जेनजी आन्दोलनको नाउँमा गाउँपालिकाअन्र्तगत रहेका सबै वडा कार्यालय ध्वस्त पारिएको छ । सो वडा कार्यालयबाट प्रदान गरिने सेवा पालिकामा दिन सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

आन्दोलनका क्रममा गाउँपालिकाको कार्यालयमा रहेका मुख्य मुख्य शाखाको अति महत्वपूर्ण सरसमान आगजनी गरिएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले बताए । उनले भने, ‘एक र दुई नम्बर वडा कार्यालयमा रहेका सबै सामान आगजनी भएको छ । बाँकी रहेका वडा कार्यालयभित्र तोडफोड र आगजानी भएपछि भवन ध्वस्त भएको छ ।’ वडा कार्यालय ध्वस्त भएका कारण वडाबाटै सेवा दिन समस्या रहेको उनको भनाइ छ । पालिकाबाट टाढा पर्ने वडामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने उनले बताए ।

उनका अनुसार पालिकामा रहेका मुख्य–मुख्य शाखाको सरसमानमा तोडफोड र आगजानी भएपछि सेवा विस्तारमा समस्या भएको र व्यवस्थापन गर्न समय लाग्ने छ । आन्दोलनका क्रममा पालिकामा दुई वटा मोटरसाइकल, एक स्कुटी, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको निजी घरको सरसमानमा तोडफोड र आगजानी भएको थियो । कैलाली र कञ्चनपुरमा भदौ २३ र २४ गतेका दिन भएको आन्दोलनका क्रममा अधिकांश स्थानीय तहहरूको भवन, सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो ।

अहिले स्थानीय व्यापारी, व्यवसायी, संघसंस्थाको सहयोग जुटाउँदै पालिकाहरूले आफ्नो सेवा सुचारु गर्ने तयारी गरेका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाबाहेक गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, लम्की चुहा नगरपालिका लगायतमा आगजनी र तोडफोड गरिएको थियो । जेनजी आन्दोलनका क्रममा कैलालीमा एक सय ३७ भवनमा क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार तीन वटा पूर्ण र दुई आंशिकसहित पाँच वटा प्रहरी भवनमा क्षति भएको छ ।

यस्तै, आठ आंशिक र चार सामान्य गरी १२ वटा सर्वसाधारणका निजी घरमा क्षति भएको छ । दुई पूर्ण, ७० आंशिक र ३१ सामान्य गरी १०३ वटा सरकारी कार्यालयमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै, ११ आंशिक र छ सामान्य गरी १७ वटा पार्टी कार्यालयमा क्षति भएको जनाइएको छ । कूल पाँच वटा कार्यालयमा पूर्णसहित १ सय ३७ भवनमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कर कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, भन्सार कार्यालय लगायतका सरकारी कार्यालयहरूमा आगजनी गरेका थिए । यसैगरी, प्रदेशसभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायतमा आगजनी गरिएको थियो ।
यस्तै, आन्दोलनकारीले ६ सय ७८ वटा सवारीसाधन जलाएका छन् । जसमा चारपाङ्ग्रे १ सय १४, मोटरसाइकल ५ सय ४३, साइकल १५ र तीनपाङ्ग्रे छ वटा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज ६ गते सोमबार