भारत सरकारद्वारा निर्वाचनको लागि ६१ वटा गाडी हस्तान्तरण



काठमाडौं ।

भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल सरकारलाई ६१ वटा यातायातका साधन हस्तान्तरण गरेको छ । मङ्गलवार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले जानकारी दिए ।

उनको अनुसार भारतले आसन्न निर्वाचनलाई मध्यनजर गरी विभिन्न प्रकारका ५३८ वटा गाडी सहयोग गर्दै छ भने आज पहिलो चरणमा ६१ वटा गाडी हस्तान्तरण गरेको हो ।

उनले भने ,‘भारत सरकारबाट प्राप्त हुने गाडीहरूको आज पहिलो चरणको हस्तान्तरण भएको छ । आज ६१ वटा गाडी हस्तान्तरण भएको छ। विभिन्न प्रकारका ५३८ वटा गाडी भारत सरकारले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा निकायलाई प्राप्त हुँदैछ ।’ त्यस्तै उनले सरकारले आफ्नो नियमित बजेटबाट पनि गाडी खरिदको काम अन्तिम चरणमा पुर्‍याएको बताए ।

निर्वाचन आयोग, सुरक्षा निकाय र जिल्ला प्रशासनहरूमा आवश्यकता अनुसार वितरण गरिने उनले जानकारी दिए । ‘जेनजी आन्दोलनपछि सुरक्षा निकायमा सवारी साधनको कमी थियो । सरकारले आफ्नो नियमित बजेटबाट पनि खरिदको अन्तिम चरणमा पुगेको छ भने निर्वाचन आयोग, सुरक्षा निकाय, जिल्ला प्रशासनहरूमा आवश्यकताको अनुसार वितरण गर्ने छौँ’ उनले भने, ‘गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो ।’

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार