जेनजी आन्दोलनका आइकन प्रकाशलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार



वीरेन्द्रनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैलेखका प्रकाशबहादुर बोहोरालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ । उनी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका थिए । दैलेख नारायण नगरपालिका—८ का बोहोरा जेनजी आन्दोलनमा घाइते भएका थिए । उनको रक्ताम्य एउटा जुत्ता जेनजी आन्दोलनको ‘आइकन’कै रूपमा चर्चित भएको थियो ।

२३ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा उनलाई गोली लागेको थियो । प्रकाश अझै अस्पतालमै छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको रास्वपाको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ बोहोराको नाम चार नम्बरमा समावेश भएको हो । रास्वपाले बन्दसूची दर्ता गराउँदा कर्णालीबाट तीन जनाको नाममात्रै समावेश गरेको थियो । जसमा रूकुम पश्चिमबाट प्रेमबहादुर बोहोरा, सिर्जना ओली ‘सिज्जू’ र हुम्लाबाट टासी ल्हान्जोमको नाम थियो ।

सिज्जुले आफ्नो नाम फिर्ता लिएकी थिइन् भने टासीको नाम भूराजनीतिक कारण भनेर रास्वपाले नै हटाइदिएको चर्चा छ । सार्वजनिक बन्दसूचीमा भने कर्णालीका पाँच जना समावेश भएका छन् । रास्वपाको बन्दसूचीमा जेनजी घाइते बोहोरा, कालीकोटका पवन शाही, रूकुम पश्चिमका बोहोरा र सुर्खेतका हिरालाल बादी र सीता बादीको नाम समेटिएको छ ।

कुन दलबाट को परे बन्दसूचीमा ? 

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ । उक्त बन्दसूचीमा कर्णालीका पाँच राजनीतिक दलबाट ३८ जना समेटिएका छन् । बन्दसूचीमा विभिन्न दलका उम्मेदवारहरूको नामावली र उनीहरूको क्षेत्र उल्लेख गरिएको छ ।

जसमा कर्णाली भूगोलबाट जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का १०, नेपाली काँग्रेसका नौ, नेकपा एमालेका छ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का आठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पाँच जना समानुपातिक उम्मेदवार बनेका छन् । जसमा नेपाली काँग्रेसको बन्दसूचीमा परेका कर्णालीका उम्मेदवारहरूमा ताराबहादुर लामा (पुरुष) हुम्ला (पिछडिएको क्षेत्र), सरस्वती श्रेष्ठ (महिला) दैलेख, मानबहादुर नेपाली (पुरुष) रूकुम पश्चिम, भिमबहादुर विश्वकर्मा (तिरुवा) (पुरुष) मुगु (पिछडिएको क्षेत्र) र हजारी नेपाली (महिला) जाजरकोट (पिछडिएको क्षेत्र)बाट समेटिएका छन् ।

यस्तै उक्त पार्टीबाट कालीबहादुर सहकारी (पुरुष) कालीकोट, पार्वतीकुमारी गिरी (महिला) सुर्खेत र नबिना केसी (महिला) जुम्ला, रमादेवी न्यौपाने (महिला) डोल्पाबाट बन्दसूचिमा परेका छन् ।

यता नेकपा एमालेको बन्दसूचीमा परेका कर्णालीका उम्मेदवारहरूमा यसुदाकुमारी बराल –महिला–खसआर्य) कालीकोट, सत्यदेवी खड्का (महिला–खसआर्य) दैलेख, गोरखबहादुर बोगटी (पुरुष–खसआर्य) हुम्ला, लालबहादुर महतारा (पुरुष–खसआर्य) जाजरकोट, दुर्गबहादुर शाही (पुरुष–खसआर्य) कालीकोट र सोनाम छिरिङ लामा (आदिवासी) मुगु रहेका छन् भने सुर्खेतबाट सुरुमा बन्दसूचीमा नाम परेका पुराना नेता बालराम शर्माले आफ्नो नाम फिर्ता लिएका छन् ।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट गंगा खड्का बोगटी (कालीकोट), रमेशकुमार आचार्य (सुर्खेत), कृष्णबहादुर बुढा (जाजरकोट), तिर्थबहादुर बुढा (जुम्ला), चिन्तामणी आचार्य (कालीकोट), झक्कुप्रसाद घर्ती (रूकुम पश्चिम), पार्वती विक (जाजरकोट) र शारदा दमै (सल्यान)बाट बन्दसूचिमा समावेश भएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार