सोेमबारबाट निर्वाचन आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगले माघ ५ गते सोमबारबाट निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मंगलबार प्रत्यक्षतर्फ मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयनको अघिल्लो दिनबाट निर्वाचन आचारसंहिता लागु गर्ने आयोगले निर्णय गरेको छ ।
चुनाव लक्षित प्रचारप्रसार, उम्मेदवारले गर्ने गतिविधि, सरकारले गर्ने नियुक्ति र सञ्चार माध्यमहरूले प्रकाशन गर्ने समाचारहरूको अनुगमन गर्नेगरी आचारसंहिता जारी गरिएको छ । निर्वाचन आचारसंहिताले सरकारी स्रोत–साधन दुरूपयोग, सामाजिक सञ्जाल दुरूपयोग, गलत, भ्रामक सूचना, द्वेषपूर्ण अभिव्यक्ति वा एआई दुरूपयोग गरी प्रचारप्रसार गर्न रोक लगाएको छ ।
यसैगरी दलहरूले निर्वाचन प्रचारप्रसार बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्र गर्न पाउने, जुलुस गर्दा सडकको एकतिहाइ भाग मात्र ओगट्न पाइने, आमसभा र भेलाको जानकारी प्रहरीलाई २४ घन्टा अगावै दिनुपर्ने व्यवस्था आचारसंहितामा गरिएको छ ।
राजनीतिक दलहरूलाई सार्वजनिक स्थानमा झन्डा, चुनाव चिह्न टाँस्न र तोकिएको आकारभन्दा ठूलो सामग्री प्रयोग गर्न नपाउने र एउटा कार्यक्रममा बढीमा १० वटा झण्डा प्रयोग गर्न पाउने जस्ता नियम पनि आचारसंहितामा छन् ।
अचारसंहिताले दलहरूले निर्वाचनका लागि खोलेको कार्यालयमा तीन फिट उचाइ र चार फिट लम्बाइको ब्यानर राख्न पाउने, टिसर्ट, क्याप, ब्याग लगायतमा चुनाव चिह्न छाप्न वा वितरण गर्न नपाइने नियम पनि लगाएको छ ।
निर्वाचन हुनुभन्दा ४८ घन्टाअघि मौन अवधि सुरु हुने, राजनीतिक दलले टिभी र रेडियोमा बढीमा दिनको चार पटक विज्ञापन गर्न पाउने, एउटा विज्ञापन बढीमा एक मिनेट लामो हुनुपर्ने, विज्ञापन बजाउँदा एक घन्टाको अन्तरमा बजाउनुपर्ने र सञ्चार माध्यमले सशुल्क विज्ञापन भएको खुलाउनुपर्ने जस्ता नियम पनि समेटेको छ ।









प्रतिक्रिया दिनुहोस्