कर्णालीमा निर्वाचनको तयारी तीव्रः राजनीतिक चहलपहल बढ्दै



नन्दराम जैशी । सुर्खेत ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा तयारी तीव्र पारिएको छ । निर्वाचन तय भएपछि कर्णाली प्रदेशमा चुनावी तयारी तीव्र रूपमा अघि बढाइएको हो । यसका लागि निर्वाचन आयोग, राजनीतिक दलहरू तथा सुरक्षा निकायहरू सक्रिय रूपमा तयारीमा जुटिरहेका छन् ।

प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले चुनावको लागि मुख्य निर्वाचन अधिकृत र अन्य अधिकृतहरूलाई नियुक्त गरी तयारी प्रक्रियालाई तीव्र बनाएका छन् भने प्रत्येक जिल्ला न्यायाधीशलाई अधिकृत पदमा राखेर चुनावी कार्य सुचारु गरिएको छ । निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदाता सूचीमा समावेश गरिएको छ ।

कर्णालीका संवेदनशील निर्वाचन केन्द्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउने रणनीति अपनाइएको छ भने सबै प्रमुख राजनीतिक दलहरूले उम्मेदवार छनोट, टिकट वितरण र मतदाता सम्पर्क कार्यक्रमलाई पनि तीव्रता दिएका छन् । पछिल्लो समय निर्वाचनको लागि राजनीतिक सरगर्मी बढेको छ भने मतदाताहरूको सहभागिता, समानुपातिक सूची तयारी र प्रचार गतिविधिहरूमा पनि सबै दलले जोड दिएका छन् ।

यता कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार निर्वाचनलाई लक्षित गर्दै सबै जिल्लामा सुरक्षा गस्ती तथा निर्वाचन स्थलमा अनुगमनका गतिविधि तीव्र पारिएको छ । प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक माधवप्रसाद क्षेष्ठले निर्वाचन विशेष सुरक्षा रणनीति अपनाइएको बताए । सोहीअनुसार सुरक्षा व्यवस्थालाई कडा पार्दै प्रहरीले आफ्नो आवश्यक तयारी थालेको उनको भनाइ छ । यस्तै निर्वाचनका लागि कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

निर्वाचन सञ्चालनका लागि आवश्यक कामहरू गर्न औपचारिक रूपमै निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृतहरूले निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै आवश्यक काम सुरु गरिएको बताएका छन् । निर्वाचन सामूहिक रूपमा गरिने कार्य भएको उल्लेख गर्दै यसलाई सफलतापूर्वक सम्पन्न गर्ने उनीहरूको प्रतिबद्धता छ ।

१० लाख ३७ हजार मतदाता

कर्णालीमा आगामी निर्वाचनका लागि १० लाख ३७ हजारभन्दा बढी मतदाताको नामावली कायम भएको छ । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकसहित कूल मतदाताको सङ्ख्या १० लाख ३७ हजार २५० पुगेको हो । विसं २०७९ को निर्वाचनमा नौ लाख आठ हजार ४३३ मतदाता रहेको कर्णालीमा यसपटक एक लाख २८ हजार आठ सय १७ मतदाता थपिएका हुन्।

कूल मतदातामध्ये पुरुषको सङ्ख्या पाँच लाख २७ हजार ८८६ र महिलाको सङ्ख्या पाँच लाख नौ हजार ३६१ रहेको छ । प्रदेशका १० जिल्लामध्ये सबैभन्दा बढी मतदाता सुर्खेतमा दुई लाख ४८ हजार ९४३ रहेका छन् भने सबैभन्दा कम डोल्पामा २४ हजार ११५ मतदाता छन् । सल्यानमा एक लाख ६२ हजार ४४९, दैलेखमा एक लाख ६१ हजार २०४, जाजरकोटमा एक लाख सात हजार ९१ र रूकुम पश्चिममा एक लाख ६ हजार ६६० मतदाता कायम भएका छन् ।

यस्तै कालीकोटमा ८४ हजार ६४६, जुम्लामा ७१ हजार ७३९, मुगुमा ३६ हजार ३१ र हुम्लामा ३४ हजार ३७२ मतदाता रहेका छन् । निर्वाचनका लागि कर्णालीमा ९४१ मतदानस्थल र एक हजार १३७ मतदान केन्द्र तोकिएको छ । मतदानस्थलको सङ्ख्याका आधारमा सुर्खेतमा १४०, दैलेखमा १३९, सल्यानमा ११७, कालीकोटमा १०३, जाजरकोटमा ८८, जुम्लामा ८३, रूकुम पश्चिममा ७६, डोल्पामा ६८, मुगुमा ६७ र हुम्लामा ६० स्थान तोकिएको छ ।

निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रको व्यवस्थापन जिल्ला अनुसार फरक–फरक रहेको छ । जसमा सुर्खेतमा सबैभन्दा बढी ३०२ र हुम्लामा सबैभन्दा कम ६४ केन्द्र रहेका छन् । निर्वाचनलाई लक्षित गरी प्रदेश निर्वाचन कार्यालयले आफ्नो तयारीलाई तीव्रता दिएको जनाएको छ ।

निर्वाचन प्रहरीमा दोब्बर आवेदन 

यता आगामी निर्वाचनका लागि कर्णाली प्रदेशमा निर्वाचन प्रहरीको कोटा १० हजार ७५२ जना निर्धारण गरिएको छ । नेपाल प्रहरीको नौ हजार ७७३ र सशस्त्र प्रहरी बलका एक हजार नौ जनाको कोटा उल्लेख छ । तर निर्वाचन प्रहरी भर्नाका लागि भएको आवेदनमा आवश्यकताभन्दा झण्डै दोब्बर आवेदन पेश भएका छन् । निर्वाचनका लागि कर्णालीका १० जिल्लामा १८ हजार १६४ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दिएका हुन् ।

निर्वाचन प्रहरी भर्नाका लागि नेपाल प्रहरीका १७ हजार ३२ र शसस्त्र प्रहरी बलमा एक हजार १३२ जनाको आवेदन परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मोहनजंग बुढथापाले अन्य जिल्लाभन्दा सुर्खेतमा कोटाभन्दा दोब्बर बढीले आवेदन दिएको बताए । उनका अनुसार आवेदन खुलाइएको सात दिनमै १८ हजार १६४ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा अधिकांश युवाहरू रहेको उनले बताए ।

जसमा सुर्खेतमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र जनपद गरि एक हजार ८४० भर्ना गर्नु पर्नेमा चार हजार ३७८ जनाको आवेदन परेको छ ।त्यसैगरि जाजारकोट ९८२ जनाका लगि एक हजार ५८६, रूकुम पश्चिममा ९४९ का लगि एक हजार ४१५, सल्यानमा एक हजार ४०६ मा एक हजार ८०७ र कालीकोटमा एक हजार १९८ का लागि एक हजार ४८७ जनाको आवेदन परेको छ ।

यस्तै जुम्लामा ९७४ का लागि एक हजार ८९४, मुगु ६२६ का लागि एक हजार २८९, डोल्पा ६२५ का लागि एक हजार १४१, हुम्लामा ९९५ पदका लागि एक हजार २१६ र दैलेखमा एक हजार ५५७ भर्ना गर्नुपर्नेमा एक हजार ९५१ आवेदन परेका छन् । आवश्यक मागभन्दा सात हजार ४१२ जना बढी आवेदन परेका हुन् । निर्वाचन प्रहरीको छनोटका लागि माघ ५ गते लिखित परीक्षा गर्ने तयारी छ भने निर्वाचन प्रहरीको सेवा अवधि ४० दिनको रहनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार