सल्यान प्रहरीद्वारा घटना विवरण सार्वजनिक



सल्यान ।

जिल्ला प्रहरी कार्यालय सल्यानले पुस महिनामा भएका घटना विवरण सार्वजनिक गरेको छ । हरेक महिनाका घटना तथा प्रगति विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै आएको छ । पुस महिनामा भएका प्रगति विवरण सार्वजनिक गर्दै प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुर्ण केसीले एक महिनाको अवधिमा जिल्लामा १८ वटा मुद्दा दर्ता भएको जानकारी दिए ।

जसमध्ये महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित तीन, आर्थिक अपराधका दुई र अन्य १० वटा मुद्दा दर्ता भएको उनले बताए ।
उनका अनुसार घरेलु हिंसाका तीन वटा उजुरी परेकोमा मिलापत्रमार्फत मेलमिलाप गराइएको छ । पुस महिनामा १३ जना फरार प्रतिवादी पक्राउ गरिएको छ भने ६ जना व्यक्ति हराएकोमा चार जनालाई फेला पारी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कार्यालयका अनुसार प्रत्यक्ष निवेदनबाट १४ वटा उजुरी परेकोमा नौ वटा फछ्र्यौट भएका छन् । यस्तै सामुदायिक वनमा लुकाई राखेको ६ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । त्रिवेणी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनमा लुकाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।

बरामद गरेको बन्दुकमध्ये एक थानमा बारुदसमेत भरिएको थियो । स्थानीयले सिकार खेल्न प्रयोग गर्दै आएका भरुवा बन्दुक हुनसक्ने अनुमान छ । ती बन्दुक घरमा राखे थाहा पाउने डरले जंगलमा लुकाएको हुनसक्ने जिल्ला प्रहरी सल्यानका डीएसपी हेमबहादुर केसीले बताए । उनका अनुसार एक महिनायता ३१ थान भरुवा बन्दुक बरामद गरिएको छ । निर्वाचनको बेला प्रयोग हुनसक्ने भन्दै सरकारले अवैध हतियार खोजी गर्न निर्देशन दिएपछि ग्रामीण क्षेत्रमा लुकाई राखेका हतियार खोजी भइरहेको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार