अन्तर्राष्ट्रिय फुटसलमा सात वर्षपछि नेपाली पुरुष टोलीले जित हात पारेको छ । बिहीबार नेपालले दक्षिण एसिया फुटबल महासंघ (साफ) पुरुष फुटसल च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध २–१ को पुनरागमन जित निकाल्यो । पछिल्लो पटक नेपालले सन् २०१८ मा पाकिस्तानविरुद्ध २–१ को जित निकालेको थियो ।
थाइल्यान्डको बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा नेपाललाई सुखद सुरुवात दिलाउन दुवै गोल सरोज तामाङले गरे । श्रीलंकाका लागि मोहम्मद कुर्सेथ मोहम्मद शाजानले गोल गरे । शाजानको गोलमार्फत खेलको १०औँ मिनेटमा श्रीलंकाले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै सरोजले नेपाललाई बराबरीमा ल्याए।
दोस्रो हाफको सुरुवातमै सरोजले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए । जितसँगै नेपालले तीन अंक जोडेको छ । पराजित श्रीलंकाको दुई खेलबाट एक अंक छ । पहिलो खेलमा श्रीलंका भुटानसँग ३–३ को बराबरीमा रोकिएको थियो । अब नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भारतको सामना गर्नेछ ।
श्रीलंकाले पाकिस्तानविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ । नेपाली टोली २६ महिनापछि अन्तर्राष्ट्रिय मञ्चमा फर्किएको हो । पछिल्लो पटक नेपालले मुख्य प्रशिक्षक गौरव बस्नेतको नेतृत्वमा मंगोलियामा सम्पन्न ‘एएफसी एसियन कप छनोट २०२४’ खेलेको थियो ।









प्रतिक्रिया दिनुहोस्