खुलालु सलीसल्ला सडक स्तरोन्नति गरिँदै



हुम्ला ।

कर्णाली करिडोरको कालीकोट खण्ड खुलालुदेखि हुम्ला जिल्लाको सलीसल्लासम्मको कच्ची सडक स्तरोन्नति कार्य तीव्र पारिएको छ । बजेट व्यवस्था गरी निर्माण कम्पनीसँग सम्झौता भएपछि कामले गति लिएको हो । कर्णाली करिडोर योजना बाजुरा कार्यालय प्रमुख बिसुनदास लामाले खुलालु सलीसल्ला सडकको १२३ किलोमिटर स्तरोन्नति कार्य धमाधम भइरहेको बताए ।

‘सडक विभागले बजेटको व्यवस्था गरेपछि कार्यालयले सडकको स्तरोन्नति गर्ने र पहिरो नियन्त्रण कार्य गरिरहेको छ,’ उनले भने, ‘सडकलाई १० मिटर चौडा निर्माण गर्ने, माटो कटिङ गर्ने, ग्याविन लगाउने, भर्ने र नाला निर्माण गर्ने कार्य भइरहेको छ ।’ सडकको काम स्काभेटर र कामदारबाट भइरहेको छ । उक्त कार्यालयले खुलालु सलीसल्ला सडकको निर्माण तथा मर्मतसम्भारको जिम्मेवारी पाएअनुसार काम भइरहेको लामाले बताए । उनका अनुसार उक्त कार्यका लागि दुईवटा ठेक्का व्यवस्थापन भएको छ ।

पहिलो खण्डअन्तर्गत पिलीचौरदेखि कवाडीसम्म २३ किलोमिटर रहेको छ । यसका लगि एक अर्ब बजेटमा सम्झौता भई काम भइरहेको छ । यसको भौतिक प्रगति हालसम्म आठ प्रतिशत भएको उनले बताए । दोस्रो खण्ड कवाडीदेखि तुम्चसम्म २७ किलोमिटर सडकको पनि एक अर्बमा सिंह व्रदर्स कन्तेक जेभीसँग सम्झौता भई निर्माण प्रक्रियामा रहेको छ ।

‘हाल बाजुरा र कालीकोटको खुलालु क्षेत्रको सडकको स्तरोन्नति कार्य भइरहेको छ,’ उनले भपे, ‘अब चाँडै बाजुरा र हुम्ला जिल्लााको तुम्चसम्मको सडकको पनि स्तरोन्नति गर्ने कार्य सुरु हुनेछ ।’ २०५६ सालमा शिलान्यास भएको कर्णाली करिडोरको खुलालु लैफु हुँदै हुम्लाको सलीसल्ला सडकको नेपाली सेनााले २०७८ सालमा ट्रयाक खुलााउने कार्य सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो ।

त्यसयता उक्त खण्डको सडकको स्तरोन्नति हुनुपर्ने माग चालक तथा यात्रुहरूको रहेको थियो । यो सडकको निर्माण कार्य पूरा भएपछि हुम्लाबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत एकदिनमै पुग्न सकिने छ । हाल हुम्लाबाट सुर्खेत दुईदिन लाग्ने गर्छ । रााष्ट्रिय गौरवको अयोजना कर्णाली करिडोर नेपाल भारतको दक्षिणी सीमाक्षेत्र बाँँके जिल्लाको जमुनाहदेखि नेपालको उत्तरी क्षेत्र हुम्ला जिल्लाको हिल्सा जोड्ने कूल लम्बाई ६८२ किलो मिटर रहेको छ । उक्त सडकको ट्रयाक खुलाउने कार्य भने पूरा भइसकेको छ । अब हुम्ला खण्डको सलीसल्लादेखि हिल्सासम्मको १४० किलोमिटर सडक स्तरोन्नतिका लागि बजेटको सुनिश्चितता भएर बहुवर्षीय ठेक्का प्रक्रियामा छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार