
फाइल तस्वीर
नन्दराम जैशी । सुर्खेत ।
जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितहरू धमाधम आफ्नो घर आफैँ बनाउन कस्सिएका छन् । कतिपयले स्थायी घर निर्माण गरिसकेका छन् भने कतिपय घर बनाउँदैछन् । तर भूकम्पले दिएको चेतावनीलाई बेवास्ता गर्दै उनीहरूले नै भूकम्पप्रतिरोधी घर बनाएका छैनन् । आफन्त र विभिन्न व्यक्तिसँग ऋण सापट लिएर स्थायी घर बनाइरहेका उनीहरू जाडो र गर्मी समयमा भोगेको दुःख र वर्षामा हुने समस्यालाई सम्झेर घर बनाउन बाध्य भएको बताउँछन् ।
भूकम्पले घर भत्किएपछि अस्थायी टहरामा बस्न बाध्य भएका जाजरकोट नलगाड–२ का नारायण शर्माले व्यक्तिगत खर्चमा अहिले स्थायी घर बनाएका छन् । तर उनको घर पनि भूकम्पप्रतिरोधी छैन । उनीजस्तै अधिकांश भूकम्प पीडितले अस्थायी टहराभित्र बस्दा गर्मीले पोल्ने, हावाहुरीले सताउने, हिउँदको चिसो र बर्खाको बाढीको त्रासलाई मध्यनजर गर्दै घर बनाएका छन् । तर उनीहरूले बनाएका घर भूकम्पप्रतिरोधी छैनन् ।
सानीभेरी गाउँपालिका–४ रूकुम पश्चिमकी भूकम्प पीडित दिव्या पुनले ऋण गरेरै भए पनि स्थायी प्रकृतिको घर बनाएपनि भूकम्पप्रतिरोधी बनाउन नसेको स्विकार गरिन् । ‘स्थायी घर बनाउने पैसा सरकारले कहिले दिन्छ भन्ने टुङ्गो नभएपछि व्यक्तिगत खर्चमै घर बनाउन थालेका छौँ,’ उनले भनिन्, ‘भूकम्पले घर भत्कायो, आफन्तजन गुमायौँ तर अब बनाइने घर सुरक्षित हुनुपर्छ भन्ने सोच व्यवहारमा उतार्न सकिएको छैन।’
उनका अनुसार कतिपय ठाउँमा पुरानै शैलीका माटो र ढुंगाका घर पुनः निर्माण भइरहेका छन् ।
जसले भविष्यमा आउने भूकम्पमा पुनः ठूलो क्षतिको जोखिम बढाएको छ । भूकम्पले ठूलो जनधनको क्षति व्यहोरेका पीडितहरूले नै अझैसम्म भूकम्पप्रतिरोधी घर निर्माणमा ध्यान दिएका छैनन् । पटक–पटकका भूकम्पबाट गम्भीर पीडा भोगे पनि सुरक्षित र दीर्घकालीन संरचना निर्माणतर्फ अपेक्षित ध्यान नपुगेको जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले स्विकारे । ‘भूकम्पले सयौँको ज्यान लियो । हजारौँ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भए,’ उनले भने, ‘तर पुनर्निर्माण प्रक्रिया सुस्त हुनु, प्राविधिक जनशक्तिको अभाव, आर्थिक समस्या र जनचेतनाको कमीका कारण भूकम्पप्रतिरोधी घर निर्माणले गति लिन सकेको छैन ।’
उनका अनुसार भूकम्पपछि अस्थायी टहरामा बस्न बाध्य भएका पीडितहरू अहिले पनि जोखिमपूर्ण संरचनामै जीवन बिताइरहेका छन् ।भूकम्पविद् चिन्तन तिमल्सिनाले भूकम्पबाट पाठ सिकेर अब बन्ने सबै संरचना भूकम्पप्रतिरोधी बनाउनुपर्नेमा जोड दिए । ‘स्थानीय तहले भवन संहिता कडाइका साथ कार्यान्वयन गर्नुका साथै नागरिकलाई भूकम्पप्रतिरोधी निर्माणबारे तालिम र प्राविधिक सहयोग उपलब्ध गराउन आवश्यक छ,’ उनले भने, ‘भूकम्पले दिएको चेतावनीलाई बेवास्ता गरेमा भविष्यमा हुने क्षति अझ भयावह हुन सक्छ । अब बन्ने प्रत्येक संरचना भूकम्पप्रतिरोधी बनाउनु अपरिहार्य छ ।’
सरकारी निकायले पुनर्निर्माणका लागि अनुदान तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको आलोचना बढिरहेको छ । भूकम्पपीडितहरू सुरक्षित आवासको पर्खाइमा रहेका बेला अब ढिलाइ नगरी दिगो र सुरक्षित पुनर्निर्माणमा ध्यान दिनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।
अब चुक्न मिल्दैन
भूकम्पले ठूलो क्षति व्यहोरेका जाजरकोट र रूकुम पश्चिमका बस्तीमा अझै पनि भूकम्पप्रतिरोधी घर निर्माण नहुनु चिन्ताको विषय बनेको इन्जिनियर जनक रोकाया बताउँछन् । अब बन्ने कुनै पनि संरचना भूकम्पप्रतिरोधी नबनाए भविष्यमा झन् ठूलो क्षति हुने उनको चेतावनी छ ।
‘पुनःनिर्माण भइरहेका घरहरू भवन संहिताअनुसार बनाउनुपर्छ । भूकम्पपछि पुनर्निर्माणको अवसर थियो, तर धेरै ठाउँमा पुरानै शैलीका ढुंगा–माटोका घर बनिरहेका छन्, यो अत्यन्त जोखिमपूर्ण छ,’ उनले भने, ‘भूकम्पप्रतिरोधी घर बनाउनु महँगो होइन तर सही डिजाइन, गुणस्तरीय सामग्री र प्राविधिक निगरानी मात्रै अनिवार्य चाहिन्छ ।’
साधारण आरसीसी वा ढुंगा–माटोको घर पनि सही ब्यान्ड, स्तम्भ र जोड प्रणाली प्रयोग गरेर सुरक्षित बनाउन सकिने भेरी नगरपालिका जाजरकोटमा कार्यरत इन्जिनियर मोहन मल्लको भनाइ छ । उनका अनुसार भवन संहिता कार्यान्वयन नहुनु, प्राविधिक जनशक्तिको कमी र जनचेतनाको अभावले पुनर्निर्माणमा मुख्य समस्या भएको छ । प्रभावित क्षेत्रका स्थानीय तहले प्राविधिक निगरानीबिना घर बनाउन अनुमति दिँदा पनि थप जोखिम बढेको हो ।
इन्जिनियरहरूका अनुसार भूकम्पबाट पाठ सिकेर अब बन्ने विद्यालय, स्वास्थ्य चौकी, सरकारी भवनदेखि निजी आवाससम्म सबै संरचना भूकम्पप्रतिरोधी हुनुपर्छ । अब पनि चेतावनीलाई बेवास्ता गरियो भने आगामी भूकम्पमा झन् ठूलो क्षति दोहोरिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् । पुनर्निर्माण प्रक्रियामा स्थानीय तह, इन्जिनियर र समुदायबीच सहकार्य आवश्यक रहेको छ भने सुरक्षित संरचना निर्माणलाई प्राथमिकता दिन जरुरी छ ।









प्रतिक्रिया दिनुहोस्