काठमाडौं ।
नेपाली काग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ कान्छारामलाई निलम्बन गरेको छ । मंगलबार ललितपुरकाे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेकाे कांग्रेसकाे केन्द्रीय अनुशासन समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
अनुशासन उल्लघंनको कसुरमा स्पष्टीकरण सोधेकोमा उनले पार्टी नेतृत्वविरुद्ध भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको भन्दै बैठकले निलम्बन गर्ने निर्णय गरेको हो ।
तामाङले दिएको स्पष्टीकरण प्रारम्भिक रूपमा हेर्दा चित्तबुझ्दो नभएको र यस विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएकाले उनलाई पदमा राखिराख्दा अनुसन्धान प्रभावित हुने निष्कर्ष निकालिएकाे समितिका संयोजक तारामान गुरुङले बताए । केन्द्रीय अनुशासन समितिले ७ वैशाखमा तामाङलाई स्पष्टीकरण साेधेकाे थियाे ।
निर्णयमा भनिएकाे छ, ‘नेपाली कांग्रेस रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३–०१–०७ गतेको निर्णयअनुसार अनुशासन उल्लघंनको कसुरमा स्पष्टीकरण सोधिएकोमा निजले पार्टी नेतृत्वका विरुद्धमा वद्नियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको कुरालाई स्वीकार गरी त्यस्तो अभिप्राय थिएन भनी मिति २०८३–०१–०८ गतेका दिन दिनु भएको स्पष्टीकरण जवाफ प्रारम्भिक रूपमा हेर्दा सन्तोषजनक एवं चित्तबुझ्दो नदेखिएको हुँदा यस विषयमा थप अनुसन्धान गरी निर्णय तहमा पुग्नु पर्ने देखिएकोले निज पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदमा राखिराख्दा अनुसन्धान कार्य प्रभावित हुने भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (८) (ङ) तथा ऐ. नियमावली, २०७६ को नियम २८ (३) बमोजिम अनुशासन उल्लघंन गरेको कसुरमा निर्णय नहुन्जेलसम्मका लागि पूर्णबहादुर तामाङ (कान्छाराम) लाई आजैका मितिदेखि नेपाली कांग्रेस रामेछाप जिल्लाको सभापति पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गर्दछ ।’









प्रतिक्रिया दिनुहोस्