थारू समुदायमा माघी संक्रान्तिको जति सामाजिक, सांस्कृतिक महत्व छ त्यति धार्मिक मान्यता पनि छ । माघ १ गतेको दिनलाई हरेक वर्ष माघी संक्रान्तिको रूपमा विशेष रूपमा मनाउने परम्परादेखिकै चलन रहेको छ । यस दिन भाले नबास्दै गंगा, नदी, सागरमा गई नुहाउनाले पाप कर्म कट्नुका साथै धर्म (पुण्य) मिल्ने र आफूले मागेको वरदान पाइन्छ भन्ने धार्मिक जनविश्वास थारू समाजमा छ । त्यसै गरी निःसन्तान दाम्पतीलाई सन्तान प्राप्ति हुन्छ, एवम् छोरा छोरा हुनेले छोरी र छोरी छोरी हुनेले छोरा प्राप्ति हुन्छ भन्ने जन विश्वास छ ।
ढकबहादुर थारू
नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्तर हिमालदेखि दक्षिण तराईसम्म बसोबास गर्ने विभिन्न जात–जाति र समुदायको बसोबास छ । विभिन्न समुदायले माघी संक्रान्तिलाई विभिन्न तरिकाले मनाउने गर्दछन् । जसमध्ये तराईमा बस्ने आदिवासी थारू जाति खासगरी रुपन्देही, नवलपरासी, चितवन, कपिलवस्तुलगायत पूर्वका केही जिल्लादेखि पश्चिम नेपालको दाङ्ग, देउखुरी, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर जिल्लामा बसोबास गर्दै आइरहेका थारू समुदायको ठाउँअनुसार आ–आफ्नै मौलिक भेषभूषा, कला, संस्कृति परम्परागत रीतिरिवाज र पर्वहरू रहेका छन् । थारूहरूकोे धेरै पर्वहरूमध्ये माघी पर्वलाई राष्ट्रिय पर्व तथा नयाँ वर्षको रूपमा मनाउने गरिएको छ । विसं २०५९ सालदेखि नेपाल सरकारले थारूहरूको माघी पर्वलाई राष्ट्रिय पर्वको रूपमा मान्यता प्रदान गरेको छ । थारूहरूले यस पर्वलाई विस २०५९ सालमै पहिलोपटक काठमाडौँको नेपाल टुरिजम बोर्डमा थारू कल्याणकारीणी सभा र थारू विद्यार्थी समाजको संयुक्त आयोजनामा संस्थागत रूपमा माघी कार्यक्रम गरेको थियो । दोस्रो वर्ष बानेश्वरको सहकारी भवनमा, तेस्रो वर्ष राष्ट्रिय सभागृह, चौथो वर्ष प्रज्ञा भवन त्यसपछि २०७२ सालमा रंगशालाबाहेक अन्य सबै वर्ष टुडिखेलमा माघी महोत्सव भयो र पछिल्लो समयमा टोल, गाउँ, वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रमा राष्ट्रियस्तरमै संस्थागत रूपमा कार्यक्रम गर्दै आइरहेका छन् । थारू समुदायसँग सम्बन्धित विभिन्न संघसंस्थाहरू लगायत सरकारी तथा अन्य संघसंस्थाहरूको संस्थागत सहयोगमा माघी मिलन, माघी महोत्सव, खिचडी महोत्सव, माघी मेला, माघी विषेश त कतै थारू सांस्कृतिक पुनर्जागरण अभियान आदी नामले थारू समुदायले माघी विशेष कार्यक्रम आयोजना गर्दै आएका छन् ।
माघीको कार्यक्रममा वरघर, वडा अध्यक्ष, मेयर, माननीय, सभामुख, मन्त्री, प्रधानमन्त्री, राष्ट्रप्रमुख लगायतको उच्च ओहदाका व्यक्तित्वहरूको प्रमुख आतिथ्यतामा थारू जातिको परम्परागत मौलिक पहिचान, संस्कृति संरक्षणसहित आ–आफ्नो ठाउँको परम्परागत भेषभूषा, भाषा, कला, संस्कृति, परम्परागत संस्कार, रीतिरिवाज सम्वर्धन, प्रवर्धन र व्यावसायीकरण गर्ने उद्देश्यले देशका विभिन्न ठाउँमा कार्यक्रम भइरहेका छन् ।
दार्शनिक रूपमा जनमानसको बुझाइअनुसार जुन दिनबाट दिन लामो रात छोँटो हुने र जाडो मौसम हटी गर्मी मौसमको सुरुवात हुने (गर्मीको जन्मदिन) भन्ने गरिन्छ अर्थात् माघ महिनाको १ गतेबाट सूर्यको अवस्थिति दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धमा प्रवेश गर्दछ त्यस दिनलाई माघे संक्रान्ति भन्ने गरिन्छ । माघी संक्रान्तीदेखि सूर्य धनुबाट मकर राशिमा प्रवेश गरि उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिने गरिन्छ । कसैले यसलाई माघ, कसैले माघी, कसैले माघे संक्रान्ति, कसैले तिलुवा संक्रान्ति त कसैले मकर संक्रान्ति आदि नामले विभिन्न समुदायले आ–आफ्नो तरिकाले मनाइएको पाइन्छ । पश्चिम नेपालका थारूहरूले आफ्ना पूर्खाहरूले गर्दै र मान्दै आएको क्रियाकलापलाई परम्परागत रूपमा मान्दै आएको थारू जातिहरूले मनाउने विभिन्न चाड पर्वहरूमध्ये यो एक ठूलो र विशेष महत्वपूर्ण पर्व माघी हो । थारू समुदायमा माघी संक्रान्तिको जति सामाजिक, सांस्कृतिक महत्व छ त्यति धार्मिक मान्यता पनि छ । माघ १ गतेको दिनलाई हरेक वर्ष माघी संक्रान्तिको रूपमा विशेष रूपमा मनाउने परम्परादेखिकै चलन रहेको छ । यस दिन भाले नबास्दै गंगा, नदी, सागरमा गई नुहाउनाले पाप कर्म कट्नुका साथै धर्म (पुण्य) मिल्ने र आफूले मागेको वरदान पाइन्छ भन्ने धार्मिक जनविश्वास थारू समाजमा छ । त्यसै गरी निःसन्तान दाम्पतीलाई सन्तान प्राप्ति हुन्छ, एवम् छोरा छोरा हुनेले छोरी र छोरी छोरी हुनेले छोरा प्राप्ति हुन्छ भन्ने जन विश्वास छ ।
धार्मिक विश्वासकै कारण प्रत्येक वर्ष दाङ्ग जिल्लाको बैवाङ्कमा रहेको सती मन्दिरको सागर (सगरोम), दाङ्ग घोराहीको बाह्रकुने ताल, त्यसैगरी लमहीको रिहारमा रहेको सागर (सगरोम)मा नुहाउने र बगार बाबाको पूजा आराधना गर्नेहरूको ठूलो घुइँचो हुने गर्दछ । त्यसैगरी बाँकेको मानखोलाको दुई मुहानमा स्नान गरी नौवस्ताको शिव मन्दिरमा, राप्तीसोनारी बैजापुरको राप्ती नदीमा स्नान गरी कुम्महरमा भुवँरभवानीको दर्शन गर्ने र मेला हेर्नेको प्रत्येक वर्ष घुइँचो हुन्छ । त्यसैगरी बर्दिया जिल्लाको जयनगरको सदाशिव मन्दिर, ठाकुरद्वाराको ठाकुरबाबा मन्दिरमा नुहाउने र दर्शन गर्ने डफु (ढाक) बजाउने जनमानसको मेला लाग्ने गर्दछ । यस्तै गरी नवलपरासीको देवघाट, कालीगण्डकी किनार, पर्वतको सेतीबेनी, काठमाडौँ शंखमुलको बाग्मती किनारलगायत देशका विभिन्न ठाउँहरूको ताल, पोखरी, नदीनालामा स्नान गरी माहादेवको पूजा आराधना गर्ने श्रद्धालुहरूको घुइँचो रहन्छ । थारू समुदायमा माघ १ गतेदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ । त्यसैले थारू समुदायमा माघ १ गतेदेखि नयाँ कामको सुरु गर्ने चलन छ । विवाह गर्ने, नयाँ अगुवा, महटावा, भल्मन्सा, चिरक्या, गुरुवा वरगन्वा, चौकिडरवा पुरानो छोड्ने र नयाँ राख्ने माघबाटै हुन्छ । विकासको लागि कहाँ कहाँ पुल पुलेसा, बाटो घाटो, कुला, नहर आदि बनाउने वर्षभरिको कार्ययोजना माघ मै बनाउने गर्छन् । माघीमा मालिकको घरमा काम गर्ने कमैयाहरू पनि खानपिन र नाचगानका लागि छुट्टी पाउने चलन थियो । हाल नेपालमा कमैया प्रथालाई सरकारले प्रतिबन्ध गरेको छ । घरबाट टाढा टाढा गएका मानिसहरू पनि माघी संक्रान्तिमा घर आउने गर्दछन् । त्यसैले माघलाई मुक्तिको दिन पनि भनिने चलन छ ।
पुरानो चलनअनुसार माघीको दुई दिन अगाडिको दिनलाई माछा मार्ने माघ भनिन्छ । यो दिन सबै गाउँको मान्छे माछा मार्न नदी, नालामा जान्छन् भने संक्रान्तिको एक दिन अगाडि सुंगुर, बंगुर मारी मासु काट्ने दिन (सुवरमर्ना दिन÷जीटा मर्ना दिन) भनिन्छ । सुंगुर बंगुर मार्दा भाला÷झिरले गोपेर, बन्चरोले हानेर मार्ने चलन छ । यस दिन बेलुका सबै गाउँका मानिस ‘महटावक’ घर रातभर ढुम्रु÷ढमार, डफु बजाउँदै गीत गाउँदै र मघौटा नाच नाची रमाइलो गरी रातभर जाग्राम बस्ने चलन छ । ‘धुम्रु÷धमार’को पैधार र भाषा शैली तथा लय थरि थरिका हुन्छन् । यसमा यस्तो गीत गाइन्छ ।
उटहरि लाला रे हरी माठ कही सेडुरा म्वार हारी गैल हो
ढरल रे सासु ससुराक सहीडान रे लाला ।
सटी जैवु रे डैया सटी जैवु रे मै
नाना बीरासँग सटी जैवु ।।
उटहरि लाला रे हरी माठ कहीँ टिकुली म्वर हारी गैल हो
ढरल रे सासु ससुराक सहीडान रे लाला
सटी जैवु रे डैया सटी जैवु रे मै
नाना बीरासँग सटी जैवु ।।
बिहान हुन लागेपछि भाले नबास्दै नाच्दै, ढ्वाल, दफु, मादल बजाउँदै आ–आफ्नो पायक पर्ने नजिकको नदी, नाला, सागरमा नुहाउन जाने गरिन्छ । जसलाई ‘माघ लहान’ भनिन्छ । माघ नुहाउने ठाउँमा पुगी यसरी गीत गाउने चलन छ ।
बाबाकी सगरवा, मुरीया लाहान ऐली हाँ…।
सखिय हो, कौन घाट करी मुरीया लाहान ।।
बाबाकी सगरवा, मुरीया लाहान ऐली हाँ …।
सखिय हो, यह घाट करवी मुरिया लाहन ।।
नुहाइसकेपछि महटावाको घरबाट लगिएको चामलको सादा सेतो टीका बनाएर महटावाले तथा नुहाउन गएका आफूभन्दा ठूला मान्यजनहरूबाट टीका लगाउने र ढोग सलाम गर्ने गरिन्छ । त्यसपछि फेरी घरतर्फ नाच्दै गाउँदै आउने चलन छ । घरतर्फ आउँदा यसरी गीत गाइन्छ ।
बाबाकी सगरवा, मुरिया लाहान गैनु हाँ …।
सखिय हो, टिकुली छुटल पानी घाट ।।
बाबाकी सगरवा मुरिया लाहान गैनु हाँ …।
सखिय हो सत्यहन लेख हम्र घर अइली ।।
नुहाएर आउनेहरूको लागि शुभ साइत बनाउन गाउँका युवतीहरूले बाटोमा लोटा, गिलास, कचौरा र गाग्रीको कलश बनाएर राखेका हुन्छन् । नुहाएर आउनेहरूले त्यसमा आ–आफ्नो इच्छा र गच्छेअनुसार रूपैयाँ पैसा राखिदिन्छन् र महटावाको घर पुग्छन् । महटावाको घरमा दुईचार गीत गाएर आ–आफ्नो घर तर्फ फर्किन्छन् । घर आइसकेपछि सबभन्दा पहिले ‘निश्राउ कहर्ना’ गरिन्छ । ‘निश्राउ कहर्ना’ भन्नाले चामल दाल, नुन, मास एउटा भाँडोबाट अर्को भाँडोमा तीन, पाँच अथवा सात अज्जुली (उँजरा) चेलीबेटीको नाममा अलग्याइन्छ । ‘निश्राउ कहार्ने’को उद्देश्य गएको वर्षभरी आफूले जानी नजानी नराम्रो कामको पाप, दोष कटोस् भनी र अब आउने दिन स्वच्छ, पवित्र, राम्रो काम गर्ने, राम्रो मान्छे बन्ने भनेर ‘निश्राउ कहार्ने’ गरिन्छ । आफ्ना हजुरबुवा, हजुरआमा, बाबाआमालगायत आफूभन्दा ज्येष्ठ नागरिकहरूलाई ढोग सलाम गर्ने र आर्शीवाद लिने गरिन्छ । महिलाहरूले आफूभन्दा मान्यजनहरूको खुट्टा धोई ढोग÷सलाम गरी आफ्नो गच्छेअनुसार दिएको रूपैयाँ पैसा, कपडा दान दिने÷लिने चलन पनि छ । निश्राउ कहारेरस–परिवारसँगै बसी आफ्नो घरमा बनेको परिकार ढिक्री, अनदीको रोटी, माछा, मासु, जाँड, रक्सी खाने र सुख, दुःखका कुराकानी गर्दै गत वर्षको समीक्षा र आगामी वर्षको योजना बनाइन्छ । यस दिनलाई पुरुषहरूको माघी भनी जानिन्छ ।
माघी मनाउने क्रममा एक घरबाट अर्को घर गरी सबै गाउँभरी जाने ढोग सलाम गर्न आउने आफन्तजनहरूलाई मीठो मसिनो घरमा जे छ ढिक्री, रोटी, जाँड, रक्सी र सुंगुरको मासु खुवाएर पठाउने चलन छ । बेलुकापख भएपछि केटा, केटी, युवा, युवती, महिला, पुरुष आ–आफ्नो टिम जसरी पहाडी समुदायमा तिहारमा देउसी भैलो खेलिन्छ त्यसरी नै नाचगान गर्ने चलन छ ।
माघको दोस्रो दिन २ गतेलाई महिलाको माघी (जन्नीनक माघ÷माघी दिवानी) भनिन्छ । यस दिन महिलाहरू माघ मनाउने र पुरुषहरूले घरमा आएका पाहुनाहरूलाई खुवाउने गरिन्छ । यस दिन माघ १ गते चेलीबेटीका नाममा अलग्याइएको ‘निश्राउ’ चामल, दाल, नुन, मासका साथै थप विभिन्न खाने परिकारहरू ढिक्री, रोटी, तरकारी, माछा, मासु आदिसहित गच्छेअनुसार आफ्ना चेलीबेटीलाई दान दक्षिणाका रूपमा कपडा पनि दिने चलन रहेको छ । चेलीबेटी नभएकाहरूले पुरानो चलनअनुसार दलित समुदायका मानिसहरू जसले सिलाइ, आरन काम गरिदिन्छन् उनीहरूलाई दान गर्नेे चलन छ साथै यस दिन नवविवाहित दुलाहाहरूले आफ्ना सासुससुरालाई आगो ताप्नका लागि ससुरालीमा दाउरा दिन जाने चलन छ । यस दिन महटावाको निर्देशनअनुसार अगुवाले गाउँको सबै (गरढुरेन) घर मालिकहरूलाई बरघरको घरमा जम्मा हुने भनी डाँक हाल्छ र घरमुलीहरू एक एक भाँडा (गोल्रा) जाँड, रक्सी लिएर बरघरको घरमा भेला हुने चलन छ । यस भेलामा पछिल्लो वर्षमा भएको कामको समीक्षा र आगामी दिनको कार्ययोजना बनाइन्छ । यहि समयमा गाउँको अगहवा, महटावा (बरघर), भल्मन्सा, चिरक्या, वरगन्वा, चौकिदरवा, गुरुवा छोड्ने र एक वर्षको लागि नयाँ चुन्ने र नियुक्ति दिने सर्वसहमतबाट पारित हुन्छ । यसलाई थारू भाषामा ‘बखेरी बैठना’ पनि भनिन्छ । पुनः बेलुका घरघरमा मघौता नाच नाच्न सुरु हुन्छ । झाली, कस्तार, मजुरा, थपडी बजाउँदै परम्परागत आफ्नै मौलिकतामा निकै रमाइलो गर्दै नाच्ने चलन छ । यसरी नाच्ने क्रममा यस्ता खालको गीत गाउने गरिन्छ ।
नेगटी घुमटी ऐली हाँ, गोरवा पीरैल रे हाँ …
सखिए हो, आई पुगली हम्र राजाके डुवार ।।
बनिया बजार गैनु सेंडुरा मोलैनु रे हाँ …।
सखिए हो, कहिड्या र बनिया सेंडुरक मोल ।।
यिहर छामो गोझीया ओहर छामो जबिया रे हाँ …।
सखिए हो, डाम डरटी हजुर मन पसटा ।।
यसरी नाच्ने क्रममा विषेषगरी घरमुली तथा नयाँ दुलहाहरूले पैसा लुटाउने चलन छ । दर्शकहरूले पनि इच्छाअनुसार लुटाउने गर्दछन् । पैसा लुटाउँदा गुन्द्री तथा डरी बिछ्याएर पैसा लाइनैसँग राखेर नाच्नेले उल्टो छाती बनाई मुखले पैसा टिप्ने चलन छ । यसै क्रममा पैसा लुटाउने र लुट्नेको कस्ले जित्छ भनी होडबाजी पनि चल्दछ र घरमुलीले आफ्नो इच्छाअनुसार चामल, पैसा र एक बोटल रक्सी दिई बिदा दिने चलन छ । यसरी माघ मनाउने र नाँच्ने क्रम तीन दिनसम्म चल्दछ । माघमा नाचेको दान दक्षिणाले पुनः पार्टी खाने चलन छ । जसलाई छोट्की माघ (मघ्ली) भनिन्छ । छोट्की माघमा पनि कोही माछा मार्न जाने, कसैले घर–घरबाट जाँड, रक्सी, तरकारी, नुन, तेल उठाउने र कसैले मासु काट्ने गरी सामूहिक रूपमा खानपिन गरी छोट्की माघ मनाइन्छ । यस पर्वमा आ–आफ्नै टोलीका केटा, केटी, युवा, युवती, महिला, पुरुष सम्पूर्णले नाचगान रमाइलो गर्दै यो पर्वलाई एक वर्षको लागि बिदा गरिन्छ । माघी पर्व थारूहरूको आफ्नै मौलिक भाषा, परम्परा, संस्कृति र संस्कारलाई छोडी आजभोलि यो पर्व थारू गाउँमा पुरानो संस्कार र परम्परागत रूपमा मनाउन छोडिँदै जान थालेको छ ।
माघी पर्वका बेला थारू गाँउहरू सुनसान हुनु, सहर, चोक र सडकमा माघी कार्यक्रम र नाचको चहल पहल देखिनु थारू समुदायको गाउँका लागी दुःखद पक्ष हो । आजभोलि शिक्षा आधुनिकीकरण, थारू समुदायको विकास र अन्य समुदायको प्रभावका कारण फरक तरिकाले मनाउने प्रचलनलाई थारूहरूले आफ्नो परम्परागत मूल्यमान्यता, भाषा, धर्म कला, संस्कृति, परम्परागत संस्कार, रीतिरिवाज, भेषभूषा, नाचगान, खानपिनको मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवर्धनमा ध्यान दिनु पर्ने थारू समुदायमा आजको आवश्यकता देखिन्छ । अन्तमाः विस २०८२ सालको थारू सम्वत् नयाँ वर्ष २६४९ सालको उपलक्ष्यमा नेपालको हिमाल, पहाड, तराईमा बसोबास गर्ने सबै जातजाति समुदायका जनताबीच आपसी मेलमिलाप सद्भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजीक सांस्कृतिक एकतालाई सुदृढ गर्ने देश विदेशमा रहनु हुने आफन्तजन, सञ्चारकर्मी उद्योगी, व्यापारी, राजनीतिक समाजसेवी, निजामती कर्मचारी, संघसंस्था, शिक्षाप्रेमीलगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरूमा यस वर्षको माघी संक्रान्तिको पावन अवसरमा सुख, शान्ति, समृद्धि दिर्घायु एंव उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।









प्रतिक्रिया दिनुहोस्