६ महिनादेखि हराइरहेका तीन बालबालिकाको भारतको बरेलीबाट उद्धार



शुभाकर विश्वकर्मा,कोहलपुर
बाँकेको कोहलपुरका तीन नाबालकको भारतबाट उद्धार गरिएको छ । घरबाट हराएको ६ महिनापछि कोहलपुरका तीन नाबालकहरुको भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको हो । कोहलपुर नगरपालिका वडा नम्बर ४ ले सोमबार एक कार्यक्रमका बीच उनीहरुलाई भारतबाट उद्धार गरिएको जानकारी दिएको छ ।
वडा नम्बर ४ का अध्यक्ष तिरथराम थारुले बालगृहबाट उद्धार गरी प्रवासी मित्र मञ्चको सहयोगमा रुपन्देही हुँदै कोहलपुर ल्याइएको बताए ।


थारुका अनुसार १ पाँच वर्षीय बालिका सहित दुई बालकलाई भारतको बलेरीबाट उद्धार गरेर घर ल्याइएको हो । तीन जना मध्ये दुई जना बालक एकै घरका दाजुभाइ हुन भने ५ वर्षीय बालिका कोहलपुरर कै भएपनि उनको एकिन भइसकेको छैन । उनले दुई दाजु भाई कोहलपुर नगरपालिका वडा नम्बर ४ बेलनपुरका रहेको बताए ।
उद्धार गरिनेमा १० वर्षीय रोशन वादी दाई हुने भने अर्का ७ वर्षीय विशाल वादी हुन् । ५ वर्षीय बालिकाको नाम भने पुजा माझी हो । बालिका पुजाको बुबा नभएको पाइएको छ । उनी आमासँगै बस्दै आएको बुझिएको छ । भने वादी दाजुभाइका पनि आमा र बाबा छन् । तर उनीहरुलाई जन्म दिने आमा भने उनीहरुसँग छैनन् । केही वर्ष अघि आमा भागेपछि बाबाले अर्को विवाह गरेको र दुवै जनाले दुःख दिने गरेको रोशनले बताएका छन् ।
वडा कार्यालयद्धारा बरेलीबाट उद्धार गरिसकेकोपछि कोहलपुर ल्याइएका रोशनले आफूहरु ६ महिना अघि घरबाट हिडेको बताएका छन् । उनका अनुसार भारत पुग्नुभन्दा अघि कोहलपुरको शिवमन्दिर नजिकै खेलिरहेका थिए । त्यतिबेला एकजना युवकले तिनै जनालाई फकाएर घुम्न जाउ भन्दै लगेका थिए ।
त्यसदिन आफूहरु कोहलपुरबाट पैदल नेपालगन्ज, रुपैडिया हुँदा सीमा पार गरेको रोशनले बताएका छन् । कोहलपुरबाट जाँदाखेरी उनीहरु चार जना थिए । नेपालको सीमाना काटिसकेपछि तीनै जनालाई घुम्न जाउ भन्ने केटा सहित आफूहरु ट्रकमा गएको बताएका छन् । लकडाउनको समयमा त्यहाँको बजार सुनसान थियो ।
बाटोमा बेवारिसे अवस्थामा रहेका उनीहरुलाई ट्रकले भारतको बरेली भन्ने ठाउँमा पु¥याइदियो । त्यहाँ पुगेको केही दिनपछि आफूहरुलाई लिने दाई भागेर गएको रोशनको भनाइ छ । त्यसपछि उनीहरु त्यहाँका सडकमा बेवारिसे अवस्थामा बस्न थाले । पछि त्यहाँको प्रहरीले बेवारिसे अवस्थामा फेला पारेपछि स्थानीय एक संस्थामा राखिएको थियो ।
५ वर्षीय पुजा त आफूलाई त्यहाँ माग्न पठाउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘हामी शिवमन्दिर तिर खेलिरहेका थियौँ । एक जना दाई आए । घुम्न जाउ भनेर लिए ।हामी तीन जना गयौँ । बरेली भन्ने ठाउँमा थियौ । त्यहाँ हुँदा मलाई माग्न पठाउँथे । पछि प्रहरीले लियो । ’
यता वडा अध्यक्ष थारु भने आफूहरुलाई त्यहाँको प्रहरी हुँदै, महेन्द्रनगरको सीमा प्रहरी चौकी भएर आफूलाई जानकारी आएको बताए । थारुका अनुसार कैलाली पुर्नवास घर भई हाल बरेलीमा बस्ने एक नेपालीले स्थानीय समाचार हेरेपछि ५ नेपाली बच्चा बरेली बालगृहमा रहेको थाहा पाएका थिए । त्यहाँ पुग्दा पाँच जना नेपाली बच्चा रहेको बताए । एक जना दार्चुला र दाङका बालक पनि त्यहाँ थिए ।
पछि सबै ठाउँमा बुझ्दा आफ्नै ठाउँको बच्चा भएको एकिन भएपछि बरेली गएर ल्याएको उनको भनाइ छ । उनी सहित बालकहरुका जेठा बुबापनि बरेली गएका थिए । उनीहरु कोहलपुरबाट साउन ४ गते हिडेका थिए ।
सोमबार वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा करिब १ डेढ साताको अथक प्रयासपछि उनीहरुलाई घर ल्याउन सफल भएको बताए । अब उनीहरुको सुरक्षाको लागि जिल्लास्थित सरोकारवाला निकायसँग समन्वय गरिने उनको भनाइ छ ।पत्रकार सम्मेलनमा उनीहरुलाई घर परिवारमा भन्दा पनि बालबालिका सम्बन्धि कार्यालयमा पुर्नस्थापन गरिनुपर्ने आवाज उठेको थियो ।
बुझिए अनुसार ती बालकहरु यसअघि पनि पटकपटक घरबाट भाग्दै आएका थिए । रोशनले घरमा आमाले राम्रो व्यवहार नगर्ने र बाबाले समेत सधै पिट्ने गरेका कारण आफूहरु घर छोडेर जाने गरेको बताए । अब घरमा राम्रो व्यवहार भए घर मै बस्ने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १२ गते मंगलबार