थारू सांस्कृतिक पर्व माघ



‘माघ लहैली सुरीक शिकार खैली’ भन्ने थारू मगहा गीतले थारू जातिमा माघको स्नान र सुंगुरको मासु सेवनलाई ऐतिहसिक वैधानिकता प्रदान गरेको छ । सुंगुरको मासुको साथमा विशेष प्रकारले तयार पारिएको जाँर आफूले पनि सेवन गर्दै घरमा कोही पाहुनापाछा आएका छन् भने उनीहरूलाई त्यही खानेकुराहरू प्रेमपूर्वक खुवाइसकेपछि भोलिपल्ट अर्थात् माघका दिन अर्थात् माघे संक्रान्तिमा एका बिहानै नजिकैको खोला या नदीमा स्नान गरेर सोही स्थानमै चामलबाट बनेको सेतो टीका लाएर फर्किने क्रममा घरनजिकको गल्लीमा राखिएका कलशहरूमा पैसा चढाउँदै फर्किन्छन् । यद्यपी यो प्रचलन पनि आजभोलि देख्न पाइँदैन ।

दाङको घोराही उपमहानगरपालिका-१४ झिङौरा गाउँस्थित साेमबार थारु समुदायले माघी पर्वको लागि ढीक्री बनाउँदै । तस्बिर : कुलदीप न्यौपाने /रासस

डा. राजकुमार थारू

नेपालमा आदिवासी एवं धर्तीपुत्र भनेर परिचय दिन रुचाउने थारू जातिहरूको नयाँ वर्षको रूपमा रहेको विशेष पर्व माघ, अर्थात् (मकर संक्रान्ति) जसलाई अचेल माघी पनि भनिन थालिएको छ । थारू भाषा, साहित्य र संस्कृतिका अध्येता डा. गोपाल दहितका अनुसार थारू महाभारतमा उल्लेख भएअनुसार सूर्य उत्तरायण भएपछि गंगेवा अर्थात् भिष्मद्वारा त्याग गरेको र सो अवधिमा प्राण त्याग मोक्ष हुन्छ भन्ने धार्मिक विश्वासको आधारमा माघ पर्व मनाउन सुरु गरिएको हो । विक्रम सम्वत्को क्यालेन्डरअनुसार पुष महिनाको अन्तिम हप्तादेखि माघ महिनाको पहिलो हप्तासम्म यो पर्वको विशेष रौनक थारू बाहुल्य भएको तराई क्षेत्रमा निकै महत्वका साथ मनाउने गरिएको छ । यो विशेष थारू पर्व माघ हो या माघी भन्ने बारेमा कुनै दिन फेरि चर्चा परिचर्चा गरौँला तर, अहिलेलाई यो लेखमार्फत भने म यस पर्वलाई माघ नै भनेर यससम्बन्धी केही अनुभव, अनुभूति एवं अवलोकनका बारेमा लेख्ने जमर्को गर्दै छु । माघ पर्वलाई केही वर्ष यतादेखि मुक्तिको पर्व भनेर राजीतिक रङ्गले लेपन गरेको भए तापनि खासमा पारम्परिक रूपले माघ भनेको थारूहरूको आफ्नै उन्मुक्तिका साथै रोजगारीलाई नवीकरण गर्ने वा नगर्ने एउटा विशेष वार्षिक साधारणसभा नै हो भन्दा फरक पर्दैन ! सामाजिक रूपले पहिलेको रोजगारी छोड्ने वा नवीकरण गर्ने अथवा नयाँ काम पाएको खुसीयालीमा माघ पर्वले थारू जातिका बहुसंख्यक श्रमिक वर्गलाई विशेष प्रकारले आनन्द दिने गरेको देखिन्छ । यद्यपि हुनेखाने थारू जातिका मानिसहरूका लागि पनि यो पर्वले विशेष महत्व राखेको त छँदैछ, अन्य गैह्रथारू जातिहरू पनि यस पर्वमा निकै उत्साहित भई सांस्कृतिक रूपले यसमा सहभागी हुने गर्नाले यस पर्वलाई अझै बढी ग्राह्यता प्राप्त भइरहेको देखिन्छ । माघको अवसर पारेर गरिने धार्मिक मेलाहरूले खास गरिकन थारू जातिहरूको देवीदेवताप्रतिको आस्था र विश्वासलाई प्रतिविम्बित गर्दछन् भने महोत्सवहरूले पनि सशक्त रूपमा सांस्कृतिक पक्षहरूलाई संरक्षित गरेका छन् ।

त्यसो त माघ आफैँमा पनि थारू संस्कृति र संगीतको मिलनको पर्व हो भन्दा पनि फरक किन पनि पर्दैन भने यो पर्वमा मादल लगायतका वाद्यवादनहरू बजाउँदै र नाँच्दै अनि गाउँदै यो पर्वमा रमाइलो गरिन्छ । ‘मघौटा नाच’ यही पर्वको नामसँग जोडिएको छ । ‘सखी ए हो माघक गुरी गुरी जाँर’ त माघको सेरोफेरोमा हरेक थारूजनको मुखमै झुन्डिएको हुन्छ । सबै उमेर समूहका महिला तथा पुरुषहरूलाई खास अर्थमा रमाइलो गराउने भनेको गीतसङ्गीत, नाचगान र भेटघाटले नै हो । नाँच्दै रमाइलो गर्दै मायाप्रीतिका गीतहरूदेखि लिएर सन्देशमूलक एवं जागरणमुखी गीतहरू पनि उत्तिकै मात्रामा गाउने गर्दछन् । परदेश वा घरबाट टाढा रहेर काम गर्नेहरू पनि माघकै अवसरमा घर फर्केर रमाइलो गर्ने, सम्बन्धहरू नवीकरण गर्ने र सँगै बसेर खानपिन गर्ने कुरालाई थारू जातिले विशेष अर्थ र महत्व दिएको हुनाले माघ थारूहरूको लागि एकता र विशेष पर्व हुन गएको हो । हिन्दुहरूको महान पर्व दशैँमा पनि घर नफर्केका थारू जातिका मानिसहरू माघमा घर फर्किने चलन पहिलेदेखि चलिआएको छ । पुसको अन्तिम दिनमा जीटा मार्ने अर्थात् सुँगुर काटेर सबैले बाँडीचुँडी खाने चलन अहिले पनि उत्तिकै लोकप्रिय थारू संस्कृतिअन्तर्गत पर्दछ । आफ्नो घरमा सुँगुर हुनेले घरमै मार हान्छन् भने घरमा नहुनेले किनेर भए पनि दुईचार छाक हुनेगरि किन्ने गर्दछन् । माघ पर्वको लागि नै भनेर थारू जातिमा सुँगुर पाल्ने प्राचीन चलन अहिले पनि अस्तित्व रहेको छ । झोलयुक्त तरिकाले पकाएर मासुको झोलभात खानुको विशेष अर्थ छ –आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पनि ।

त्यसो त सुंगुरको मासु थारू जातिको लागि प्रसादतुल्य पवित्र रहेको मानिन्छ । ‘माघ लहैली सुरीक शिकार खैली’ भन्ने थारू मगहा गीतले थारू जातिमा माघको स्नान र सुंगुरको मासु सेवनलाई ऐतिहसिक वैधानिकता प्रदान गरेको छ । सुंगुरको मासुको साथमा विशेष प्रकारले तयार पारिएको जाँर आफूले पनि सेवन गर्दै घरमा कोही पाहुनापाछा आएका छन् भने उनीहरूलाई त्यही खानेकुराहरू प्रेमपूर्वक खुवाइसकेपछि भोलिपल्ट अर्थात् माघका दिन अर्थात् माघे संक्रान्तिमा एका बिहानै नजिकैको खोला या नदीमा स्नान गरेर सोही स्थानमै चामलबाट बनेको सेतो टीका लाएर फर्किने क्रममा घरनजिकको गल्लीमा राखिएका कलशहरूमा पैसा चढाउँदै फर्किन्छन् । यद्यपी यो प्रचलन पनि आजभोलि देख्न पाइँदैन । त्यसपछि आफूभन्दा ठुलाबडालाई ढोगेपछि मात्र केही कुरा खान पाइन्छ । अन्य दिनमा ढोगभेट गर्न नभ्याउनेलाई पनि यस दिनमा सकेसम्म नछुटाई ढोगेर आशीर्वाद लिने प्रचलन उहिलेदेखि नै रहँदै आएको छ । ढोगभेट गर्ने यस प्रक्रियालाई थारू भाषामा ‘ढ्वाकसलाम कर्ना’ भन्ने गरिन्छ । सबैभन्दा पहिला घरमै ‘ढ्वाकसलाम’ सम्पन्न गरेपछि घरमा पाकेका माछामासु, चामलको पिठोबाट बनेको ‘ढीकरी’ र अन्य परिकार खाइसकेपश्चात् घरभन्दा बाहिर वा टाढाका आफन्त र मान्यजनका घरमा पनि जाने गर्छन् भने टोलछिमेका साथीभाई आदि जम्मा भई नाचगान गर्ने तयारीतिर जुट्ने गर्दछन् । संयुक्त परिवार भएका थारू परिवारहरूमा कुनै प्रकारको गुनासो वा सरसल्लाह गर्नुपरेमा भने भोलिपल्ट गर्ने कुराको जानकारी पनि घरको जेठोबाठोले दिने परम्परा रहेको छ, यद्यपि जानकारी दिने यो परम्परा हाल हराउँदै गएको छ ।

पारम्परिक रूपले माघ पर्वको पहिलो दिन थारूहरूको लागि अत्यन्त पवित्र दिन मानिने हुनाले यस दिनमा मारकाट नगरिकन एकदिन पहिल्यै जीटा मारिएको हो । यसका साथै माघको दिन अर्थात् माघे संक्रान्तिमा ढिकीजाँतो नगर्ने, त्यसो गरेमा गरिबीले कहिल्यै नछोड्ने भन्ने लोकमान्यता रहिआएको कुरा धेरैलाई थाहा नहुन सक्छ । यही मान्यताअनुसार पुस महिनाको अन्तिम दिनमा पकाएको ढीकरी माघका दिनमा आगोको भुंग्रोमा पकाएर खाने पुरानो प्रचलन अचेल हराउन थालेको देखिन्छ । माघकै दिनमा पनि ढीकरी पकाई, कुखुरा आदि काटेर माघ मनाउने दृश्यहरू प्रशस्त देख्न सकिन्छ । साथै अरु कुराको मतलब नगरी जाँडरक्सीको अधिक सेवन गरेर होहल्ला गर्ने विकृति पनि एउटा ठूलो चुनौतीको रूपमा थारू समुदायको लागि देखा परेको छ । सांस्कृतिक र सांगीतिक महत्व बुझेका नवयुवाहरू र केही बुढापाकाहरू भने यस अवसरमा गाउँघरमा मिलेर मघौटा नाचेर रमाइलो गर्दछन् । मेला महोत्सवहरूमा पनि यस प्रकारका चेत भएका मानिसहरूले आफ्नो संस्कृति बचाउने खालका प्रस्तुतिहरू दिइरहेका हुन्छन् भने ससाना केटाकेटीहरूको भने रमाइलो गर्ने तरिका बेग्लै हुन्छ । घरमा आउने पाहुना तथा अन्य ठुलाबडाहरूबाट कसरी अधिकभन्दा अधिक पैसा संकलन गर्ने भन्ने सुरमा उनीहरूको माघ बितिरहेको हुन्छ । कतिपय केटाकेटी नदी, खोलाकिनारमा स्नान गर्दा चढाएका छुनछुने पैसा खोज्दा चिसो पानीको समेत पर्वाह गर्दैनन् ।

यसरी सङ्कलित पैसाले मिठाई र खेलौनाहरू किन्न सके मात्र यिनीहरूलाई माघ आएको महसुस हुन्छ । माघको दक्षिणामा पाएको छुनछुने पैसाले ‘खोप्पी’ अर्थात् खोपी खेल्ने बालबालिकाहरू प्नि पहिला धेरै हुन्थे, तर अचेल सिक्का छपाई न्यून भएसँगै यो परम्परा पनि लुप्तप्रायः नै छ । आजभोलिको माघले युवाहरूलाई मेलामा रमाइलो गर्न र डीजेमा आधुनिक शैलीमा नचाउन मात्र सिकाएजस्तो देखिन्छ । यस अर्थमा माघ पर्वको ऐतिहासिक तथा सांस्कृतिक र सामाजिक महत्व थारू युवाहरूमाझ ओझेल पार्दै गएको भान हुन थालेको छ । तै पनि केही जागरुक व्यक्तिहरू र तिनका संघसंस्थाहरूको र केही स्थानीय निकायहरूको पहलमा भइरहने माघका मेला महोत्सवहरूले धेरै हदसम्म थारूहरूको महान पर्व माघ र यसको महत्वलाई जोगाउन खेलेको प्रयासको भने सबैले मुक्तकण्ठले प्रसंशा गर्नैपर्छ । माघ महिनाको तेश्रो दिनलाई थारूहरूले ‘माघी देवानी’ अथवा ‘खोज्निबोज्नी’ भनेर मनाउने गर्दछन् । यस दिनमा गाउँटोलका लागि ‘बरघर’, ‘भलमन्सा’ अर्थात् मुखिया चुन्ने प्रचलन पनि माघपर्वको महत्वपूर्ण सामाजिक पक्ष हो । भलमन्सालाई दाङ्तिर मटावां वागर्धुर्या, बाँकेको सोलार क्षेत्रमा ककंदार र बर्दिया अनि कैलाली कञ्चनपुरतिर पनि भलमन्सा वा बरघर नै भन्ने गरेको पाइन्छ । पुरानो भलमन्साले नयाँ चुनिने भल्मन्सालाई जिम्मेवारी हस्तान्तरण गर्ने र त्यसैको खुसियाली पार्टीलाई माघको उत्सवमै जोड्न पुग्छन् । घरका सबै जिम्मेवार व्यक्तिहरू जम्मा भई वार्षिक कार्ययोजना बनाउने कामदेखि लिएर दाजुभाइमा आपसमा मनमुटाव आदि छ भने पनि मिल्न सक्ने भए मिल्ने नसकिने भएमा सरसल्लाह मै छुट्टिनेसम्मका महत्वपूर्ण कार्यहरूका लागि पनि थारू जातिका मानिसहरू माघ पर्व नै पर्खिनुले पनि यो पर्वप्रति यस जातिको प्रेम र लगाव स्पष्ट हुन्छ ।

थारू संस्कृतिमा माघ नयाँ आर्थिक वर्षको सुरुवात पनि भएको हुनाले यसै अवसरमा थारू समुदायका घरपरिवारका सदस्यहरूले मात्र होइन यसै परम्परालाई अनुशरण गर्न भलमन्साहरूले पनि आफ्नो वार्षिक योजना पेश गर्ने र स्वीकृत गराउने कार्य गर्नु पर्ने हुन्छ । यसका अतिरिक्त माघ पर्वको थारू समुदायमा सांगीतिक महत्व घामजस्तै छर्लंग छ । यस हिसाबले यो पर्व पुसको अन्तिम सप्ताहबाट सुरु भई माघ महिनाको पहिलो सप्ताहभरि १५ दिनसम्म मनाइन्छ । अरु थारू समुदायका थारू जातिहरू भन्दा दंगौरा थारूहरू यो पर्वलाई विशेष महत्वका साथ मनाउँछन् । प्रसिद्ध लोक गायक एवं संगीतकार डा. गोविन्द आचार्यका अनुसार माघमा ढुम्रु, ढमार र मघौटा गरि तीन प्रकारका गीतहरूको प्रचलन भेटिएको छ । घरमुली थारूहरू मटाँवाको घरमा रातभरी ढुम्रु गाएपछि भोलिपल्ट स्नान गर्न जाने चलन अहिले पनि ठुला–ठुला थारू गाउँमा जीवित छ । रामायण, कृष्णचरित्र जस्ता विषयबस्तुमा आगो ताप्दै ढुम्रु गाइन्छ भने ढमार पनि यस्तै यस्तै विषयबस्तुमै समय फरक सन्दर्भमा गाइन्छ । मघौटा गीत भने वाद्य र नृत्यसहितको गीत हो । जलाशयको नृत्यपछि मघौटा नाचगान सुरु हुन्छ । स्नानसँग सम्बन्धित जनजिब्रोमा झुन्डिन सफल एउटा मघौटा गीत यस्तो छ ः

बाबाक सगरा गैनु हाँमुरिया लहान
सखी ए हो सेडुरा छुटल पानीघाट
बाबाक सगरा गैनु हाँमुरिया लहान
सखी ए हो टिकुली छुटल पानीघाट

(डा. गोविन्द आचार्यको पुस्तक ‘थारू जातिको लोकगीत तथा लोकसंगीत’ भन्ने पुस्तकबाट साभार गरिएको)

यस प्रकारका गीतहरू थारू गाउँघर माघ पर्वको दौरानमा सीमित मात्रामै भए पनि सुन्न र हेर्न पाइन्छ भने केही समययता यस्ता लोकपरम्परा र संस्कृतिका प्रदर्शनकारी कार्य मेला महोत्सवमै सीमित हुने खतरा पनि उत्तिकै बढिरहेको अवस्था छ । तर यस्ता संस्कृतिको संरक्षण मेला महोत्सवमाभन्दा पनि लोकजीवन मै जीवित र संरक्षित हुने पर्दछ किनभने थारू समुदायको महान पर्व माघ केवल चाडपर्व मात्र नभई थारूहरूको सामाजिक, सांस्कृतिक, आर्थिक र ऐतिहासिक पहिचानसँग गहिरो रूपमा जोडिएको पर्व हो । तर बदलिँदो समय र आधुनिकीकरणको प्रभावसँगै यस पर्वको मौलिकता जोगाइराख्न युवाको भूमिका अत्यन्त महत्वपूर्ण बनेको छ । माघ पर्वको सांस्कृतिक र सामाजिक महत्व के छ भने माघ पर्व थारूहरूको ऐतिहासिक जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र श्रम संस्कृतिको जीवित दस्तावेज पनि हो ।बदलिँदो समयमा आजका युवा शिक्षा, रोजगारी र प्रविधिका कारण गाउँ–समुदायबाट टाढिँदै गएका छन् । शहरमुखी जीवनशैली, पाश्चात्य संस्कृतिको प्रभाव र सामाजिक सञ्जालको आकर्षणले परम्परागत संस्कृतिप्रति चासो घट्दै गएको देखिन्छ । यदि यही अवस्था निरन्तर रहिरह्यो भने माघ पर्व केवल औपचारिक उत्सवमा सीमित भई यसको मौलिक आत्मा हराउने खतरा छ । माघ पर्व संरक्षणमा युवाको भूमिकाको कुरा गर्ने हो भने यी कामहरू गर्नु अत्यावश्यक छः– पहिलो, सांस्कृतिक संरक्षण र हस्तान्तरणमा युवाले अग्रसर भूमिका खेल्नुपर्छ । परम्परागत नाच, गीत, भाषा र रीतिरिवाज सिक्ने र नयाँ पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारी युवाकै काँधमा छ । दोस्रो, आधुनिक प्रविधिको सदुपयोग गर्दै युवाले माघ पर्वको महत्वलाई डिजिटल माध्यममार्फत प्रचारप्रसार गर्न सक्छन् । सामाजिक सञ्जाल, लेख, भिडिओ र अनुसन्धानमार्फत माघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सकिन्छ । तेस्रो, सामाजिक नेतृत्व र सहभागितामा युवाको सक्रियता आवश्यक छ ।

बरघर प्रणाली, सामुदायिक निर्णय प्रक्रिया र सामाजिक कार्यमा युवाले जिम्मेवारी लिनुपर्छ, जसले परम्परा र आधुनिक सोचबीच सन्तुलन कायम गर्छ । चौथो, शैक्षिक र बौद्धिक योगदानमार्फत युवाले माघ पर्वसम्बन्धी अध्ययन, अनुसन्धान र लेखन गर्नुपर्छ । यसले थारू संस्कृतिलाई प्राज्ञिक क्षेत्रमा स्थापित गर्न मद्दत पु¥याउँछ । पाँचौँ, आर्थिक र पर्यटन सम्भावनाको विकासमा युवाले भूमिका खेल्न सक्छन् । माघ पर्वलाई सांस्कृतिक पर्यटनसँग जोडेर स्थानीय रोजगारी र आत्मनिर्भरता बढाउन सकिन्छ, तर यस क्रममा पर्वको मौलिकता नष्ट नहोस् भन्ने सचेतना आवश्यक छ । निष्कर्षस्वस्प भन्नुपर्दा थारूहरूको महान पर्व माघ केवल विगतको स्मृति होइन, भविष्यको दिशासूचक पनि हो । यसको संरक्षण र प्रवद्र्धन युवाबिनाको कल्पना सम्भव छैन । युवाले यदि आफ्नो संस्कृति र पहिचानप्रति गर्व गर्दै परम्परा र आधुनिकतालाई सन्तुलित रूपमा अघि बढाए भने माघ पर्व केवल थारू जातिको मात्र नभई नेपालको साझा सांस्कृतिक धरोहरका रूपमा अझ सशक्त रूपमा स्थापित हुन सक्छ । त्यसैले, माघ पर्वको आत्मा जोगाइराख्ने सबैभन्दा ठूलो जिम्मेवारी आजका युवाकै हातमा छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार