स्ववियु निर्वाचनको तयारीमा विद्यार्थी नेता



नेपालगन्ज ।

२०७३ सालमा भएको स्ववियु निर्वाचनमा बाँके जिल्लाको सबैभन्दा पुरानो र ठूलो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएन । एउटै संगठनबाट दुईदुईजनाको उम्मेदवारी पर्न थालेपछि भाँडभैलो भयो र अन्तिम समय निर्वाचन रोकियो । विगत १४ वर्षयता क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन । यसको असर क्याम्पसमा विद्यार्थीहरुले आफ्ना जायज मागहरु क्याम्पस प्रशासनमा राख्ने क्रममा भोगे ।

कुनै संगठनले उठाएका सही मुद्दामा अर्काे संगठनले विरोध जनाउने, क्याम्पस प्रशासनले विद्यार्थीका अधिकारमा सौदाबाजीका क्रममा कुनै एक संगठनलाई हातमा लिएर विषयलाई मत्थर पारिदिने र गर्न संयोजनकारी संयन्त्र नहुँदा सिर्जनात्मक क्रियाकलापका कार्यक्रमहरुसमेत गर्न नसकिएको विद्यार्थी नेताहरु बताउँछन् । अझ राजनीतिमा भविष्य भएका कतिपय विद्यार्थीहरुको क्याम्पसमा अभ्यास नै गर्न नपाई उमेर हद नाघेको छ । यी सबै अवस्था इंगित गर्दै विद्यार्थी नेताहरु यसपटक निर्वाचन भएरै छाड्ने बताउँछन् ।

महेन्द्र बहुमुखी क्याम्पसका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेता माधव खत्री भन्छन्, ‘कुनै संगठनको आन्तरिक विवाद भयो भने त्यो संगठनले क्याम्पस बाहिर नै मिलाएर आउनुपर्छ । निर्वाचन समितिले उम्मेदवारी दर्ता गर्न आउनेहरुको रीतपूर्वकको निवेदन दर्ता गरेर अगाडि बढ्छ भन्ने सहमति भएको छ । पहिलेको जस्तो चुनाव नै नहुने भन्ने हुँदैन ।’

नेविसंघका नेता चक्र रावत पनि निर्वाचन नभएको लामो समय भएको र उमेर हदका कारण धेरै उम्मेदवारका आकांक्षीहरु पनि घटेकाले विवाद हुने सम्भावना कम रहेको बताउँछन् । ‘केन्द्रमा हुने विवाद वा असमभदारीबाहेक स्थानीयस्तरमा विवाद हुने संभावना म देख्दिनँ,’ रावतले भने ।

तर, सबैजसो संगठनहरुभित्र केन्द्रीयस्तरमा विवाद रहेको र कतिपय संगठनहरुका क्याम्पस ईकाइहरु लामो समयदेखि गठन नभएका कारण उम्मेदवार छान्न र एउटा संगठनबाट एउटा मात्रै उम्मेदवारी पर्ला भनेर विश्वास गरिहाल्ने अवस्था नरहेको महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थी एवम् नेविसंघका विद्यार्थी नेता धनराज कट्टेल बताउँछन् । चुनावको परिदृष्य अनुमान गर्न उम्मेदवारी दर्तासम्म पर्खिनुपर्ने उनको भनाइ छ ।
यद्दपि विद्यार्थी नेताहरु अहिले चुनाव हुने विश्वासका साथ आन्तरिक तयारीमा जुटिसकेका छन् ।

अहिले उम्मेदवार छनोटको काम चलिरहेको विद्यार्थी नेताहरु बताउँछन् । चैत ५ गते स्ववियु निर्वाचन हुने कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । कार्यतालिकाअनुसार फागुन १९ गते क्याम्पसमा विद्यार्थी संघ/संगठन दर्ता भएका छन् ।

क्याम्पसको निर्वाचन समितिका अनुसार महेन्द्र बहुमुखी क्याम्पसमा १५ वटा संगठन दर्ता भएका छन् । क्याम्पसमा चार हजार एक सय ९० जना विद्यार्थीहरु मतदाताका रुपमा रहेका जनाइएको छ । बाँकेमा महेन्द्र बहुमुखी क्याम्पससहित पाँचवटा क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।
निर्वाचनको कार्यतालिकाअनुसार फागुन २५ गते मतदाता सूचीमा दाबीविरोधको समय तोकिएको छ ।

यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । यस्तै फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबीविरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय छुट्याइएको छ । २८ वर्षभन्दा कम उमेर भएका विद्यार्थीहरु निर्वाचनमा उम्मेदवार हुन पाउनेछन् । जसअनुसार २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

स्ववियु निर्वाचनको प्रचारप्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । विद्यार्थी नेताहरु अहिले आफूहरु उम्मेदवारको टुंगो लगाउने काममा व्यस्त रहेको बताउँछन् । संगठनमा विद्यार्थीहरुलाई आकर्षित गर्ने र क्षमता भएकाहरुलाई उम्मेदवारीका लागि तयार गर्ने काममा जुटिरहेको उनीहरुले बताएका छन् ।

स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा उल्लेख छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र उपाध्यक्ष, सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने व्यवस्था गरिएको छ ।

स्ववियु निर्वाचनलाई वर्तमान सत्ता राजनीतिले पनि असर पार्ने देखिएको छ । सत्तारुढ गठबन्धननिकट नेताहरुले देशभर गठबन्धन बनाएर निर्वाचनमा जान भनेका छन् । स्थानीय स्तरमा त्यसको प्रभाव अहिले नै देखिएको छैन । नेविसंघका नेता चक्र रावत केन्द्रीय नेताहरुको निर्देशन आवश्यकता र अवस्थाअनुसार मात्रै स्थानीयस्तरमा लागु हुन सक्ने बताउँछन् । त्यसतर्फ पनि छलफल भइरहेको उनको भनाइ छ ।

स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ । त्रिविमा स्ववियु निर्वाचन २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा २०३६ देखि प्रत्येक दुई/दुई वर्षमा निर्वाचन हुँदै आएको थियो ।

प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो । त्रिविमा २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । त्यतिबेला देशभरका २६ वटा क्याम्पसमा मात्रै निर्वाचन हुन पाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन २६ गते शुक्रबार